Friday, November 8, 2024

अन्तर्वार्ता (अङ्क १७ मा प्रकाशित)


****************************************************************************************************
नेपाली लघुकथाकाका सृजनशील दिव्य गिरीको जन्म वि.सं. २०११  कार्तिक ७ गते ललितपुर, इमाडोलको बाक्लोगाउँमा आमा मिनु गिरी र पिता भरत गिरीको पहिलो सन्तानको रुपमा जन्म भएको हो । 

त्रिभुवन विश्वविद्यालयको आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (सेडा)बाट अवकाशप्राप्त दिव्य गिरीले २०३२ सालमा नै गुलाफ रहेछ कागजको कविता प्रकाशन गरी लेखनीमा प्रवेश गरेका हुन् । हालसम्म उहाँका बाह्र वटा कृति प्रकाशित भइसकेका छन् । अन्य केही प्रकाशन हुने क्रममा रहेका छन् । उहा“ले २०३७ सालदेखि २०३९ सालसम्म सौरभ साहित्यिक द्वैमासिकको सहसम्पादन समेत गर्नुभएको थियो ।

गिरी, अन्तरराष्ट्रिय नेपाली साहित्य समाज, नेपाल च्याप्टरको उपाध्यक्ष, नेपाल मुक्तक प्रतिष्ठान, काठमाडौँको सदस्य हुनुहुन्छ । त्यस्तै नेपाल स्रष्टा समाज, काठमाडौँको आजीवन सदस्यसमेत हुनुहुन्छ । विशिष्टकथा सम्मानद्वारा सम्मानित गिरी विभिन्न पुरस्कारबाट समेत पुरस्कृत हुनुहुन्छ । दिव्य गिरीसँग त्रिचन्द्र प्रतीक्षाले गरेको छोटो कुराकानी ।

*******************************************************************************************************

तपाईंको साहित्यमा विशेष विधा के हो र किन लेख्नु हुन्छ ? केका निम्ति लेख्नु हुन्छ ?

दिव्य गिरी  :  मैले धेरै विधामा कलम चलाएँ । कविता, गजल, मुक्तक, लघुकथा, कथा, गीत, हाइकु र कहिलेकाहीँ संस्मरण पनि लेख्दै आएको छु । धेरै बाटो हिँडेपछि आफ्नो खास बाटो कुन हो भनेर चिन्न आफैलाई गाह्रो हुनेरहेछ । अहिले त्यही महसूस गरिरहेछु र आफूलाई कवि तथा कथाकार भन्न चाहन्छु । आत्मसन्तुष्टि र आफूलाई बचाइरहने अभिष्टको निम्ति लेखेको हुँ । 


कथा र जीवन दर्शनलाई दाँजेर कसरी हेर्नुहुन्छ ?

दिव्य गिरी  :  वास्तवमा जीवन दर्शन नै कथाको मुख्य विषय हो । जहाँ जीवन हुन्छ त्यहाँ कथा हुन्छ । जीवन छ र त कथा हुन्छ । त्यसैले जीवन र कथा सिक्काका दुई पाटा हुन् । कथा र जीवनलाई दाँजेर होइन कि एकाकार पारेर हेर्नसक्नु एउटा कथाकारको सफलता हो । आधुनिक नेपाली कथाका प्रणेता गुरूप्रसाद मैनालीको नासोलाई उदाहरणको रूपमा लिन सकिन्छ । 


यहाँको सन्दर्भमा कथा लेख्ने कुनै निश्चित समय र स्थान हुन्छ कि ?

दिव्य गिरी  :  मलाई खासै त्यस्तो विशेष समय र स्थान चाहिँदैन । मलाई कुनै विषय र घटनाक्रमले कथा लेख्न प्रेरित गर्छ तब म त्यसलाई कथाको रूप दिन्छु । कुनै कथा लेख्न महिनौं पनि लागेको छ भने कुनै कथा एकै पटकको लेखाईमा पनि पूणर्ता दिएको छु । उदाहरणको निम्ति हालसालै प्रकाशित मेरो कथासङ्ग्रह ईश्वरको अनुहारमा समावेस गरिएको ‘छुटेको साथी’ र ‘गुलाम’ कथालाई मैले एकै लेखाईमा पूणर्ता दिएको हुँ ।  

अहिले कविता, कथा र दर्शनलाई बुझेर लेख्ने वा रहरले लेखेर सामाजिक सञ्जालमा पोष्ट्याउने/कवि भनाउने चलन असाध्यै बढेर गएको छ यसलाई कसरी लिनु भएको छ ?

