Friday, November 8, 2024

लेख (अङ्क १७ मा प्रकाशित)

 
नेपाली लघुकथाको दोस्रो चरण (सं. २०२०-२०३९) र 
यस चरणका प्रमुख लघुकथाकारहरू


यस चरणमा लघुकथाको उन्नति र विकास राम्रो भएको देखिन्छ । निकै समर्पित एवं प्रतिभासम्पन्न व्यक्तित्वहरूले लघुकथालेखनमा आफूलाई केन्द्रित तुल्याएका देखिन्छन् । नेपाली लघुकथाको जुन रूप र स्थिति १९९२ देखि २०१९ को कालावधिमा देखियो त्यो यस कालावधिमा भने नितान्त भिन्न देखिन्छ ।

आधुनिक नेपाली कथाको काल विभाजनअनुसार पनि वि. सं. २०२० देखि २०३९ सम्मलाई ’नवचेतनावादी युग’ भनिने गरिएको छ । यस कालमा कथाको विकास जुन द्रुत गतिमा भएको पाइन्छ त्यसैअनुरूप नै लघुकथाको पनि उन्नति भएको पाइन्छ । यस कालका युवाकथाकारहरू नै लघुकथाकारका रूपमा देखा पर्दै आएको पाइन्छ । तिनमा प्रमुख रूपमा विश्वम्भर प्याकुरेल, जगदीश नेपाली, सनत रेग्मी, अनिता तुलाधर, भाउपन्थी, ध्रुव मधिकर्मी, लव गाउँले, किशोर पहाडी, दुर्लभलाल सिंह, विनयकुमार कसजू, रमेश नेपाली आदि हुन् ।

यी कथाशिल्पीहरूका अतिरिक्त केही यस्ता कथाकारहरू पनि देखा पर्छन् जसले कम लेखेर पनि स्तरीयता कायम गरेका छन् । यस चरणमा फुटकर लेख्नेहरूको लामो सूची छ । धेरै लघुकथा लेख्नेहरूभन्दा फुटकर लेख्नेहरूकै कारण पनि यसको स्तरीयतामा उल्लेख्य वृद्धि भएको विचारणीय छ । नेपाली लघुकथाको उन्नत रूपको दिग्दर्शनका निमित्त यस चरणका प्रमुख लघुकथाकारहरूबारे संक्षिप्त अध्ययन प्रस्तुत छ ।


विश्वम्भर प्याकुरेल

नेपाली लघुकथा-साहित्यजगत्मा प्रतिनिधि वा प्रमुख लघुकथाकारहरूमध्ये यिनको नाम महत्वका साथ उल्लेख गरिन्छ । यिनले यस विधामा अनवरत कलम चलाइराखेका छन् । यिनको इन्द्रेणीको गुम्बजभित्र नामक लघुकथासङ्ग्रह वि.सं. २०२९ मा प्रकाशित भएको देखिन्छ । यिनको कथाप्रवृत्ति एवं विषयवस्तु मानसिक उद्वेग र मनोद्वन्द्वलाई जीवनका विसङ्गत स्थितिको पृष्ठभूमिमा प्रस्तुत गर्नु हो ।


जगदीश नेपाली (वि. सं. १९८०-२०३८)

नेपाली लघुकथाका राम्रा प्रतिभा जगदीश नेपाली वि. सं. १९८० मा सुनसरीमा जन्मे र वि. सं. २०३८ मा इहलीला समाप्त गरे । यिनका प्रकाशित कृतिहरूमध्ये जगदीश नेपालीका केही लघुकथाहरू (२०३९) निकै प्रसिद्ध रहेको छ। खलिल जिब्रानका कथाहरूबाट निकै प्रभावित भएका नेपालीका कथाहरूले समसामयिक काललाई जीवन्त तुल्याएका छन् । जगदीश नेपालीका लघुकथाहरू गुणात्मकतामा निबन्धको शैलीशिल्प लिएका र तिनले वैयक्तिक सामाजिक समस्या र आन्तरिक द्वन्द्वको प्रतिबिम्ब लिएका हुन्छन् । 


अनिता तुलाधर (२०१६)

