Sunday, January 7, 2024

लघुकथा (अङ्क ८ मा प्रकाशित)

 नियति एक सरल कथा

- रासा
गौरीघाट, काठमाडौँ  


एउटी गाउँले केटी । गरिब परिवारकी । भागेर शहर पसी । धेरै दुःख गरी । निकै हण्डर खाई । अर्काको घरमा काम गरेर बसी । पछि, होटलमा काम गरी । अलि पैसा जम्मा भएपछि ठेला किनी । चिया बेच्न थाली ।

***

ऊ एक सम्भ्रान्त महिलाको नजरमा परी । ती महिलाले उसलाई आफ्नो घरमा आश्रय दिई । महिला एकल थिई । र, छोराछोरीहरू पनि विदेशमा थिए । उसलाई छोरी समान राखी । त्यही घरमा बसेर उसले मेहनतपूर्वक पढी । विद्यालयस्तरीय पढाइ सकाएर कलेज गई । बीचमा जापानी भाषा पढ्न थाली । भाषा पढ्दापढ्दै उसको प्रशिक्षकसँग प्रेम बसिसकेको थियो । प्रशिक्षक धनी बाबुका छोरा थिए ।

***

भाषा प्रशिक्षण केन्द्रमा उसको एक जापानी पर्यटकसित सम्पर्क भयो । पर्यटक एकदम धनाढ्य, तर एक्ला विधुर थिए । उनले उसलाई आफ्नै खर्चमा जापान लगे । त्यहाँ उसले सबै काम गरी ।

 ***

केही महिनापछि ऊ नेपाल फर्की । समयान्तरमा ऊ बस्ने घर बेचियो । घर-मालिक महिला पनि प्रवास गई । उसले केही लाख रुपैयाँ पाई ।

***

उसको बिहे भयो त्यही प्रेमीसित । ऊ नयाँ घरमा बस्न थाली । दुई छोराछोरी पनि भए ।

***

यद्यपि उसलाई जापानबाट सहयोगस्वरुप नगद एवं जिन्सीहरू आइरहन्छन् । उसले ती जापानीलाई धर्मपिता मान्छे । आखिर पिताले पुत्रीलाई सहयोग त गर्ने नै भयो । यद्यपि ती दुईको सम्बन्धलाई लिएर मानिसहरू कुरा काट्न तल्लीन छन् ।

No comments:

Post a Comment