Sunday, June 16, 2024

लघुकथा (अङ्क १३ मा प्रकाशित)

आमा खुवाउने औंशी

- उपेन्द्रप्रसाद खनाल
मनमैजु, काठमाडौँ     



हीरामायालाई बिहानको मीठो निद्राले छोडेको थिएन । विभिन्न रोगले सताउँदै आएको र एक्लो जीवन बिताइरहेकी हीरामायालाई चाँडै उठ्नु र सुत्नु आफ्नै इच्छामा भर पर्नु थियो । कुनै समयमा घरमा रहेको आफ्नो दुई जना छोराछोरीहरूलाई खुवाएर तिनीहरूलाई विद्यालय पठाउनु, विद्यालयबाट आएपछि उनीहरुको इच्छाअनुसारको खाजा तयार गरिदिनु, बिहान पाँच बजे उठेर खाना खाजाको तयारी गरेर छोराछोरीलाई विद्यालय पठाउनु, यस्तै क्रमबाट जीवनको आधाभन्दा बढी समय बिताएकी उनलाई यी सबैकुरा अहिले आएर सपना जस्तो लागिरहेछ ।

छोराछोरीहरू आफ्नो गाउँबाट विद्यालय शिक्षा पूरा गरेपछि उच्च शिक्षा र अवसरको खोजीमा आफ्ना अभिभावकलाई केही वर्षमा फर्कने बाचागरी विदेश पलायन भएकाहरू आज उतैका स्थायी बासिन्दामा परिणत भए । 

हीरामायाको बिहानको निद्रा के खुलेको मात्र थियो फोनको आवाजले झसङ्ग हुँदै फोन तर्फ हात बढाइन । अष्ट्रेलियाबाट छोरीले गरेकी रहिछ । आफूले बोल्न नपाइ उताबाट एकै स्वरमा छोरीले बोली, हैप्पी मदर डे है आमा । आज आमाको मुख हेर्ने दिन, आमाको मुख हेरेर मात्र काममा  जाउँ भनेको, कामको व्यस्तताले गर्दा २ हप्ता जति भएछ कुरा गर्न नपाएको, केही चाहियो भने भन्नू है आमा म पठाइदिउँला, मलाई काममा जान हतार भयो, बाई भन्दै फोन  राखिदिइ । 

लगत्तै क्यानडाबाट छोराको भिडियोकल आयो, आमा हाप्पी मदर डे है । आज आमा खुवाउने औंसी,  आमाका लागि केही मिठाईहरू अर्डर गरिदिएको छु भरेसम्म घरैमा आइपुग्छ । काममा जाने गाडी आइसक्यो, पछि कुरा गरौँला है आमा । यति भन्दै छोरा पनि बिदा भयो ।

आफ्नो जीवनको भोग यस्तै रहेछ भन्दै मनमा कुरा खेलाउँदै बसेकी हीरामायाको गेटको ढोका अपरिचित मान्छेले ढक्ढक्याएको आवाज आयो । अपरिचित मान्छे एक कार्टुनका साथ गेटबाट भित्र पस्दै गरेको देखिन् । कुरा बुझ्दा औंशीको भाग भनेर छोराले अनलाईनबाट विभिन्न प्रकारका मिठाइहरू पठाएको रहेछ । सुगर, बाथ, दम जस्ता रोगले ग्रस्त हीरामायाको लागि नियमित खानै पर्ने औषधीको भाँडो भने रित्तो थियो ।


...साथ सहयोगको खाँचो

No comments:

Post a Comment