Sunday, June 16, 2024

लेख (अङ्क १३ मा प्रकाशित)


 लघुकथा के हो र कसरी लेखिन्छ?

साहित्यमा सबै विधाका आआफ्नै विधागत चिनारीहरू हुन्छन् । कविताको मूलभूत चिनारी लयविधान हो, निबन्धको मूलभूत चिनारी दृष्टिकोण वा विचार हो, नाटकको मूलभूत चिनारी संवाद वा अभिनय हो भने कथाको मूलभूत चिनारी घटना हो । त्यसैले कथा घटना वा कथावस्तुलाई केन्द्रमा राखेर गरिने गद्यात्मक सिर्जना हो । यस प्रकृतिका रचनाहरूलाई आख्यान भनिन्छ । संरचनात्मक आयामका दृष्टिले आख्यानका पनि लघुतम संरचना (लघुकथा), लघु संरचना (कथा) र बृहत् संरचना (उपन्यास) आदि रूपहरू पाइन्छन् । छोटो संरचनामा कथावस्तुलाई पूणर्ता दिने एउटा प्रभावकारी भाव सम्प्रेषण गर्न सक्ने आख्यानात्मक सिर्जनालाई लघुकथा भनिन्छ । कथाका लागि आवश्यक सबै तत्वहरूको सम्पन्नताभित्र खँदिलो संरचना अनि मितव्ययी अभिव्यक्ति लघुकथाको सबैभन्दा ठुलो सम्पत्ति हो । यस लेखमा आख्यानअन्तर्गत पर्ने एउटा शक्तिशाली एवं नेपाली साहित्यमा अत्यन्त लोकप्रिय उपविधाका रूपमा रहेको लघुकथाका बारेमा सैद्धान्तिक तथा सिर्जनात्मक जानकारी प्रस्तुत गरिएको छ ।

लघुकथाको सैद्धान्तिक स्वरूप र परम्परा

‘लघु’ र ‘कथा’ दुइटै तत्सम शब्द हुन् । यी दुई शब्द मिलेर ‘लघुकथा’ शब्दको निर्माण भएको हो । लघु भनेको छोटो हो भने कथा भनेको कहानी हो । अर्थात् छोटो कथा नै लघुकथा हो । यसका बारेमा विभिन्न विद्वान्हरूका आआफ्नै अवधारणाहरू पाइन्छन् । एडगर एलेन पोले आख्यानको लघुतम प्रभेद नै लघुकथा हो भनेका छन्, रोनाल्ड वालेसले एक पृष्ठको आयाममा विस्तारित २५० शब्दभित्रको छोटो आख्यान नै लघुकथा हो भनेका छन् भने फ्रान्सिसले चातुर्यपूणर् तरिकाले समापन गरिएको छोटो कथा नै लघुकथा हो भनेका छन् । यस सन्दर्भमा आर होगार्डले त एक मिनेटका कथालाई लघुकथा भनिन्छ भनी स्पष्ट उल्लेख गरेका छन् । यसका आधारमा हेर्दा एलेन पो र वालेसले सङ्केत गरेका आयाम र फ्रान्सिसले सङ्केत गरेको प्रभावकारिताले लघुकथाको बाह्य तथा आन्तरिक दुवै पक्षलाई सङ्केत गरेको पाइन्छ भने होगार्डले सङ्केत गरेको समयसीमा भने सूत्रकथाका लागि स्वाभाविक भए पनि लघुकथाका लागि त्यत्ति व्यावहारिक मानिँदैन ।

नेपाली साहित्यमा पनि लघुकथाका विषयमा अनेकौँ परिभाषाहरू भएका छन् । मोहनराज शर्माले कम्तीमा दुइटा यथार्थ वा कल्पित घटनाको कालक्रमिक प्रतिनिधित्व भएको लघुतम आख्यानलाई, दयाराम श्रेष्ठले क्षणभरमै विचार वा भावको प्रभावकारी विस्फोटन हुन सक्ने भित्री अणुसामथ्र्य भएको छोटो कथालाई र राजेन्द्र सुवेदीले आफैँमा स्वतन्त्र, निरपेक्ष, पूणर् अस्तित्वबोधक कथाको प्रविधालाई लघुकथाका रूपमा परिभाषित गरेका छन् । यी परिभाषाहरूलाई हेर्दा लघुकथामा यथार्थ र काल्पनिक दुवै विषयवस्तु समेटिन सक्ने, भावको प्रभावकारी विस्फोटन र अणुसामथ्र्य हुनुपर्ने, स्वतन्त्र भएर पनि आफ्नो अस्तित्वसहितको हुनेपर्ने तर आकारमा चाहिँ अत्यन्त छोटो हुनुपर्ने मान्यतामा जोड दिएको देखिन्छ । यसका आधारमा हेर्दा आकारगत सङ्क्षिप्तता र भावगत प्रभावकारिता नै लघुकथाको शक्ति र सामथ्र्य हो भन्ने निष्कर्ष निकाल्न सकिन्छ ।

