Sunday, January 7, 2024

लघुकथा (अङ्क ८ मा प्रकाशित)

समाजसेवी

-लीलाराज दाहाल
बागमती ११, कर्मैया, सर्लाही  


राधा बाटोको छेउमा बसेर रोइरहेकी थिइन् । उनको रुवाई सुनेर मानिसहरु झुम्मिएका थिए । उनका पति र सासु घरको आँगनमा उभिएर के के फलाकिरहेका थिए । वरिपरिका छिमेकीहरुसँग गुहार मागेर उनी घरतिर लागिन् । अब उनको घरको आँगनमा छिमेकीहरु जम्मा भए ।

“तपाईंहरु कसले बोलाएर मेरो घरमा आउनु भएको ? जानुस् सबै जना !” सासुले छिमेकीहरुलाई खाउँला झैं गरेर आँखा तरिन्  ।

“बुहारीलाई यसरी यातना दिन पाइन्छ ? बुहारी पनि छोरी जस्तै होइनन् ? मान्छे त आमा छोरा नै पढे लेखेको हुनुहुन्छ त !” छेउमा उभिएका रामप्रसादले राधाका पक्षमा पैरवी गरे ।

“यसलाई अब यो घरमा एक दुई तीन बस्नै दिन्न । यो अफिसमा गएर के के गरेर आउँछे, मलाई थाहा छैन ? जागिर गर्न जानु त यसको बहाना मात्रै हो !” सासु कुर्लिरहेकी थिइन् । राधाको पति अजय पनि आमाकै पक्षमा ढल्किएको थियो । 

“मैले कुनै गल्ती गरेकी छैन । पहिले अप्सरा जस्ती बुहारी भने । अहिले मेरा माइती गरिब रे ! स्तर मिलेन रे ! मलाई अंश दिलाई दिनुहोस् ! म यी क्रुर सासु र बेकामे पतिसँग जीवन बिताउन सक्दिन । मलाई यिनीहरुले जिउँदै मार्नेछन् !” उनको आँसु थामिएको थिएन ।

यत्तिकैमा सासुले उनको कपाल लुछेर उनलाई भुइँमा पछारिन् । पति अजय पनि श्रीमती विरुद्ध खनियो ! छिमेकीहरुले प्रहरी बोलाए !                                         

प्रहरीले राधाको कुरा सुनेर दुवै पक्षलाई छलफलका लागि नगरपालिकामा लैजान खोज्यो !

सासुको अनुहारमा भने अझै क्रोधको आगो बल्दैथियो, “म किन जानु ? नगरपालिकामा जाँदा मेरो इज्जत जाँदैन? म नारी उत्थान केन्द्रकी अध्यक्ष हुँ !”

No comments:

Post a Comment