Monday, December 4, 2023

लघुकथा (अङ्क ७ मा प्रकाशित)

उम्रन नपाएको जमरा

-सुरेन्द्रलाल भुजु
भक्तपुर न.पा.– ४ बंशगोपाल 


“हेल्लो माया, क्यार्दै छौ ?’’
के हुनु घरको काम त हो नि ।
“खाना खायौ सबजनाले ?’’
“खायौं, अनि हजुर क्यार्दै हुनुहुन्छ ?’’
“कति नौ बज्यो त्यहाँ रातीको । यहाँ भर्खर ६ बज्दै छ साँझको’’

प्रमोद हमाल सुदूरपश्चिम विश्वविद्यालयको कृषिका विद्यार्थी । उ लगायत करिब सत्चालिस जनाको समूह इजरायलमा कृषि सम्बन्धी सिक्दै कमाउँदै गरिरहेका छन् । साँझ कामबाट फर्केर घरमा फोन गर्दै छन् । नजिकिंदो दशैँसँगै प्रमोदलाई घरको साह्रै याद आएर फोन गरिरहेका छन् । तुरन्तै उसलाई फोन राख्ने मन छैन आज । ऊ फेरि भन्छन्, “आज असोजको २१ गते भयो होइन? अक्टोबरको ८ तारिख र १५ तारिखमा पैसा आउँछ, आएलगत्तै आईएमई गरेर पैसा पठाई दिन्छु । आजको ठ्याक्कै एकहप्तामा दशैँको जमरा राख्ने दिन घटस्थापना भयो । छोराछोरीलाई, आमाबुबालाई अनि तिमीलाई पनि नयाँ लुगा राख्नु । यसपालि दशैँ राम्ररी मनाउनु पर्छ । एउटा खसी पनि किन्नु भन्नु बुबालाई । म फूलपातीको एक दुई दिन अगाडि मात्र आई पुग्छु ।’’

सधैँ कति मात्र दुःख गर्नु ? अब त हाम्रो दुःखका दिन जाला कि भन्छु । यहाँ हामी पढ्न आएको ठाउँ इजरायलमा थोरै जमीनमा कति धेरै उत्पादन लिन्छन् । हामीले हेरेर सब जानिसकेको छम् । अब देश फर्केर हामी पनि गाउँमै केही गर्नुपर्छ । गाउँले दाजुभाइलाई पनि सिकाउनु पर्छ । वल्लाघरे माइलो बा र पल्लोघरे साहिंलो बाहरुलाई पनि सिकाउँछु । उनीहरुले नगरे उहाँको जग्गा हामीले भाडामा लिएर आधुनिक वैज्ञानिक खेती गर्नु पर्छ । यहाँ आएका साथीहरु सबै मिलेर हाम्रो सुदूरपश्चिमबाट कृषि क्रान्ति गर्ने लक्ष्य छ हाम्रो ।


अरु त के कुरा गर्नु खै त्यहाँ सुत्न ढिलो भयो होला । बुबाको औषधि सिधिएला याद गर्नु । आमा बच्चाहरुको ख्याल गर्नु । देशको कहिले राम्रो समाचार सुन्न पाइने होइन । त्यही नेताहरुको झगडाको कुरा मात्र हुन्छ समाचारमा । हिजोअस्तिको समाचारमा काठमाडौँ इन्द्रजात्रामा कुमारी रोइन रे ! कुमारी रुँदा देशलाई दशा लाग्छ भन्छन् । पहिला पनि कुमारी रुँदा नराम्रो घटना भएको थियो रे ! पुग्यो अब देशले धेरै दुःख पाइसक्यो । भलो होस् देशको । नराम्रो केही नहोस् ।’’

“लु, हजूर पनि ट्याममा खानु यहाँ सब मैले सम्हालेको छु, चिन्ता नगर्नु’’
“लौ माया सुत्नु । बाई पछि कुरा गरौँला ।’’

भोलिपल्ट एकाबिहानै समाचार आउँछ । इजरायल हमास युद्धमा दश नेपालीको मृत्यु र दुई घाईते एक अझै बेपत्ता । मृतकहरुमा इजरायलको कृषि कलेजमा “पढ्दै’’ गरेका विद्यार्थीहरु । मृतकहरुमा कैलालीका प्रमोद हमाल, सुदेश चन्द, अमृत भण्डारी.........

No comments:

Post a Comment