लघुकथा लेखन, प्रकाशन र समीक्षणको ऐतिहासिक सन्दर्भलाई केलाउन थाल्ने हो भने वैदिक कालसम्म नै पुग्नुपर्ने हुन्छ । पूर्वीय काव्यजगतमा अत्यन्त सूक्तिमय छोटा आख्यानात्मक रचनाहरूको प्रयोग वैदिक, पौराणिक तथा साहित्यिक तीनै कालमा भएको पाइन्छ तर लघुकथालाई नामकरणका साथै प्रयोगात्मक रूपमा चिनाउने कार्यमा पाश्चात्य जगत्को विशेष भूमिका रहेको देखिन्छ । पूर्वीयमा जस्तै पाश्चात्य जगतमा पनि सिर्जनात्मक रूपमा यसको प्रयोग प्राचीन कालदेखि नै हुँदै आएको भए पनि सैद्धान्तिक चर्चा भने सन् १९५० को दशकबाट हुन थालेको देखिन्छ । त्यसमा पनि यससम्बन्धी औपचारिक अवधारणा भने सन् १९८० को दशकमा अङ्ग्रेजी साहित्यमार्फत अगाडि आएको देखिन्छ । त्यहाँदेखि यहाँसम्मको चार दशकमा लघुकथाले सैद्धान्तिक एवं सिर्जनात्मक दुवै क्षेत्रमा विश्वव्यापी लोकप्रियता हासिल गरेको देखिन्छ ।

लघुकथा नेपाली कथापरम्परामा पनि सर्वाधिक लोकप्रिय मानिन्छ । वर्तमानमा लघुकथाले आख्यानात्मक सबै खाले सिर्जनालाई उछिनेको देखिन्छ । नेपाली कथाको प्रारम्भचाहिँ शक्तिवल्लभ अर्यालको ‘महाभारत विराटपर्व’ (१८२७) बाट भएको मानिन्छ । साथै प्राथमिककालीन ‘मुन्सीका तीन आहान’मा लघुकथाको पूर्वस्वरूप पनि फेला पर्दछ तर वि.सं. १९९२ को ‘शारदा’ पत्रिकामा प्रकाशित पूणर्प्रसाद बाह्मणको ‘वरदान’ शीर्षकको लघुकथालाई नेपालीको पहिलो लघुकथा मान्ने गरिन्छ । पुस्तकाकार कृतिमा भने ब्राह्मणकै २००७ मा प्रकाशित ‘झिल्का’लाई नेपाली लघुकथाको पहिलो कृति मानिन्छ । नेपाली लघुकथा परम्परालाई हेर्दा पृष्ठभूमिदेखि २००६ सालसम्मको समयलाई पहिलो चरण, २००७ सालदेखि २०२९ सालसम्मको समयलाई दोस्रो चरण, २०३० सालदेखि २०४५ सालसम्मको समयलाई तेस्रो चरण र २०४६ सालदेखि हालसम्मको समयलाई चौथो चरण भनी वर्गीकरण गरिएको पाइन्छ । नेपाली लघुकथाले आफ्नो चरणगत विकाससँगै एउटा छुट्टै विशेषता पनि बोकेर आएको देखिन्छ । यसरी २००७ देखि हालसम्मको सात दशकको अवधिमा नेपाली लघुकथाले जुन प्रकारको उचाइ प्राप्त गरेको छ त्यो नेपाली साहित्यको इतिहासमा नै गर्व गर्न लायक देखिन्छ ।

लघुकथा हुनका लागि के के चाहिन्छ ?

