Monday, December 4, 2023

लघुकथा (अङ्क ७ मा प्रकाशित)

मौन व्रत

-उपेन्द्रप्रसाद खनाल
मनमैजु, काठमाडौँ 


"गाउँका लोग्नेमानिसहरूले सहरमा भारी बोकेर पनि सधैँ घर खर्च पठाइरहेका छन् । परिवारले राम्रै लाए–खाएका देखिन्छन् । हाम्राका ताल भने सधैँ उस्तै, यसरी कतिदिन चल्ला र खै !" बिमलाले आफ्नो लोग्ने भक्तमानलाई हकारेको स्वरमा भनिन् ।

"हैन, सहरमा चाहिँ पैसा फल्छ र ! आफ्नै गाउँको पाखो बारीमा घोटिएकै छु, जेनतेन गुजारा चलेकै छ त । धेरै अरुको आरिस गर्न हुन्न क्या !" भक्तमानले जवाफ फर्कायो ।

केही दिनपछि फेरि बिमलाले श्रीमान्लाई भनिन् "ए बुढा, सधैँ नभएपनि यसो हिउँदको फुर्सदमा त सहर जाऊ, केही कमाऊ ! जोरिपारीका अगाडि सधैँ कति दुःख देखाउनु ! यता घर खर्च बढ्दो छ, बालबच्चा पनि हुर्कंदै छन् । सधैँ के ले पु-याउने ? यसो सोच है !"

आज भने, पत्नीको कुरा भक्तमानलाई पनि जंच्यो । "तर सहरमा गएर गर्ने के ? आफू साँवा अक्षर फुटाउन सक्दिन, चोर्नु भएन ।" उ यस्तै कुरा सोच्न थाल्यो । आखिर, स्त्री हठ सामु जोर नचल्ने देखेपछि "भारी बोक्ने काम भनेपनि गरौंला" भन्ने आँट लिएर उ जान तयार भयो । श्रीमतीले प्रेमले बिदा गरिन् ।

सोचेजस्तो कहाँ हुन्थ्यो र ! हप्तौं यताउता चाहार्दा पनि सहरमा उसले राम्रो काम पाएन । बढ्दो मन्दीका कारण जेनतेन पेट भर्न बाहेक कुनै बचत पनि भएन ।
एकदिन, निराश र चिन्ताग्रस्त अवस्थामा मन्दिरको पेटीमा थकाइ मारेर बसेको भक्तमानलाई कुनै सामाजिक संस्थाले मगन्ते ठानेर रामनामी दिन्छ । लामो समयसम्म नकाटेकोले बढेको दाह्री, कपाल र जाडोबाट बच्न दाताबाट पाएको रामनामी ओढेर बस्दा कसैले मन्दिरमा नयाँ बाबाजी आएको खबर फैलाएछ ।

हिजोआज मानिसको भिडले चढाएको दक्षिणाले भक्तमानको झोला दिनहुँ भरिन्छ । उसको अगाडि एउटा साइनबोर्ड छ र जसमा लेखिएको देखिन्छ "परमज्ञानि भक्तेश्वोर बाबा केही महिनाका लागि मौन व्रतमा हुनुहुन्छ ।"

No comments:

Post a Comment