Sunday, June 16, 2024

लघुकथा (अङ्क १३ मा प्रकाशित)

गरिबको व्यथा

- प्रेम थापा 'मन’
बाग्लुङ  



चकमन्न अँधेरी छाउँदै छ । कुकुर पुच्छर लुकाउँदै भोकै आफ्नो न्यानो खोज्दैछ । टहलिएको मन लिएर सुस्केरा काढ्दै धनबहादुर मलाई बाबु कताबाट भन्छन् ?

धनबहादुर अहिले सत्तरी वर्ष पुगे रे ! जीवन के गरी बित्यो पत्तै भएन भनी ठट्टा पनि गर्छन् अझै । कहिले साहुको मेलापात, कहिले भारत, कहिले विभिन्न सपना सजाउन मै जीवनले उत्तरार्धको सिंढी रुपी पाइला चालिरहेकै छ । अब उनले अगेना तताउनु छ, सेकाउनु छ भाँडाकुँडा, गुजार्नु छ व्यथालाई अठ्याउँदै जीवन । यी कार्यलाई म बाधक त बन्दैछैन भन्ने मलाई लाग्छ । यति लामो समय गुजार्दा उनलाई जनताको दिन कहिले फिर्छ भन्ने एउटै प्रश्नको कौतुहलता जाग्दोरहेछ । हलो समाएका, डल्ला फोरेका, कोदाली बजारेका, झ्याउरे गाएका मिठा र अत्यासपूणर् कहानी सुनाउँछन्  । गुन्द्रुक, ढिँडो मिठोमा मासको दाल हे मनका धनी धनबहादुर तिमी त सन्तोषको हाँसो हाँस्तछौ अझै । ठट्टा हो र सत्तरी वर्ष भनेको? बिहान यो जाडोमा लगाएको कपडा देख्दा मन पोल्यो लौ यो ज्याकेट लगाउ । मैले तिमीलाई यो ल्याइदिएको ।

धन्य ! मेरो यो विवशतामा असुल गर्ने कसरी ? करिब दश वटा जति चुनावमा मेरो एउटा भोटको लागि मेरो उपहासमा पैसा दिने कति आए । म किञ्चित आफ्नै पसिनाको मूल्य देख्ने मान्छे, त्यो पैसामा म जस्तै दुःखी गरिबको पीडा देख्थे र टाउको हल्लाइदिन्थे । पैसा राखेनस्  तर भोट हामीलाई दिएन भने..... जब म बुथमा पुग्थे । मेरो भोट कसैबाट खोसिन्थ्यो । मताधिकारी म निरीह.....  पाइलो फर्किन्थ्यो । घरमा पेट पाल्ने खजाना थिएन त्यो दिन ।  मात्र जम्मा गरेको भए आफ्नै पसिनाको दह बन्थ्यो होला । कति  सरकार फेरिए । दुःख देखेनन् बाबु !

तिम्रो पसिनामा पौडिन पल्केकाहरूलाई भनिदेऊ तिमीले डल्ला फोड्न मात्र होइन अत्याचारका लागि आवाज उठाउन सक्छौ । तिमी र तिमीजस्ताका लागि कसले के पो गरिदियो र? अझै कति निमुखालाई लात हान्ने हुन् । खिल्ली उडाउँछन्, उद्घाटन गर्छन्, माला लगाउँछन् । तिमीले कहिल्यै मिठो चाखेनौ । तिमी अब यो ज्याकेट लगाएर उठ, जुट, अनि आवाज बुलन्द पार यो पनि हाम्रो भूमि हो ।


...साथ सहयोगको खाँचो

No comments:

Post a Comment