वि.सं. २०१६ सालमा विराटनगरको मोरङमा जन्मिएका अनिता तुलाधर नेपाली कथासाहित्यका एक प्रतिभासम्पन्न नारीहस्ताक्षर हुन् । यस चरण अर्थात् नवचेतनावादी युगका प्रमुख लघुकथाकारहरूमा यिनको नाम आदरसहित लिइन्छ । यिनका कथाहरूले नेपाली साहित्यमा उल्लेख्य स्थान पाएका छन् । यिनका लघुकथा सङ्क्षिप्त हुनाका साथै मानवमनका भावनात्मक पक्षलाई चित्रण गर्छन् । यिनका निम्नवत् कथासङ्ग्रहहरू प्रकाशित छन्ः 

क. फुलु (२०३४), ख. रित्ती सहर (२०३५), ग. सूर्यग्रहण (२०४०) र घ. विडम्बना (२०४५) । यसमा फुलु (२०३४) लघुकथासङ्ग्रह हो ।

ध्रुव मधिकर्मी (२०१६)

ध्रुव मधिकर्मीको जन्म बाग्मती अञ्चलको भक्तपुरको बोलाछें टोलमा वि. सं. २०१६ मा भएको हो । यिनका प्रकाशित कृतिहरू हुन्- लघु (संयुक्त), सन्दर्भ समय, जिन्दगी र समय तथा बुद्ध कहीं छैन (लघुकथासङ्ग्रह २०५१) । लघुकथा लेखनको दृष्टिले यिनका प्रारम्भिक रचना त्यति प्रभावोत्पादक देखिदैनन्, तर पछिका कृतिमा सुधार पाइन्छ । यिनको अघिल्लो समयका लघुकथाहरूले व्यङ्ग्यात्मक शैलीमा व्यक्तिका क्षुद्रता, अमानवीयता र सामाजिक विकृतिहरूमाथि चोट गरेका छन् । यिनका यस्ता लघुकथाहरू बुद्ध कहीं छैन (२०५१) मा संगृहीत छन् । यिनका लघुकथाहरूमा भाषाको व्यङ्ग्यात्मकता विकसित हुँदै आएको छ ।


लव गाउँले (२०१६)

बाग्मती अञ्चलको काठमाडौँमा पर्ने बालाजुमाथिको फुडहुनामक ठाउँमा जन्मेका लवले आफ्नो साहित्यिक नाम लव गाउँले राखेका छन् । यिनका प्रकाशित कृतिहरू (कथासङ्ग्रह) हुन् - १. गाउँलेका मसिना कथाहरू (२०३७) र २. कालचक्र (लघुकथासङ्ग्रह २०४७) । गाउँलेका मसिना कथाहरूमा सङ्ग्रहीत लघुकथाहरूले यिनको लघुकथासम्बन्धी दृष्टिकोण ’लघु आख्यानभित्र भएको ऐक्यता’ लाई प्रमाणित गर्दछ । लव गाउँलेको ’लघु आख्यानभित्र भाव ऐक्यता’ कै आधारलाई लिएर यिनका रचना हेर्ने हो भने यिनका आफ्ना रचना अझ खार्नुपर्ने देखिन्छ । यिनका लघुकथाले क्षणविशेषलाई प्रधानता दिने गरेको छ भने मानसिक संवेगात्मकद्वारा परिचालित ब्यक्ति आवरणलाई राष्ट्ररी चित्रण गर्न सकेका छन् ।


किशोर पहाडी (२०१३)

वि. सं. २०१३ मङ्सिर २५ का दिन फर्पिङ, काठमाडौंमा जन्मिएका किशोर पहाडी नेपाली आख्यानविधाका एक स्थापित हस्ताक्षर हुन् । यिनका प्रकाशित कृतिहरू हुन्- क. घर-खण्डहर (२०३७), ख. बाँच्नु र बाँचेकाहरू (२०३७), ग. कथाकोण (२०४३), घ. विशुदाइ (२०४५), ङ. अध्याय (२०४७), च. किंवदन्ती (लघुकथासङ्ग्रह २०५२), छ. सहरमा बत्ती निभेको बेला (२०५३), ज. एकैसाथ हाँसौं (२०५५), झ. सर्वज्ञ र सेक्स (२०५५), ञ. लम्लम्ती दम (२०५६) । किशोर पहाडीका लघुकथाहरूमा अन्यहरूका जस्तै व्यङ्ग्यात्मकताको चेतनाले सञ्चालित प्रहारात्मक प्रवृत्ति छ । आधुनिक जीवनलाई प्रभावित पार्ने राजनीति, सामाजिक, आर्थिक पक्षका विकृतिहरू र अनाचारहरूको चित्रण सक्षमतापूर्वक यिनले गरेका छन् । 


