Sunday, June 16, 2024

अन्तर्वार्ता (अङ्क १३ मा प्रकाशित)



***************************

माता मिना शर्मा पौडेल तथा पिता लक्ष्मण शर्मा पौडेलको सुपुत्रीका रुपमा वि. सं. २०३६ पौष १३ लघुकथाकार रचना शर्माको भरतपुर महानगरपालिका २८, मेघौलीमा जन्म भएको हो । शैशवकालिन वय सकाएपछि प्रारम्भिक शिक्षा मेघौलीकै राष्ट्रिय आधारभूत विद्यालयबाट लिनु भएकी शर्माले बालकुमारी कन्या मा.वि. नारायणगढबाट एस. एल. सी. गरेपछि मैयादेवी कन्या कलेज चितवनबाट कलेजस्तरको शिक्षा हासिल गर्नुभयो । पेशाले व्यापारमा रमाउनु भएकी उहाँ रुचिले भने विभिन्न साहित्यिक पेजहरू (विशेषतः लघुकथाका) मा आवद्ध हुनुहुन्छ ।  

उहाँले लेखनारम्भ गर्नु भएको पहिलो लघुकथा भने 'फादर्स डे’ हो जुन वि. सं. २०७६ भदौ १३ गते कुशे औंसीको दिन 'लघुकथा कुनो’ मा पोस्ट गर्नुभएको थियो । त्यसपछि पत्रिकामा छापिएको पहिलो लघुकथा भने  '१० रूपैयाँको ब्याज’ हो । यो लघुकथा 'गाउँ सहर डट कम’ अनलाइन पत्रिकामा २०७६ कार्तिक ९ गते छापिएको हो ।  लघुकथालाई अभिनय सहित वाचन  गरेबापत धेरैको स्याबासी थाप्नु भएकी रचना शर्माले अहिलेसम्म स्वदेशी र विदेशी गरी १२२ लघुकथाहरूमा विभिन्न भूमिकामा एकल अभिनय गरिसक्नु भएको छ । 

लघुकथा संसारका लागि हाम्रा सम्वाददाता गोमविक्रमसँग लघुकथामा केन्द्रित भएर गर्नु भएको कुराकानी प्रस्तुत गरिएको छः

***************************

गोमविक्रम :  लघुकथा कस्तो विधा हो जस्तो लाग्छ ?

रचना शर्मा :  लघुकथा आख्यान विधा मध्येको एक उत्कृष्ट विधा हो ।


गोमविक्रम :  लघुकथा लेखनमा कसरी आकर्षित हुनु भो ? अरुलाई कसरी आकर्षित गर्न कसरी सकिएला ?

रचना शर्मा : मेरो गुरु बुवा टीकाराम रेग्मीले वि. सं. २०७६ साल साउनतिर ॅलघुकथा कुनो’ मा जोडिन इन्भाइट गर्नुभएको थियो । त्यसमा जोडिएर लघुकथा भनेको के रहेछ भनेर अध्ययन गर्ने मौका पाएँ । छोटो समयमै पढेर बुझिने खाले, पढ्दा रमाइलो लाग्यो । म पनि लेख्दा कस्तो हुने रहेछ भन्ने लागेर केही दिनपछि लेख्न पनि शुरु गरें । अहिले सामाजिक सञ्जालमा लघुकथाका विभिन्न पेजहरूले लघुकथातर्फ आकर्षित गर्नलाई अरु स्रष्टाका लघुकथा वाचन गरिदिने, समीक्षा गरिदिने, कमीकमजोरी पत्ता लगाइदिने कार्यहरू गर्दै आएको देखिन्छ । यसबाट लघुकथा लेख्न र सिक्न चाहनेहरूलाई मद्दत पुगेको छ । साथै लघुकथाको अडियो एवम् भिडियो वाचनले पनि धेरै श्रोता दर्शकको मन छोएको छ ।


गोमविक्रम :  अहिले लेखिएका/छापिएका लघुकथाहरूको कमजोर पक्ष ? अथवा लघुकथाका चुनौतीहरू केके होलान् जस्तो लाग्छ ?