लघुकथा आफैँमा एउटा पूणर् कथा नै हो । यो कथा वा उपन्यासको एउटा खण्ड होइन । यसमा छोटो संरचनाभित्र पनि घटनाको आदि, मध्य र अन्त्यको सुव्यवस्थित रखाइ हुनु अनिवार्य छ । यसको विषयवस्तु प्रभावकारी हुन्छ र सन्देश जीवन्त हुन्छ । सूचना, ज्ञान र मनोरञ्जन तीनै कुराको व्यवस्थापन यसमा हुन्छ तर यो चुट्किला वा जोक्सचाहिँ होइन । चुट्किलामा पनि कथाका लागि आवश्यक अङ्गहरू हुन्छन् तर तिनको उद्देश्य केवल मनोरञ्जन हुने गर्दछ । लघुकथाको उद्देश्य मनोरञ्जन मात्र होइन । घटनाको आन्तरिक तारतम्य वा कार्यकारण शृङ्खलाबाट विकसित हुँदै गएर प्रभावकारी निष्कर्षका पुग्नु लघुकथाको संरचनात्मक चिनारी हो । एउटा कथाकार लघुकथा लेख्न बस्दा उसका लागि निम्नलिखित कुराहरू अनिवार्य बनेर आउने गर्दछन्—

— लघुकथा केका बारेमा लेख्ने ? = घटना/कथावस्तु

— कथावस्तुलाई कार्यकारण शृङ्खलाबद्ध कसरी गर्ने ? = कथानक

— कथावस्तुलाई लक्ष्यसम्म पुर्‍याउने जिम्मा ककसलाई दिने ? = पात्र/चरित्र

— कथाका पात्रहरू उभिएको ठाउँ, समय र वातावरण केकस्तो राख्ने ? = परिवेश

— यो कथा किन लेख्ने ? = उद्देश्य/भाव/विचार

— कथाका पात्रहरूसँगको लेखकीय सम्बन्ध कस्तो बनाउने ? = दृष्टिविन्दु

— कथावस्तुलाई कसरी बाह्यरूपमा प्रकटीकरण गर्ने ? = भाषाशैली

यत्ति कुरामा स्रष्टाले ध्यान दिने हो भने सुन्दर लघुकथा सिर्जना हुन सक्छ । यसलाई एउटा सुन्दर शीर्षकले बाँध्ने गरिन्छ । शीर्षक लघुकथाको मियो हो जसका वरिपरि घुमाउँदै कथावस्तुको दाइँ गरिन्छ र प्रभावकारी भावरूपी धानका दानाहरू झार्ने गरिन्छ । शीर्षक छोटो र पद वा पदावलीको तहमा हुनु राम्रो मानिन्छ । सकेसम्म शीर्षक वाक्यात्मक तहमा हुनु हुँदैन । यसका साथै लघुकथाको प्रस्तुति घटनाको सरासर वणर्न गर्ने खालको हुनु हुँदैन । घटनाको विकास, कथानकको बुनोट, चरित्रको निर्माण, परिवेशको उद्घाटन आदिमा पाठकका मनमा अब के हुन्छ ? अब के हुन्छ ? भन्ने उत्सुकता जागृत भइरहनुपर्छ र समापन अत्यन्त प्रभावकारी र पाठकका मनमा लामो समयसम्म अनौठो तरङ्ग सिर्जना गरिरहने खालको हुनुपर्छ ।

लघुकथा आकारमा सानो भए पनि यसको आन्तरिक व्यवस्थापनमा आदि, मध्य र अन्त्य तीनै प्रकारको कथानकको विकास हुने गर्दछ । जस्तैः

(क) आदि भागः कथानकको उठान, पात्र र परिवेशको सङ्केत र कथावस्तुको विकासका लागि आधार निर्माण ।(ख) मध्य भागः कथानकको विकास, कौतूहल निर्माण र उत्सुकतामा बृद्धि ।
(ग) अन्त्य भागः भावगत अभीष्ट प्राप्ति र प्रभावकारी समापन ।

लघुकथाको त्रिआयामिक संरचना यसरी गरिन्छ तर कथानकको आन्तरिक विकास गर्दाचाहिँ निम्नलिखित पाँचओटा चरणमा समेत ध्यान दिनुपर्छ—

(क) कथानकको बीज भागः यस भागमा कथावस्तुको मूल कथ्यलाई सङ्केत गरिन्छ ।
(ख) कथानकको विकास भागः यस खण्डमा स्वाभाविक रूपमा कथावस्तुलाई उठाउँदै लगिन्छ ।
(ग) कथानकको चरमोत्कर्ष भागः यस खण्डमा कथावस्तुप्रतिको उत्सुकता बृद्धि गराइन्छ ।
(घ) कथानकको प्रतिचरमोत्कर्ष भागः यस खण्डमा कथानकलाई उत्कर्ष प्रदान गरी समाधानउन्मुख मोडमा पुर्‍याइन्छ ।
(ङ) कथानकको उपसंहार भागः यस खण्डमा कथाले भन्न खोजेको कुराको स्थापना हुने गरी प्रभावकारी समापन गरिन्छ ।