विनयकुमार कसजू (२००४)

भगवतीटोल तानसेन पाल्पामा जन्मिएका विनयकुमार कसजू नेपाली लघुकथाफाँटका एक बलिया स्तम्भ हुन् । यिनका प्रकाशित लघुकथासङ्ग्रहहरू हुन्- क. पशुतन्त्र (२०३९), ख. लिस्नो, ग. थोपाथोपा । यिनका यी प्रकाशित लघुकथासङ्ग्रहको अध्ययनोपरान्त एउटा कुरा के प्रस्टिन्छ भने यिनको दृष्टि प्रगतिशील रहेको छ । फलतः यिनका लघुकथाहरूको विषयवस्तुको रूपमा आर्थिक शोषण, सामाजिक विद्रूपतादि समायोजित भएको हामी पाउँछौं । यिनका लघुकथाहरूमा आर्थिक शोषण, सामाजिक विषमता, व्यक्तिको पाशविक प्रवृत्ति आदिप्रति घोर आक्रोश व्यक्त गरिएको हुन्छ । यिनले आफ्ना लघुकथाहरूमा यदाकदा मिथकको सुन्दर प्रयोग गरेको पनि पाइन्छ ।


दुर्लभलाल सिंह (१९९३)

यिनी पनि नेपाली लघुकथाफाँटका एक बहुचर्चित व्यक्तित्व हुन् यिनले नेपाली भाषामै लघुकथा लेखेर प्रकाशित गराएका छैनन् तर आफ्नै कथाहरू (जो नेवारीमा रचिएका थिए) लाई नेपालीमा अनुवाद गरी वि. सं. २०३७ मा फूलभित्रको मान्छे सङ्ग्रह प्रकाशित गराएका छन् । यस सङ्ग्रहभित्रका लघुकथाहरूमा व्यङ्ग्यात्मकता पाइन्छ भने व्यक्तिको निरर्थक अभिमान र सामाजिक अन्यायप्रति आक्रामक रहेको अभिव्यक्ति पाइन्छ ।


रमेश नेपाली

यस चरणका प्रतिनिधि लघुकथाकारहरूमध्ये रमेश नेपाली पनि एक हुन् । यिनको एक लघुकथासङ्ग्रह पाटीकी बौलाही वि. सं. २०३२ मा प्रकाशित भएको छ । यिनले यस सङ्ग्रहमा सामाजिक विषयवस्तुलाई टिपी मानिसको संवेदना, दुर्नियति र बाँच्नुका तीता परिणामहरूलाई कथाको मूल विषय बनाएका छन् ।

यसरी हामी के थाहा पाउँछौं भने यस कालावधि (२०२०-२०३९) मा नेपाली लघुकथामा एक किसिमले समर्पित भएर नै लेख्ने कथाशिल्पीहरूका अतिरिक्त पुराना लेखक-साहित्यकारहरूले पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा नेपाली लघुकथा लेखनपरम्परालाई समृद्ध बनाउनमा महत्त्वपूणर् योगदान दिएका छन् । यस्ता योगदान दिने साहित्यकारहरूमा प्रमुख छन् ः अशेष मल्ल, इन्दिरा प्रसाई, नारायण तिवारी, प्रमोद प्रधान, महेश प्रसाईं, नकुल सिलवाल, विजय वजिमय, गोविन्द गिरी ’प्रेरणा’, विजय चालिसे, भाउपन्थी, तीर्थ श्रेष्ठ, रमेश विकल, ध्रुवचन्द्र गौतम, देवकुमारी थापा, परशु प्रधान, ध्रुव सापकोटा, गिरिराज आचार्य, ओममणि शर्मा, वनमाली निराकार, सनत रेग्मी, किशोर नेपाल, गोपाल पराजुली, कविताराम, रमेश गोर्खाली आदि । यी साहित्यकारहरूको संक्षिप्त परिचय एवं लघुकथाको वणर्न प्रस्तुत गरिँदै छ ।


अशेष मल्ल (२०११)