रचना शर्मा : लघुकथाको बारेमा गहन रूपमा बुझेर, अध्ययन गरेर लेखिएका लघुकथाहरूमा कमजोर पक्ष अलि थोरै हुन्छन् । नबुझी लेख्ने, अरुले कसरी लेख्छन् भनेर अध्ययन नगरी लेखिएका सर्जकहरूका लघुकथामा अलि धेरै कमीकमजोरी भेटिन्छन् ।

त्यसै गरी अहिले लघुकथामा धेरै चुनौतीहरू खडा भएका छन् । लघुकथाका विभिन्न नियमहरू बनेका छन् । कम भन्दा कम शब्दको प्रयोग गर्नुपर्ने, बीज वाक्यको निर्माण गर्नुपर्ने, व्यङ्ग्य प्रदान हुनुपर्ने सन्देशमूलक हुनुपर्ने, एक स्थान, घटनाको समय अवधि एकदम छोटो हुनुपर्ने जस्ता नियमहरूले गर्दा लघुकथा लेखनमा चुनौती दिएको छ ।

त्यसै गरी लघुकथाको बारेमा समीक्षा गर्ने समीक्षकहरूमा पनि एकरुपता देखिंदैन । कसैले बीज वाक्य नभइ हुन्न भन्नुहुन्छ, कसैले बीज वाक्य चाहिन्न तर अन्त्य झट्केदार हुनुपर्छ भन्नुहुन्छ । कसैले समय अवधिको ख्याल गर्नुपर्दैन भन्नुहुन्छ । त्यसकारण यी कुराहरूले लघुकथा लेखनमा द्विविधा पनि उत्पन्न गराएको देखिन्छ ।


गोमविक्रम :  नेपाली लघुकथाको अहिलेको अवस्था कस्तो देख्नुहुन्छ ? विश्व साहित्यको बजारसम्म नेपाली लघुकथालाई पुर्‍याउन के गर्न सकिएला ?

रचना शर्मा : अहिलेको अवस्थामा नेपाली लघुकथाले निकै फड्को मारेको देखिन्छ । नेपाली लघुकथामा एकप्रकारको बाढी आएको छ । अर्थात् प्रायःजसो सामाजिक सञ्जालबाट लघुकथा प्रसारण हुनाले, लघुकथा सम्बन्धी विभिन्न प्रतियोगिता गराउनाले नयाँ नयाँ लघुकथाकारको जन्म भएको छ । विश्व साहित्यको बजारसम्म नेपाली लघुकथालाई पुर्‍याउन लघुकथामा विकृति आउन दिन भएन । लघुकथाको मर्मलाई ख्याल गरेर लघुकथाको रचना गर्नुपर्छ । आफूले लेखेको लघुकथा भयो या भएन भन्ने कुरा राम्ररी जाँचेर मात्र प्रकाशनमा ल्याउनुपर्छ । त्यसपछि सुन्दर र चेतनामूलक सामग्री भएका पुस्तक विश्व साहित्यको बजारसम्म सजिलै पुग्न सक्छ ।


गोमविक्रम :  तपाईं लघुकथामा अभिनय गर्नुहुन्छ । अभिनयका हिसाबले सजिला र अप्ठ्यारा लघुकथा कस्ता हुन्छन् ? लघुकथाको अभिनय क्षेत्रबाट कसरी प्रवद्र्धन गर्न सकिने देख्नुहुन्छ ?

रचना शर्मा : खँदिला, संवादयुक्त र थोरै पात्र भएका लघुकथाको एकल अभिनय गर्न अलि सहज हुन्छ । वणर्नात्मक लघुकथामा अभिनय गर्न त्यति सहज हुँदैन । अभिनयात्मक तरीकाले लघुकथालाई वाचन गरेमा अवश्य पनि लघुकथाको प्रवद्र्धनमा ठूलो मद्दत पुग्दछ किनभने खँदिला, रसिला र छोटा लघुकथाले वर्षौंवर्षसम्म प्रभाव छोडिरहन्छ ।

अभिनय गरेर वाचन गरिएको लघुकथा सुन्न र बुझ्न उत्तिकै रोचक लाग्दो हुन्छ । तसर्थ कथावस्तुले मागेको अभिनय अत्यन्तै सजीव हुने हुँदा आजभोलि यसलाई मन पराउनेहरूको संख्या पनि ह्वात्तै बढेको छ । अभिनयले लघुकथालाई जीवन्तता प्रदान गर्ने भएकोले लघुकथाको क्षेत्रमा रोचक ढङ्गले छलाङ मारेको एक मात्र उत्कृष्ट तरीका भनेको यही अभिनय नै हो ।


गोमविक्रम :  अभिनयस“गै युट्यूबबाट लघुकथालाई कसरी प्रचारप्रसार गर्न  सकिएला ? अथवा प्रविधि अनुसार लघुकथालाई कसरी लैजान सकिएला ?

