Sunday, June 16, 2024

लघुकथा (अङ्क १३ मा प्रकाशित)

शरण

- लीलाराज दाहाल
वागमती ११, कर्मैया, सर्लाही  


हरिकृष्णले शहरमा घर किनेको थियो । उसकी श्रीमती पम्फा निकै फुर्केकी थिई । उसको नाकको टुप्पोमा घमण्डको फोको उठ्न थालेको थियो  । उसका चारवटी छोरीहरु थिए । उसकी विवाहिता दिदी राधा आफ्नो घर त्यागेर शरणार्थी झैं भाइ बुहारीको शरणमा थिई । 

हरिकृष्ण, पम्फा र राधा मधुमेह रोगलाई अँगालेर जीवनयापन गर्दैथिए । अनेक दाउपेचले सम्पति जोडे पनि सम्पतिको सुखभोग गर्ने बेला मधुमेहले जिस्क्याउन थाल्यो ।

एकदिन उ उदास हुँदै बोल्यो, “केही गरूँ भन्ने उमेरमा मधुमेहले अँगाल्यो । अब घरको काम कसले गर्ने होला !”

पम्फाले भनी, “तपाईंकी दिदीलाई किन पालेको त !”

घरका सबैले काम लगाउने पात्र भनेकै राधा थिई । हरिकृष्ण भन्थ्यो, “लहै दिदी ! बुहारी बिरामी छे ! उसलाई काम नलगाउनू ।”

“ल है दिदी ! घर पुछ्ने, खाना बनाउने, लुगा धुने काम तपाईंको नि !” सकेसम्म मीठो स्वरमा पम्फा भन्थी ।

“म पनि त बिरामी छु ।” राधा भन्थी तर उसको स्वर हावामा बिलाउँथ्यो ।

“अझै चिया पाकेन राधा दिदी ?” हरिकृष्णका छोरीहरु ओछ्यानबाटै चिच्याउने गर्थे । 

“आज छिटो अफिस पुग्नु छ । पाकेन खाना ?” पल्लो कोठाबाट भाइले हप्काएको सुन्छे राधा ।

“मलाई टोल सुधार समितिमा जानु छ ।” राधा पम्फाको आवाजले झसङ्ग हुन्छे ।

ऊ खाना पस्केर टेबलमा राख्दै भाइतिर हेरेर भन्छे, “साह्रै गाह्रो भयो ! एकपटक डाक्टर कहाँ लैजा न मलाई ।”

उसले भन्यो, “के भएको छ र तँलाई ! किन जानु डाक्टर कहाँ ?”

बेलुका पाहुना आए । सामान्य सञ्चो बिसञ्चोका कुरा भए । यही मौकामा हरिकृष्णले भन्यो, “घरमा बिरामी भएपछि निकै अप्ठ्यारो हुने रहेछ । आज पनि दिदीको उपचारमा निकै रकम स्वाहा भो !”

यतिखेर राधा भने केही बोल्न सकिन । उसले भाइ र बुहारीलाई एकतमासले हेरिरही । 


...साथ सहयोगको खाँचो

No comments:

Post a Comment