कोसी अञ्चलको धनकुटामा जन्मिने अशेष मल्लको नाम नेपाली साहित्यका पाठकहरूका निमित्त अपरिचित होइन । यिनको कलम मुख्यतः नाट्यसाहित्यमा निकै रमाएको देखिन्छ । फाटफुट अरू विधाहरूमा पनि बग्ने गर्दछ । लघुकथाको लेखनमा यिनको गम्भीरतापूणर् संलग्नता पाइन्छ। यिनी पनि एक सफल कथाकार हुनाले यिनका लघुकथा परिपक्व र राम्रा हुने गर्छन् । थोरै लेखेर पनि अत्यधिक महत्त्व राख्ने लघुकथाहरूका लागि यिनी सुपरिचित छन् । यिनका लघुकथाहरूले नेपाली लघुकथाको फाँटमा देखिएका लेखनपरम्परालाई समृद्ध तुल्याउनमा महत्त्वपूणर् योगदान दिएका छन् ।


इन्दिरा प्रसाई (२०१४)

वि.सं. २०१४ मा भारतको दार्जीलिङमा जन्मिने इन्दिरा प्रसाई मुख्यतः आख्यानसाहित्यमा रमाउने नारीहस्ताक्षर हुन् । इन्दिरा प्रसाईका यी कृतिहरू प्रकाशित रहेका छन् ः क. मन सायद उघंदैन (कथासङ्ग्रह), ख. विश्वामित्र (उपन्यास), ग. बयान (लघुकथासङ्ग्रह), घ. पौरखी पुरुष (सम्पादन) आदि । इन्दिरा प्रसाईका लघुकथाहरू संरचनागत भाषाका स्तरमा सुन्दर र पठनीय हुने गर्छन् । यिनका लघुकथाहरूको सङ्ग्रह बयान (२०५५) प्रकाशित छ । यिनले लघुकथाहरूमा प्रतीकहरूको मीठो प्रयोग गरेर वर्तमान विसङ्गति र मानवमनभित्रका रागात्मक अनुभूतिलाई सटीक किसिमले अभिव्यक्त गरेकी छिन् । यिनले व्यङ्ग्य र द्वन्द्वलाई लघुकथाको उपकरणका रूपमा प्रयोग गरेर संरचनागत विशेषतालाई अबाधित निर्वाह गर्ने सफलता प्राप्त गरेकी छिन् ।


नारायण तिवारी (२०११ पुस २९)

सुनसरीको सीतागन्जमा जन्मिने नारायण तिवारी नेपाली लघुकथाका लागि एक समर्पित हस्ताक्षर हुन् । यिनका प्रकाशित कृतिहरू हुन् ः क. सपनाहरू जिन्दगीका (मुक्तकसङ्ग्रह २०३९), ख. अस्थिपञ्जर (कथासङ्ग्रह २०५४) । यिनी भोगेका यथार्थलाई कथाका विषयवस्तु बनाउँछन् । यिनी काल्पनिक संसारमा विचरण गर्नुका सट्टा स्वयम्ले भोगेका मार्मिक यथार्थलाई कथामा लेख्छन् । समाज र देशमा अभाव, विपन्नता, विसङ्गति, विकृतिका विरोधमा यिनी आफ्ना कथाहरू उपयोग गर्न रुचाउँछन्, यस अर्थमा यिनी आधुनिकताका प्रबल समर्थक हुन् । नारायण तिवारी आफ्ना रचनाहरूका कारण मानवतावादी र प्रगतिशील चेत सम्पन्न कथाकारका रूपमा चिनिने तर्क दिन्छन् ।


प्रमोद प्रधान (२०१४)

यिनको जन्म विराटनगरमा भएको हो । यिनी नेपाली लघुकथाफाँटमा आफूलाई एक सजग एवं समर्पित लघुकथाकारको रूपमा चिनाउन सफल भएका छन् । सामाजिक यथार्थलाई आफ्नो कथाको विषयवस्तु बनाउने कथाकार प्रमोद प्रधानको कथामा सामाजिक विसङ्गतिको चित्रण पाइन्छ । यिनका लघुकथामा पनि व्यङ्ग्यचेतसहित समाजमा व्याप्त अन्याय र विषमताप्रति विरोध पाइन्छ । आडम्बरका यिनी विरोधी हुन् ।


महेश प्रसाई (२०१३)