रचना शर्मा : अभिनयसँगै युट्यूब मार्फत पनि  लघुकथाको प्रचारप्रसार गर्न सकेमा एक ऐतिहासिक कदम हुनेछ । यसलाई अन्य विधा झैँ महत्व नदिइएको अवस्था छ । आजभोलि गीत, कविता, कथा आदिका धेरै लिंक युट्यूबमा सुन्न हेर्न सकिन्छ तर यो छोटोछरितो, व्यङ्ग्यात्मक, प्रतीकात्मक लघुकथाहरू अत्यन्तै कम संख्यामा युट्यूबमा पाइन्छ ।

यसका लागि धेरै मिहिनेत गर्नुपर्छ । युट्यूब मार्फत प्रचारप्रसार गर्न सकेमा अझ यो रामवाण हुनसक्छ । तर यसका केही चुनौतीहरू पनि छन् । युट्यूबको लिङ्क दिए पनि प्रायःले खोलेर हेर्न झन्झट मान्छन् । तर त्यही सामग्री सिधैं भिडियो बनाएर राखिएको छ भने प्रायःले हेर्न छुटाउँदैनन् । अभिनय मार्फत भिडियो बनाएर सामाजिक सञ्जालमा राख्दा यसले अझ थप उचाइ प्राप्त गर्न सहायक सिद्ध हुन्छ ।

प्रविधि मार्फत वाचन गरेका भिडियोलाई युट्यूबमा अपलोड गरेमा संसारभरका मानिसहरूले हेर्न र सुन्न सक्छन् । यसरी अभिनय मार्फत लघुकथालाई जीवन्त बनाएर प्रस्तुत गर्न सकिन्छ ।


गोमविक्रम :  स्मरणीय लागेको नेपाली लघुकथा ?

रचना शर्मा : मलाई लागेको उत्कृष्ट लघुकथाहरूमध्ये लघुकथाकार दुर्लभलाल सिंह (वि.सं.१९९२ - वि.सं. २०४५) को लघुकथा सङ्ग्रह ’झुलभित्रको मान्छे’ (२०३७) को पेज नं. १६ बाट लिइएको लघुकथा ’टोपी’ पनि एक हो । यस लघुकथालाई मैले अभिनयमा पनि प्रस्तुत गरेकी छु ।

उक्त लघुकथा यस्तो रहेको छ : -

टोपी

सिंहदरबारको एउटा कार्यालयमा एउटा टोपी टेबुलमाथि राखिछाडेको छ । तर त्यहाँ त्यो टोपीको मालिक छैन ।

टोपीको मालिकलाई भेट्न एकजना विदेशी एक दुई पटक त्यहाँ पस्यो पनि । टोपीको मालिकसँग भेट नहुने भयो भनी त्यो विदेशी अर्को अफिसमा गयो । त्यहाँ उसले टोपीको मालिकलाई खुट्टा तन्काएर चुरोट तान्दै गफ गरिहेको पायो ।

त्यहाँबाट फर्केको त्यो विदेशीसँग मेरो भेट भयो । यताउताको कुरा सकेपछि त्यो विदेशीले हाँसेर मलाई भन्यो, “तिम्रो सिंहदरबारमा टोपीले पो राज गर्दो रहेछ ।“

मलाई जवाफ दिन मन लाग्यो तर जवाफ नआएर चूप लागें ।


यो लघुकथा स्मरणीय लाग्नुको कारण, नेपाली लघुकथाको क्षेत्रमा यो लघुकथा एउटा मानक लघुकथाको सूचीमा रहेको छ । यस लघुकथामा विदेशी पात्रका सहायताले विदेशका कर्मचारी र नेपालका कर्मचारीबिचको कार्यशैलीको भिन्नतालाई छुट्याइदिएको छ । कार्यालयमा उपस्थितिको नाउँमा नेपालका धेरैजसो सरकारी कर्मचारीहरू टोपी मात्र कार्यस्थलमा राखेर आफू मोजमस्तीतिर लागेका हुन्छन् भन्ने यथार्थलाई दह्रो व्यङ्ग्य प्रहार गरेको छ ।


गोमविक्रम :  लघुकथाका समृद्धिका लागि कस्तो खालको साहित्यिक अभियानले विशेष काम गरेको देख्नु हुन्छ ?

रचना शर्मा : लघुकथाको समृद्धिका लागि भनेर हिजोआज फेसबुकमा लघुकथाका धेरै पेजहरू खुलेका छन् । विभिन्न पेजहरूबाट हरेक दिन लाइभ मार्फत् लघुकथाका बारेमा छलफल, वाचन, समीक्षा आदि भइरहेका छन् ।

पत्रपत्रिका तथा अनलाइन पेजहरूले पनि लघुकथाको प्रसारणमा मद्दत पुर्‍याएको छ । रेडियोबाट पनि विभिन्न सर्जकका लघुकथाहरू प्रसारण भइरहेका छन् । लघुकथाको बारेमा कहिलेकाहीँ भौतिक उपस्थिति भएर ठाउँठाउँमा त्यसैका बारेमा चर्चापरिचर्चा तथा बहस कार्यक्रमहरू पनि सञ्चालन भइरहेका छन् ।


..साथ सहयोगको खाँचो


No comments:

Post a Comment