दिव्य गिरी  :  रचनालाई तत्काल जनमानससम्म पुग्ने सुविधा विज्ञान र प्रविधिले उपलब्ध गराइदिएको हो । लेख्ने बित्तिकै सामाजिक सञ्जालमा राखिदियो भइहाल्यो । पहिलेको जस्तो आफ्ना रचनाहरू प्रकाशन गर्न महिनौंसम्म पर्खिनु परेन । जहाँसम्म सामाजिक सञ्जालमा रचना राख्ने चलन असाध्यै बढ्यो भन्ने जिज्ञासा छ, मैले यसलाई सहज रूपमा नै लिएको छु । यो प्रथालाई अब कसैले रोक्न सक्तैन । व्यक्ति अधिकारको कुरा छ । आशा गरौँ राम्रा र उत्कृष्ट रचना पनि आउनेछन्, केही त आएका पनि छन् । 

                             उहाँका प्रकाशित कृतिहरू                                              
  1. कंकाल बस्ती (मुक्तकसङ्ग्रह-२०३८), 
  2. सागर लहर किनार (गजलसङ्ग्रह-२०५४), 
  3. धुनी तापेर (हाइकुसङ्ग्रह-२०६१), 
  4. अनामिका (कथासङ्ग्रह-२०६१), 
  5. स्वप्निल शिविर (मुक्तकसङ्ग्रह-२०६४), 
  6. हराएका इलाकाहरू (कवितासङ्ग्रह-२०७३), 
  7. भेडीगोठ र भेडो (कवितासङ्ग्रह-२०७३), 
  8. सम्झनामा शकुन्तला (सस्मरण-२०७७)
  9. भुईंकुहिरो (हाइकुसङ्ग्रह-२०७९),
  10. The Jubilant Play (Haiku-2079)
  11. ईश्वरको अनुहार (कथासङ्ग्रह-२०८०)
  12. पुत्लादहन (लघुकथासङ्ग्रह-२०८१)
-----------------------------------------------------------------------------------

वर्तमान कविता, कथा लेखनको समग्र प्रवृत्तिलाई कसरी हेरिरहनु भएको छ ?

दिव्य गिरी  :  समय सधैँ उस्तै रहँदैन । मानिसको इच्छा र आकाँक्षा पनि समयअनुरूप बदलिँदै जान्छन् । अब पहिलेको जस्तो ठूलाठूला साहित्यका पुस्तक पढेर बस्ने जो कोहीलाई पनि फुर्सद छैन । छोटो र मीठोतिर आकर्षण बढेको देखिन्छ । अहिले समय कटाउने माध्यम किताब होइन मोबाईल भएको छ, जसमा मनोरञ्जनका प्रायः सबैजसो सामग्री उपलब्ध छ । अब मान्छे फुर्सद भयो कि किताब होइन मोबाईल हेरेर बस्छन् । वर्तमान अवस्थामा साहित्यका प्रायः सबै विधा, नाटकलाई छोडेर, धेरै लेखिँदैछन्, राम्रा राम्रा कृति पनि आएका छन् । 


कविता र कथामा तात्विक भिन्नता के कस्ता हुन्छन् ? केही खुलाई दिनुहुन्छ कि ?

दिव्य गिरी  :  कवितामा जीवन, समाज वा समयको थोरै अंश अभिव्यक्त भएको हुन्छ तर कथामा जीवनको समग्र पक्षलाई विस्तृत रूपमा प्रस्तुत गरिएको हुन्छ । 


अहिले लेखिएका/छापिएका लघुकथाहरूको कमजोर पक्ष अथवा लघुकथाका चुनौतीहरू के-के होलान् जस्तो लाग्छ ?

दिव्य गिरी  :  साधारणभन्दा साधारण विषयलाई चयन गर्नु । चुनौती चाहिँ यसलाई स्तरीय बनाउनुमा छ । 


विश्व साहित्यको बजारसम्म नेपाली लघुकथालाई पुर्‍याउन के गर्न सकिएला ? 

दिव्य गिरी  :  नेपाली साहित्यलाई विश्व बजारमा लघुकथा लेखनलाई नै उच्चस्तरमा लैजाने पहिलो कुरा हो तर नेपाली भाषाको जुनसुकै कृतिलाई पनि अन्य भाषामा अनुवाद गर्नुपर्छ भन्दै आए पनि यो कार्य जटिल छ । 


पाठक शुभचिन्तकहरूलाई अब आउन लागेको नयाँ कोसेली कृति केही छन् ?

दिव्य गिरी  :  सम्भवतः धेरै वर्षदेखि अर्थात् चार दशकदेखि लेख्दै राखेको संस्मरण प्रकाशन गर्ने तयारीमा छु । 


साहित्यको कुन विधा यहाँलाई प्रिय लाग्छ अथवा पाठकले आफूलाई को हुँ भनेर बुझिदिए हुने थियो जस्तो लागेको छ ?

दिव्य गिरी  :  साहित्यका सबै विधा प्रिय लागेर नै होला अहिलेसम्म उपन्यास र नाटक, महाकाव्य र खण्डकाव्य बाहेक लेख्दै आएँ  र पनि मलाई पाठकले कवि तथा कथाकारको रूपमा चिनून् भन्ने ठान्दछु र आफैले पनि म कवि तथा कथाकार हुँ भन्दै आएको छु ।


.....साथ सहयोगको खाँचो

No comments:

Post a Comment