Monday, September 23, 2024

पुस्तक समीक्षा

 झङ्कारभित्र चियाउँदा

लघुकथाकार गंगा पौडेलको झङ्कार नामक लघुकथासङ्ग्रह २०८१ मा पहिलो कृतिको रुपमा प्रकाशित भएको छ । यस कृतिभित्र उनले लेखेका रहस्य, त्याग, दान, बुबाको मुख, जग्गा, सहिद, खाँचो लगायत विभिन्न शीर्षकका अन्ठाउन्न वटा लघुकथाहरु राखिएका छन् । यसमा सङ्गृहीत अन्ठाउन्न वटै लघुकथा पाठकलाई प्रभावकारी रुपमा आकर्षित गर्न सक्षम रहेका छन् । यस सङ्ग्रहभित्रको रहस्य शीर्षकको पहिलो लघुकथामा नानी ! चियामा त चिनीको सट्टामा टन्न नुन पो हालिछ्यौ । मलाई पहिलो पटक केटी हेर्न आउँदा हजुरबुबाले सबैका अगाडि भन्नुभयो । अनि चियामा नुन नहालेर बेसार हाल्ने त ? मैले सबैका सामु हजुरबुबालाई ओठेजवाफ लगाएँ । सबैले मुखामुख गरे म किंकर्तव्यविमुढ भएर उभिरहेँ भनेर गंगाले लेखेकी छिन् ।

लघुकथाकार गंगाले मनमा उर्लिएका भावलाई लघुकथाको रुप दिन सकेकी छिन् । जग्गा शीर्षकको लघुकथामा बा, हजुर र काका एउटै दाजुभाइ भएर नि काकाको कति धेरै खेत छ । हाम्रो चाहिँ खोइ त ? भनेर प्रश्न गरिएको छ । आफ्नो छोराले धेरै अगाडिदेखि यही प्रश्न सोधिरहँदा मधुले एउटै जवाफ दिएर उसको मुख टालिदिन्थे । बाबु हाम्रो पनि काकाको जत्तिकै थियो । यस सङ्ग्रहभित्रका लघुकथाहरु आकारले मात्र होइन विषयका दृष्टिले पनि लघुकथा हुन् । उनले सामाजिक विषयका स-साना प्रसङ्गमार्फत जीवनका विविध पक्षलाई सरल ढङ्गले उजागर गरेकी छिन् । पाइलापाइलामा कुनै न कुुनै घटना भइरहेका हुन्छन् । ती घटनाले फरक फरक व्यक्तिमा फरक फरक सोच र संवेदना जगाउने गर्छन् ।

भाषिक सरलता गंगाका कथाहरुको महत्वपूणर् विशेषता हो । विषय र विचारगत विविधता उनको कथाहरुको मूल उद्देश्य हो । सहिद शीर्षकको लघुकथामा हजुरआमा ! तपाईंले त्यतिबेला मेरो बाबालाई आन्दोलनमा नजाऊ भनेर किन नरोक्नुभएको? गर्भे टुहुरो नातिको प्रश्नले धनमायाको तन्द्रा भङ्ग भएको छ । लघुकथाकार गंगाले वर्तमानमा स्थापित मान्यतालाई आधारमा राखेर लघुकथा लेखेको प्रतीत हुन्छ । यो लघुकथासङ्ग्रहभित्र सङ्गृहीत लघुकथाका आधारमा हेर्ने हो भने मूलतः सामाजिक विषयवस्तु समेटिएका छन् । प्रचलित सामाजिक मनोविज्ञानका आधारमा कथ्य सिर्जना गरिएको छ । जीवनमा जुन उतार चढाव भोगे सायद तिनै भोगाइ अनुभव र सामाजिक घटना परिघटनाले अङ्कुराएको मनको भाव नै उनले लघुकथा सङ्ग्रहको रुपमा जन्माएकी छिन् । मनका भावहरुलाई समय र परिस्थितिले प्रभावित गर्दा जेजसो अभिव्यक्त भयो त्यही नै यस झङ्कार लघुकथा सङ्ग्रहमा सङ्कलित छन् । 

