Sunday, January 7, 2024

लघुकथा (अङ्क ८ मा प्रकाशित)

विश्वास

-जेबी खत्री   


 

तीन वर्ष पहिलेको कुरा, कार्की कान्छो छानो छाउन लाछीमाथि चढेको थियो । चैत वैशाखको चर्को घाम । खलखली पसिनाले उसको शरीर निथ्रुक्क भिजेको थियो । निधारबाट झरेको पसिनाले आँखा हेर्न भएको थिएन । छाउँदा छाउँदै ऊ एउटा हातले अर्को हात समातेर समातेको हात झुण्डाउँदै बुरुक्क उफ्रेर आतिएर घरको बलेसिनिर आइपुग्यो । त्यहीँ थुचुक्कै बसेको मान्छे मलाई सापले टोक्यो भनेर छट्पटाउन थाल्यो ।

घरपरिवार सबै आतिए । वल्लाघर-पल्लाघर छरछिमेकी भेला भए । सबैले उसलाई सापले टोकेको ठाउँमा गएर साप खोजे । यताउता अन्छाइ-पन्छाइ हेरे । कतै साप देखेनन् । उनीहरूले अड्कल काटे । उसलाई सापले टोकेको होइन । सापले नै टोकेको भए त एकछिन्को एकछिन्मा त्यो साप कहाँ जान्छ ? त्यहीँ हुनुपर्ने । वरिपरि सबैतिर खोजिसके । कतै छैन । त्यसपछि आएर उसलाई सम्झाए । कान्छा तँलाई सापले टोकेको होइन । तँलाई त्यस्तो लागेको मात्र हो । तँलाई खरको ठुटाले घोचेको हुनुपर्छ । तँलाई भ्रम पर्‍यो । कोही सम्झाउन थाले । कोही हाँसेर उडाउन थाले । खरको ठुटाले घोचेको रहेछ । सापले टोक्यो भन्छ भनेर, कस्तो आतिएको ।

त्यसपछि ऊ जुरुक्क उठ्यो । उसलाई साँच्चै आफूलाई सापले टोकेको होइन रहेछ क्यार जस्तो लाग्यो । सापले टोकेको मान्छे यसरी उठ्छ कतै भनेर झन् सबै गलल्ल हाँसे । उसले सोच्यो । हो मलाई सापले टोकेको होइन रहेछ । जुइनो कस्दा खरको ठुटाले नै घोचेको पो रहेछ, क्यार । उसले यस्तै ठान्यो ।

तीन वर्षपछि कार्की कान्छो फेरि उसरी नै त्यो छानो छाउन लाछीमाथि चढ्यो । चैत वैशाखको उस्तै चर्को घाम । पसिनाले शरीर उसरी नै निथ्रुक्क भिजेको थियो । उसले सम्झ्यो, तीन वर्ष पहिले मलाई यही ठाउँमा सापले टोकेको थियो । यसो हात उचालेर हेर्‍यो । औँलामा पहिलेको सानो पुरानो सेतो खत थियो । उसले खर झिक्दै जाँदा भेट्टायो । त्यहीँ खरको मुठाको जुइनो कस्दा उसलाई सापले टोकेको थियो । उसले विस्तारै त्यो खरको मुठो पल्टायो । मुनिबाट जुइनोले कसिएर मरिरहेको अवस्थामा साप भेट्टायो । साप घामले सुकेर परालको त्यान्द्रो जस्तो भएको थियो । उसले मनमनै भन्यो, तीन वर्ष पहिले मलाई यही सापले टोकेको थियो । त्यतिबेला मलाई टोक्ने साप यही हो ।

उसले आफूलाई तीन वर्ष पहिले टोकेर मरेको त्यान्द्रो जस्तो सुकेको त्यो साप टिपेर ल्यायो र सबैलाई देखाउँदै भन्यो, परारको साल मलार्इं टोक्ने साप यही हो देख्यौ ? यो सापले मलाई त्यतिबेला टोकेकै हो । त्यसपछि ऊ तीन वर्ष पहिले सापले टोक्दा जसरी नै छटपटाउन थाल्यो । छटपटाउँदा-छटपटाउँदै एकैछिनमा उसले आफ्नो देह त्याग गर्‍यो ।

No comments:

Post a Comment