विराटनगरका महेश प्रसाईंको जन्म भारतको मणिपुरमा भएको हो । यिनी प्रयोगवादी काव्यविधाका स्थापित र सफल कवि हुन् । कहिलेकाहीँ लघुकथा पनि लेख्ने गर्छन् । लघुकथाहरूमा यिनी व्यङ्ग्यात्मक भाषिक चमत्कार पैदा गर्दै वर्तमान विसङ्गतिहरूलाई उदाङ्गो पार्न चाहन्छन् । नेपाली लघुकथाको नवचेतनावादी युगमा लघुकथाको लेखनपरम्परामा यिनको लघुकथाले महत्वपूणर् योगदान दिएको छ ।


गोविन्द गिरी 'प्रेरणा' (२०१५)

नारायणी अञ्चल, मकवानपुर जिल्लाअन्तर्गत टेक्कुर भन्सारीमा वि. सं. २०१५ मा जन्मिएका साहित्यकार गोविन्द गिरी ’प्रेरणा’ ले नेपाली लघुकथाको विकासमा निकै महत्वपूणर् योगदान दिएको पाइन्छ । यिनी एकातिर आफू स्वयम् लघुकथालेखनमा समर्पित भए भने अर्कोतिर लघुकथाको अध्ययन तथा विकासका निमित्त लघुकथानामक साहित्यिक पत्रिकाको ४ अङ्कसम्म आफ्नो सम्पादनमा प्रकाशन गरे। लघुकथाको विकासयात्रामा पत्रपत्रिकाको योगदानको चर्चा गर्ने कुरामा ’लघुकथा’ को महत्वका साथ उल्लेख हुन्छ । जीवनलाई हेर्ने एक दृष्टिकोण कथा पनि हो भन्ने मान्ने साहित्यकार गोविन्द गिरी ’प्रेरणा’ का साहित्यका सबै विधागत अनेक कृतिहरू प्रकाशित छन् ।


विजय चालिसे (२००८)

आरुबारी, काठमाडौँमा वि. सं. २००८ मा जन्मिने विजय चालिसे पनि आख्यानविधाको कथासाहित्यमा निरन्तर कलम चलाइराख्ने साहित्यकार हुन् । यस चरणमा प्रकाशित यिनका लघुकथाहरूले नेपाली लघुकथाको विकासयात्राको रथलाई अगाडि बढ्नमा सक्दो मद्दत गरेको पाइन्छ ।


भाउपन्थी (२००१)

वि. सं. २००१ मा गुल्मी दिगाममा जन्मिने तिलकप्रसाद खनालको साहित्यलेखनको नाम भाउपन्थी हो । यिनी आख्यानसाहित्यको उपन्यास र कथाविधामा सुपरिचित छन् । यिनका प्रकाशित कथासङ्ग्रह एउटा आकारको बारेमा, सम्बन्ध, सत्ताच्युत, अद्यापिले नेपाली कथाजगत्मा स्वागत एवं लोकप्रियता पाएको छ । यिनका कथारचनाहरूमा सामाजिक विसङ्गति, राजनीतिक द्वन्द्व आदि विषयवस्तु कथ्यका रूपमा निरूपित भएको पाइन्छ । यिनका लघुकथाहरूले नेपाली लघुकथाका क्षेत्रमा राम्रो योगदान पुर्‍याएका छन् । लघुकथालेखनमा कम कलम चलेका समयमा यिनले त्यस लेखनमा राम्राराम्रा रचना दिएको पाइन्छ । यिनका लघुकथामा विघटनमुखी समकालीन समाज, मूल्य-मान्यताविहीनताले ह्रासोन्मुख भइरहेको व्यक्ति र उसको जीवनसङ्घर्ष चित्रित भएको हुन्छ । 


रमेश विकल (१९८५)

वरिष्ठ साहित्यकार रमेश विकलको जन्म (वि. सं. १९८५) कात्तिक भाइटीकाको दिन गोकणर् आरुबारी (हाल जोरपाटी) मा भएको हो । यिनी कथासाहित्यका उच्च प्रतिभासम्पन्न हस्ताक्षर हुन् । यिनका अनेक कथासङ्ग्रह र अन्य विधाका कृतिहरू प्रकाशित छन् । यिनको कलम कथा, नाटक, उपन्यास, यात्रावृत्त, निबन्ध तथा अनुवादमा बगेको पाइन्छ । यिनी मूलतः कथाकार नै हुन् । यिनका प्रकाशित केही कथासङ्ग्रहहरूकै मात्र उल्लेख यहाँ गरिँदै छ, यथा- नयाँ सडकको गीत, एउटा बूढो भ्वाइलेन, आज फेरि अर्को तन्ना फेरिन्छ, उर्मिला भाउज्यू, शव, सालिक र सहस्र बुद्ध, हराएका कथाहरू, तेह्र रमाइला कथाहरू (बालकथासङ्ग्रह), पञ्चतन्त्रका कथाहरू (बालकथासङ्ग्रह) आदि ।


