Sunday, June 16, 2024

लघुकथा (अङ्क १३ मा प्रकाशित)

सानीकी आमा

- कृष्णकुमार वैद्य
बनेपा ९, काभ्रे  


आमा... बुबा कहिले आउनु हुन्छ ?

सानीले सधैंभरि सोधिरहने प्रश्न हो यो । आमा साविक उत्तर दिन्छिन्,  '...बिदामा आउनु हुन्छ ।' सानी पाँच वर्ष लागिन् । बुबाको बिदा पर्खिरहेकी छिन् ।

बुबाको अनुहार नचिनेकी सानी बुबाको अनुहार हेर्न मात्र हैन पिताको स्नेहको प्रतीक्षा गरिरहेकी छिन् । छिमेकका साथी सङ्गीहरूले आ-आफ्ना पिताको ममता र स्नेह पाएको देख्दा सानीको बाल मनोविज्ञान सानीकी आमा प्रष्ट बुझ्छिन् । 

जतिसुकै हेरविचार, स्याहारसुसार गरे तापनि बालबालिकालाई आमा र बुबा दुबै साथ हुनु र नहुनुमा फरक हुने नै रहेछ । हाम्रो समाज र सामाजिक परिपाटी यसरी नै चलिआएको छ ।

सानी गर्भमा छँदा सानीकी पिता गर्भवती आमालाई शहरको यौटा कुनाको डेरामा छाडेर सुखको सपना बोकेर समुन्द्र पार टरेको थियो । बेला भएपछि सानीले धरतीमा पाइला टेकिन् । अनेक दुःखजिलो गरेर सानीलाई हुर्काइन् एक्लो आमाले । शहरको भाउबेसाहामा एक्लो नारीले सन्तानको लालनपालनका साथै दिनचर्या चलाउनु सहज थिएन । 

आमाले सानीलाई बुबा आउने दिन तोकेपछि सानीको भुइँमा खुट्टा छैन । नभन्दै त्यो बिदाको दिन आमासँग एक पुरुष साथमा आएको सानीले देखिन् । सानी उफ्रिँदै गएर बाबा भन्दै अँगालो हालिन् । सानीकी आमा र त्यो पुरुष एकछिन हेराहेर भए । 

सानी वर्षदिनको नहुँदै सानीकी बुबा समुन्दपारी नै बितेका थिए । तर समाजले विधवालाई हेर्ने नकारात्मक दृष्टिकोण र व्यवहारबाट छुट्कारा पाउन सानीकी आमाले तितो यथार्थलाई पोको पारेर राखिन् । सानी ठूली हुँदै आइन् । आफूलाई पनि सहाराको महसुस गरिन् । 

लामो जिन्दगी एक्लै भौंतारिनु र सानीलाई सधैँ झुठो आश्वासनमा राख्नु सम्भव नदेखेर अन्ततः सानीकी आमाले एक सहृदयी पुरुषको साथ लिएर घर बसाए ।


...साथ सहयोगको खाँचो

No comments:

Post a Comment