Sunday, June 16, 2024

लघुकथा (अङ्क १३ मा प्रकाशित)

 केको तिर्छेस् ?

- शशीश्री आचार्य
बौद्ध, कुमारीगाल, काठमाडौँ    



म र आमा आज ठूलो बुवाको घर हिंड्यौं । धेरै दिन भएको थियो, घरमा मासु नपाकेको । हामी धेरै छोरीहरू भएर बाबाले जति दुःख गर्दा पनि हप्तै पिच्छे मासु खुवाउन सक्दैन थिए । म जेठी छोरी सरिता, मासु भनेसी भुतुक्क हुन्थे, मलाई मासु अति मन पथ्र्यो । त्यसैले शनिबारको दिन ठूलो बुवाको घरमा मासुभात खान पाइन्छ भनेर आमासँगपछि लागेर गएँ । मेरो आमा कान्छी बुहारी हुनुहुन्थ्यो । त्यसैले सबैलाई मान गर्नुपथ्र्यो । हामी ठूलो बुवाको घर पुग्यौं । साँच्चै भित्र पस्ने बित्तिकै खसीको मासु पकाएको बास्ना मेरो नाकले थाहा पायो । म मनमनै खुसीले गदगद भएँ । अब आज मासुभात टन्न खान पाइने भयो भनेर । मेरो मन र आँखै चाहिँ त्यै भान्छामा गयो । ठूलो बुवाको पूरै सन्तान थाल भरी पोखरेली मसिनु, अझ भन्नुपर्दा त लामो चामलको भात हालेर कचौरा भरी झोल हालेको मासुमा बोसो टल्कने, मजाले बसेर खाँदै थिए । मैले टक्क त्यसैलाई हेरी रहें । 

हामी आमाछोरीलाई देख्ने बितिक्कै सबैजनाले ठुस्स अँध्यारो अनुहार लगाए । ठूलो बुवाले आमालाई बोलाएर भित्रको कोठामा लानु भयो । म पनि त्यतै गएँ । अनि आमाले ठूलो बुवालाई भन्नुभो, दाजु मेरा बच्चा भोकै छन्, आजकाल अन्नको अनिकाल लागेको छ मेरो घरमा । हजुरको भाइ होइसिन्न, उनले कमाउँथे र पो ! घर चलेको थियो । जसरी पनि खुवाउँथे तिनले तर मैले सकिन दाजु, यसो दुई हजार जति सापट पाए अलि दिनलाई रासन पुग्थ्यो की ! दाजु, हजुरले दुई हजार जति दिस्यो भने म काम पाएसी तिर्ने थिएँ ।

ठूलो बुवाले भन्नुभो, ॅॅकसले यतिका सन्तान जन्माउनु भनेको थियो? तिमीहरूको मैले ठेक्का लिएको छु र? जन्माउन जान्नेले खुवाउन पनि जान्नु पर्‍यो नि ! न तेरो लोग्ने छ न त काम गर्न सक्ने बच्चाहरु नै छन् । यस्ता खानाका काल धोक्रेहरुलाई खुवाउन पैसा माग्न आकी लाज नपचेकी’’ भन्दै आमालाई ठूलो ठूलो स्वरले धेरै गाली गर्नु भो फेरि थपे, ॅॅन तेरो  कमाई छ न त कुनै आधार के साक्षी राखेर दिनु मैले तिमीलाई पैसा ! छैन जा केको तिर्छेस्? मेरो दुई हजार न तेरो समाउने हाँगो छ न त टेक्ने लौरो... तिमी आमाछोरी गइहाल यहाँ बाट, आज मेरो घरमा पाहुना आउँदैछन् । तिनीहरू आउनुभन्दा अगाडि गइहाल’’ भनेर ठूलो बुवाले आमालाई र मलाई धकालेर बाहिर निकल्दिनु भयो । आमा रुँदै रुँदै मलाई हातमा समातेर आफ्नै डेरातिर फर्कनु भयो । हामी आमाछोरी आफ्नै डेरामा रुँदै रुँदै साह्रै दुःखी मन लगाएर फर्कियौं ।


...साथ सहयोगको खाँचो

No comments:

Post a Comment