यिनका कथा र लघुकथाहरूले सामाजिक यथार्थ, गरिबी, आर्थिक शोषण, राजनैतिक विचलन आदिलाई आफ्नो विषयवस्तु बनाएर सम्प्रेषित गरेका हुन्छन् ।


ध्रुवचन्द्र गौतम (२०००)

नेपाली आख्यानजगत्का प्रमुख प्रयोगधर्मी उपन्यासकार, कथाकार, नाटककार ध्रुवचन्द्रद्र गौतमको जन्म वि. सं. २००० मा नारायणी अञ्चल पर्सा जिल्लाको सदरमुकाम वीरगन्जमा भएको हो । यिनी वि. सं. २०२० देखि साहित्यसाधनामा मग्न छन् । यिनका प्रकाशित कृतिहरू हुन्- बालुवामाथि (उपन्यास २०२८), डापी (उपन्यास २०३६), कट्टेल सरको चोटपटक (उपन्यास २०३८), अलिखित (उपन्यास २०४०), स्व. हीरादेवीको खोज (उपन्यास २०४५), एक सहरमा एक कोठा (उपन्यास २०४६), उपसंहार अर्थात् चौथो अन्त्य (उपन्यास २०४९), दुबिधा (उपन्यास २०५१), अग्निदत्त+अग्निदत्त (उपन्यास २०५२), फूलको आतङ्क (सूत्रउपन्यास २०५४), बाढी (अनुभवन्यास २०५६), मौन (सूत्रउपन्यास २०५८), अँध्यारो द्वीपमा (कथासङ्ग्रह २०५७), सहस्राब्दीको अन्तिम प्रेमकथा (उपन्यास २०५६), संरक्षक (कथासङ्ग्रह २०५०), गौतमका प्रतिनिधि कथाहरू (सङ्ग्रह २०४४) र ध्रुवचन्द्रका एकाउन्न कथा (२०५८) ।

यस चरणमा यिनको कलमले सिर्जना गरेका लघुकथाहरूले नेपाली लघुकथाको विकासमा महत्त्वपूणर् योगदान दिएका छन् । यिनको प्रयोगवादी प्रतिभाले लघुकथालाई सूत्रकथाको रूपमा पनि स्थापित गरेको देखिन्छ । 


देवकुमारी थापा

नेपाली साहित्यका एक वरिष्ठ र कथाको विकासमा महत्त्वपूणर् योगदान भएकी नारीहस्ताक्षर देवकुमारी थापाको जन्म इ. सं. १९२८ मा भारतको खरसाङ, दार्जीलिङ (पं. बङ्गाल) मा भयो। यिनको कलमले अन्य विधाका कृति दिए तापनि मुख्य रूपमा कथा नै लेखेका छन् । यिनका प्रकाशित कथाकृति हुन्- एकादशी, रामको कथा, कुरुल्को, सेतो बिरालो, टपरी, वरपरबाट, कथाको बटुलो, जङ्गलको कथा, भोकतृप्ति, सुनपखेटी चरी, प्रलय प्रतीक्षा र देवकुमारीका प्रतिनिधि कया। कथामा सहजता, सरलता र सुगमतालाई मन पराउने कथाकार देवकुमारी थापाका लघुकथामा जीवनको विविध चित्र पाइन्छ ।


परशु प्रधान (२०००)

नेपाली कथासाहित्यका एक बलिया स्तम्भ तथा प्रतिनिधि कथाकारका रूपमा प्रतिस्थापित परशु प्रधान (परशुराम प्रधान) को जन्म पूर्व ४ नं. भोजपुर बजारमा संवत् २००० साल माघ ३० गते भएको हो । व्यक्ति र समाजको चरित्रलाई विषय बनाएर कथा रचना गर्ने यिनले लघुकथामा पनि आफ्नो त्यही कथाचेत निर्वाह गरेको पाइन्छ । आजको कथा अलिकति कविता हो, अलिकति निबन्ध हो, अलिकति रिपोतार्ज र अलिकति चरित्र हो भन्ने विचार प्रकट गर्ने साहित्यकार प्रधानका अनेक साहित्यिक कृतिहरू प्रकाशित छन् । यस नवचेतनावादी युगमा नेपाली लघुकथाको संवृद्धिमा विनका लघुकथाहरूले पनि एक विशेष योगदान दिएको पाइन्छ ।