एउटा लघुकथामा कथानकको आन्तरिक बुनोट यसरी गरिन्छ तर ती खण्डहरू अलग अलग नभएर एकअर्कासँग अन्तरसम्बन्धित भएर आउँछन् । यिनलाई फरक फरक अनुच्छेदमा लेख्नु पर्दैन र खण्ड खण्डमा छुट्याउनु पनि पर्दैन तर पाठकले थाहै नपाईकन कथानकको उत्तरोत्तर विकास हुँदै गएर प्रभावकारी समापनमा पुग्नुपर्छ । यसको उद्देश्य प्राप्ति हुँदा पाठकका मनमा लामो समयसम्म अनौठो तरङ्ग सिर्जना हुनुपर्छ ।


लघुकथा कसरी लेखिन्छ ?

लघुकथामा जीवनको एउटा महत्वपूणर् क्षणको चित्रण हुने गर्दछ । यसमा समाजको एउटा पाटो, स्रष्टाको भोगाइसँग जोडिएको एउटा क्षण वा स्रष्टाले कल्पना गरेको भावगम्भीर युगबोध आदिलाई आख्यानात्मक स्वरूप प्रदान गरिन्छ । त्यसैले कथाकारले लघुकथाको सिर्जना गर्न चाहेमा निम्नलिखित चरणहरूमा ध्यान दिनु अनिवार्य मानिन्छ—

पहिलो चरण : घटना, चरित्र र परिवेशको चयन

लघुकथा केका बारेमा वा के विषयमा लेख्ने हो ? कथाकार स्पष्ट हुनुपर्छ । लघुकथा जुनसुकै विषयमा पनि लेख्न सकिन्छ । त्यसैले कथाकारले सबैभन्दा पहिला आफूले चाहेको घटना छनोट गर्नुपर्छ, त्यस घटनालाई वहन गर्न सक्ने पात्रको चयन गर्नुपर्छ र घटना एवं चरित्रका लागि अनुकूल हुने गरी परिवेशको छनोट गर्नुपर्छ । यस चरणमा उल्लिखित विषयका लागि आवश्यक बुँदाहरूको टिपोट पनि गर्न सकिन्छ ।

दोस्रो चरण : उद्देश्यअनुकूल कथानकको विस्तार गरी खेस्रा लेखन

यस चरणमा लघुकथाको निर्धारित सिद्धान्त र आवश्यक तत्वमा केन्द्रित रहेर कथारचना गर्न थाल्नुपर्छ । कथानकको विकासका लागि आवश्यक संवाद, कथोपकथन आदिका माध्यमबाट पाठकमा कुतूहल सिर्जना गर्दै जानुपर्छ । यसरी आख्यानलाई रोचक बनाउँदै लघुकथाको आदि, मध्य र अन्त्य भागसम्मको संरचना निर्माण गरी लघुकथाको पहिलो खेस्रा रूप तयार गर्नुपर्दछ ।

तेस्रो चरणः आवश्यक परिमार्जन गरी साफी लेखन

यस चरणमा आफैँले लेखेको लघुकथाको खेस्रा रूपलाई निष्पक्ष पाठक बनेर पढ्नुपर्छ । पाठक बनेर पढ्दा आफूलाई खड्केका कुनै कुरा भए तिनलाई आवश्यक परिमार्जन गर्नुपर्छ । यस चरणमा लघुकथाको बाह्य बनोट र आन्तरिक बुनोटमा केही दोषहरू देखिएमा पुनः परिमार्जन गरी अन्तिम लेखन वा साफी लेखन गर्नुपर्छ अनि मात्र त्यो लघुकथा प्रकाशन योग्य हुन्छ ।

यी कुराहरू सिकारु चरणका कथाकारहरूका लागि हुन् तर सिद्धहस्त स्रष्टाले त एकैपटकमा अथवा एकै बसाइमा एउटा लघुकथाको साफी लेखन नै गर्न सक्छ । लघुकथाको सिर्जना पनि विद्युतीय शैलीमा हुन्छ र त्यसको प्रभाव पनि विद्युतीय झड्काझैँ हुने गर्दछ ।

साभारः साहित्यपोष्ट डट कम


..साथ सहयोगको खाँचो

No comments:

Post a Comment