Monday, June 17, 2024

लघुकथा (अङ्क १३ मा प्रकाशित)

मुचुल्का

- भुवन आदिम तिमिल्सिना
झापा  


हुर्हुरी आगो बल्यो । पानी खन्याउने हातहरु आगलागीको ब्रेकिङ न्यूज बनाइरहेका थिए । रत्नबहादुरको हार-गुहार घनाजङ्गलको तुरतुरे धारो बराबर भयो । हेर्दाहेर्दै  आगोका लप्काभित्र घर यसरी होमियो मानौँ भुमरीभित्रको पतिङ्गर ।

जीवनभरको कमाइबाट उत्तरार्धमा तयार पारिएको घर आँखैअघि दनदनी बल्दैगर्दा रत्नबहादुरलाई अचानक भाउन्न भयो । रिँगटा लाग्यो । कालो धुवाँको छायाँमा ऊ कुहिरोको कागजस्तो रनभुल्लमा पर्‍यो । सपनाहरुको पहाड खसेर आफैमाथि थुप्रिएपछि सपना पनि डङ्गुर बन्दोरहेछ । नियतिको बज्रले उस्को जीवनको प्रतिमा शिरदेखि पाउसम्म चिरिदियो । 

पोहोर सालमात्रै पत्नी गुमाएको उसले बड्दा छोरीहरुको शरीर ढाक्ने एक टालो कपडासमेत पनि जोगाउन सकेन । बर्खाको घाम, झरी, हिउँदको कठ्याङ्ग्रिदो सिरेटो अब कसरी बित्ने हो ? सकियो, सबै त सकियो । सायद उसले यही सोच्यो । होस हवास गुमाएको पागलझैँ एकोहोरो भएर उसले खरानीको थुप्रोमा हेरिरह्यो ।

केहीक्षणमा सामाजिक सञ्जाल आगलागीको घटनाले भरियो । कमेन्ट बक्समा बिचरा, कठैबरी लेख्नेको ताँती लाग्यो । धुवाँ फैलियो सायद, छरछिमेकी आए, खरानीको साक्षी दमकल आयो, प्रहरी आए । सर्जमिन गर्नै पर्‍यो, मुचुल्का उठाउनै पर्‍यो । आगलागीको सम्भाव्य कारण सोधियो । कसैमाथि शंका ...?  सोधियो । कति तोला सुन थियो ? चाँदी कति थियो ? नगद पैसा कति थियो ? अरु के के कति कति थियो ? सोध्नै पर्‍यो, सोधियो । यसरी सोधियो मानौँ अब केहीबेरमै सरकारले सबथोक भरपाई गरी दिनेवाला छ ।

ती यावत प्रश्नहरुको सारमा रत्नबहादुरले यत्ति बुझ्यो कि आखिर ’के थियो ?’ उसलाई थाहा थियो यो सर्वनाशको भरपाई अब कहीँ कतैबाट पनि हुनेवाला छैन । सपनाका सिन्का सिन्का जोडेर बनाएको गुँड हुण्डरीले उडाएर कहाँ पुर्‍यायो पुर्‍यायो । 

उसले मलिन स्वरमा एउटै जवाफ दियो, “यो घरभित्र मेरो खुसी थियो । सक्नुहुन्छ भने मेरा खुसीहरु खरानी भएको मुचुल्का उठाइदिनु होला सर ।’’  


...साथ सहयोगको खाँचो

 

No comments:

Post a Comment