ध्रुव सापकोटा (२००९)

यिनको जन्म कुशादेवी, काभ्रे जिल्लामा वि. सं. २००९ साउन ९ गते भएको हो र यिनी नेपाली कथासाहित्य एवं उपन्यास-साहित्यका एक उच्च सृष्टा हुन् । यिनको साहित्यिक यात्रा कथाबाट नै प्रारम्भ हुन्छ । उदाइनसकेको घाम (कथा) बाट यिनको साहित्यमा प्रवेश भएको देखिन्छ । यिनका प्रकाशित कथाकृतिहरू हुन्- प्रतिचक्रव्यूह, उच्चारण, नेपथ्य, हामी हाँसिरहेका छौं । यिनका लघुकथामा सामाजिक र देशज विकृतिहरूका बीच फसेको व्यक्तिको मनोद्वन्द्वको चित्रण पाइन्छ । 


ओममणि शर्मा (१९४४)

नेपाली लघुकथाको उन्नत चरण अर्थात् संवत् १९९२-२०३९ का बीच नेपाली लघुकथाको विकासप्रक्रिया एवं समृद्धिमा उल्लेखनीय योगदान पुर्‍याउने कथाकार ओममणि शर्माको जन्म मकवानपुर जिल्लाअन्तर्गत भीमफेदी, सुपिङमा इ. सं. १९४४ मा भएको हो र यिनको एक कथासङ्ग्रह छाप प्रकाशित देखिन्छ । आफ्नो जीवनमा देखेका, सुनेका, भोगेका अर्थात् अनुभव एवं अनुभूतिलाई आफ्नो कथाको विषयवस्तु बनाउन रुचाउने कथाकार शर्माको कथामा जीवनको विसङ्कत अवस्थाको चित्रण पाइन्छ । 


वनमाली निराकार (२००६)

यिनको जन्म लुम्बिनी अञ्चल, पाल्पाको ध्रुवघाटमा वि. सं. २००६ मा भएको हो । यिनको एक कथासङ्ग्रह कलेज रोड प्रकाशित छ । यस चरणमा नेपाली लघुकथाका लागि यिनको योगदान स्मरणीय छ । काठमाडौँ बाहिर बसोबास गरेर पनि नेपाली साहित्यको लघुकथालेखनमा यिनको निरन्तरता रहेको छ । यिनका लघुकथामा पनि आफ्नो समकालीन जीवनका विसङ्घति, विकृति र विडम्बनाहरूप्रति व्यङ्ग्यात्मक आक्रमण पाइन्छ । 


सनत रेग्मी (२००४)

नेपाली साहित्यमा मानवतावादी विचारलाई आफ्नो कथालेखनमा प्रयुक्त गर्ने कथाकार सनत रेग्मी आञ्चलिकतालाई पनि प्रधानता दिएर कथा लेख्नमा दक्ष छन् । मानवीय संवेदनालाई कथाको विषयवस्तु बनाएर कथागत तानाबाना बुन्ने कथाकार सनत रेग्मीको जन्म वि. सं. २००४।६।६ मा भेरी अञ्चलको नेपालगन्जमा भएको हो । यिनको कथासाहित्यको सुरुआत हिन्दी कथालेखन औरतकी पीडाबाट भएको देखिन्छ । यिनका प्रकाशित कृतिहरू हुन्- मातृत्वको चीत्कार (२०२४), दिनान्त (२०३५), बन्द कोठाहरूको सहर (२०४५), लछमनियाको गौना (२०५१), समय सत्य (२०५४), सनत रेग्मीका प्रतिनिधि कथाहरू (२०६०) । आजको कथामा आजको मान्छेको सिङ्गो चित्रण र उसको मानसिकताको अन्तद्र्वन्द्व, विचार र उसका यावत् पक्षको चित्रण संवेदनशील भएर गर्नु आवश्यक हुन्छ । यिनका लघुकथाहरूमा पनि यस्तै प्रकारका चित्रण सफलतापूर्वक गरेको पाइन्छ । सनत रेग्मीले लघुकथाको समृद्धिमा गरेको योगदान पनि उल्लेखनीय रहेको छ ।