टोपी दिवस शीर्षकको लघुकथाभित्र अब त मान्छेले जे पनि गर्न थाले । यिनीहरुलाई अलिकति अप्ठ्यारो नि लाग्दैन कि क्या हो ? ७० वर्षिय लक्ष्मण मोबाइल हेर्दै फत्काएका छन् भनिएको छ । गंगाका लघुकथालाई मुख्य रुपमा सामाजिक चेतनाका संवाहक मान्न सकिन्छ । चाहे मिथकीय प्रयोग वा मनोवैज्ञानिक धरातललाई खोतलिएको वा राजनीतिक व्यङ्ग्य मिश्रण भएको किन नहोस् प्रत्येकका कथानकमा समाजको समकालीन ऐना छ ।

थोरै लेखेर पनि गुणस्तरमा ध्यान दिन सके कृतिको महत्व बढ्नेछ । यस तथ्यलाई लघुकथाकार गंगाले मनन गरेकी छिन् । सङ्ग्रहभित्रका पात्र, परिवेश र घटना हाम्रै समाजमा देखिएका सुनिएका र भोगिएका छन् । मान्छेका प्रवृत्ति र उसले बिर्सदै गएको आफ्नो धरातल तथा हराइरहेको मानविय संवेदनालाई पनि यस कृतिले आफ्नो विषय बनाएको छ । आशावादी भएर समाजका विकृतिलाई निर्मूल पारेर एउटा सुन्दर समाज निर्माण गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नका लागि यस सङ्ग्रहभित्रका कथा सक्षम छन् । स्रष्टा एउटा समाजको द्रष्टा पनि भएकाले ऊ यो समाजबाट अलग हुन कत्ति पनि सक्दैन । यही समाजमा रहेका सङ्गत, बिसङ्गत सबै कुरासँग पौँठाजोरी खेल्नु नै पर्छ ।   

उनका लघुकथा विभिन्न पत्रपत्रिकामा प्रकाशित भैसकेका छन् । झङ्कार लघुकथासङ्ग्रहमा भएका कतिपय कथाहरु पढ्दा कथाको परिवेश, पात्र चयन, सम्वाद र वस्तुस्थितिलाई गंगा निकै सहज भएकी छिन् । पहिलो प्रेम शीर्षकको लघुकथामा ऊ सबैतिरबाट हार खाएपछि अन्ततः मिडियाको शरणमा पुगी । उसले मिडियामा आफ्नो गुनासो पोख्दै रोएको भिडियो अत्यन्तै भाइरल भयो भनिएको छ । 

लघुुकथा भनेको कुनै एउटा सानो घटना र क्षणभरकै अनुभवलाई शब्द सीमाभित्र समेटेर पाठकलाई कौतुहलता प्रदान गर्दै समापनमा झस्याङ पार्ने रचना हो भनेर बुझ्ने होे र यसै सिद्धान्तभित्र गंगाको कलम खोज्ने हो भने धेरैजसो लघुकथाहरु सामान्य नै रहेका छन् । बधशाला शीर्षकको लघुकथामा उनले ल्याएका युगान्तकारी परिवर्तनबाट प्रभावित भएर थुप्रै संघसंस्थाले उनलाई सम्मानित गरे । आज पनि स्थानीय युवाक्लबले उनलाई सम्मान गर्‍यो । उनी सम्मानपत्र ग्रहण गरेर घर आए भनेर गंगाले लेखेकी छिन् । 

जीवन जिउने क्रममा आफूले भोगेका, देखेका र सुनेका कुराहरुको सँगालोलाई शब्दरुपी गुच्छाद्वारा गंगाले यस सङ्ग्रहभित्र अन्ठाउन्न वटा लघुकथाहरु तयार पारेकी छिन् । उनले लघुकथाहरुमा समाजका विसङ्गति, विकृति, राजनैतिक बेथितिको चिरफार गर्ने प्रयास गरेकी छिन् । कथा आफैमा पूणर् भएजस्तै लघुकथा पनि स्वयम्मा पूणर् हुन्छ । अर्थात् लघुकथा कथाको संक्षेपीकरण होइन । लघुकथा आख्यानको लघुतम वा सूक्ष्मम विधा हो । लघुकथा छोटो हुन्छ तर पूणर् हुन्छ । छोटो आयाममा जीवन र जगत्लाई समेट्नु लघुकथाको विशेषता हो । लघुकथा लोकप्रिय भएकै कारण यसप्रति लेखनको आकर्षण बढ्दै गइरहेको छ ।


...साथ सहयोगको खाँचो

No comments:

Post a Comment