Sunday, June 16, 2024

लघुकथा (अङ्क १३ मा प्रकाशित)

बेवकूफ

- मुरारीराज मिश्र
उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौँ   



"तेरो नेता फटाहा हो, त्यसले हाम्रोलाई यस्तो तथानाम आरोप लगायो ।“ 

“अनि तेरोले हाम्रोलाई नानाथरी गाली गरेको चाहिँ सुनिनस् तैंले !“ तेरो नेता फटाहा हो... तेरो नेता छट्टू हो.... एकै कार्यस्थल भएका एउटै टोलका दुबैजना साथीहरू कार्यकक्षमै बाझाबाझ गर्दै थिए । 

लाग्थ्यो, अब केही बेरमा यी दुईका बिचमा हात हालाहाल नै हुन्छ ! 

“हैन, के को झगडा हो तिमीहरूको ?’’ अर्को सहकर्मीले भित्र पस्दै भने । दुबैले आक्रोशित अवस्थामा आआफ्नो बेलिबिस्तार लगाए । 

“म भर्खरै रेष्टुरेन्टबाट फर्किंदै छु, त्यहाँको यो दृश्य हेर पहिले । अनि जति बाझ्नु छ बाझ !’’ 

आगन्तुक सहकर्मीले आफ्नो मोबाइल दुबैको बिचमा राख्दै भने । उनको मोबाइलको भिडियोमा एउटै टेबुलमा बसेर झगडिया ती दुई नेता रक्सीको नशामा लठ्ठीएर हाँस्दै गफ गर्दै गरेका देखिए । 

उनीहरू भन्दैथे “कठै जनता ! हामी आपसमा बाझेको साँच्चिकै भन्ठान्दैै रैछन् ! उनीहरुलाई यसरी बेवकूफ नबनाए हामी कसरी राजनीतिमा टिक्ने !’’


...साथ सहयोगको खाँचो

No comments:

Post a Comment