गोपाल पराजुली

यिनको जन्म वि. सं. २००५ मा कोटेश्वर काठमाडौँमा भएको हो । यिनको कलमबाट साहित्यका विविध विधागत कृतिहरूको लेखन तथा प्रकाशन भएको देखिन्छ । कविता, कथा, एकाङ्की आदिमा कलम चलाउने साहित्यकार गोपाल पराजुलीका निम्नवत् कृतिहरू प्रकाशित छन्- गोलार्द्धका दुई छेउ (एकाङ्कीसङ्ग्रह), पृथ्वीमाथि आलेख (काव्य), अर्को दिशा (कथासङ्ग्रह) र देशमाथि आलेख (काव्य)। कथा भनेको मानवीय प्रकृतिको अवलोकन हो भन्ने अवधारणा बोकेका गोपाल पराजुलीले नेपाली साहित्यको नवचेतनावादी युगमा केही लघुकथाहरू पनि लेखेका छन् ।


रमेश गोर्खाली (२०१०)

यिनको जन्म बाग्मती अञ्चल काठमाडौँको मरुटोलमा वि.सं. २०१० मा भएको हो । यिनी वर्तमानमा निबन्ध र समीक्षालेखनमा नै आफूलाई केन्द्रित गरी साहित्य साधनामा लागेका छन् । हाल वीरगन्जमा बसोबास गर्ने साहित्यकार रमेश गोर्खालीका यी कृतिहरू प्रकाशित छन्- मूक आत्माको अन्तध्र्वनि (शोककाव्य), तिमी हाँसिदेऊ म गीत गाउँछु (कथासङ्ग्रह), पत्थर (उपन्यास), रचनाको अभिव्यक्ति (समालोचना)। यिनी लघुकथामा समर्पित साहित्यकारचाहिँ अवश्य होइनन् तर फाटफुट लघुकथा लेख्ने गर्छन् । यस कालमा पनि यिनले केही लघुकथाहरू लेखी लघुकथाको विकासयात्रामा सामेल भएका छन् ।

यस नवचेतनावादी चरणमा उदाएका कथाहरू तथा तिनबाट लिखित कथाहरूमा लघुकथाका संरचनागत आवश्यक तत्त्वहरू पूणर् रूपमा समावेश हुने गरेको पाइन्छ । यस चरणमा अशेष मल्ल, इन्दिरा प्रसार्इं, नारायण तिवारी, प्रमोद प्रधान, महेश प्रसार्इं, नकुल सिलवाल, विजय वजिमय, गोविन्द गिरी ’प्रेरणा’, विजय चालिसे, भाउपन्थी, तीर्थ श्रेष्ठ, हरिगोविन्द लुइँटेल, प्रेम विरही, अमर शाह, पूणर्लाल चुके, रमेश विकल, प्रकाश प्रेमी, ध्रुवचन्द्रद्रगौतम, देवकुमारी थापा, परशु प्रधान, ध्रुव सापकोटा, गिरिराज आचार्य, ओममणि शर्मा, वनमाली निराकार, सनत रेग्मी, विशाल नेपाल, गोपाल पराजुली, कविताराम, विजय सागर, रमेश गोर्खाली, विश्वमोहन श्रेष्ठजस्ता प्रतिभाहरूले पनि सीमित सङ्ख्यामा भए पनि लघुकथाहरू लेखेर परम्परालाई सुदृढ तुल्याउन महत्वपूणर् योगदान दिए । लघुकथाको इतिहास निर्माणको क्रममा लघुकथाको विशिष्ट स्वरूपलाई किटान गर्न नसकेर असमर्थतावश क्षणिक ठट्यौली वा बसिबियाँलोलाई समेत लघुकथाभित्र समेट्ने भ्रष्टता भएको स्वीकार्य हुने कुरो होइन । दुई दशकको यस कालमा पनि यस्तो कृत्रिम अस्वाभाविकता देखिएको पाइन्छ तापनि समग्रमा हेर्दा नेपाली कथाको इतिहासमा यस कालमा नवीन मूल्य र परम्पराप्रति कथाकारहरूको जुन मोह र आकर्षण देखा पर्‍यो, त्यसको प्रभाव लघुकथाजगत्मा पनि पर्न गयो र एउटा स्वतन्त्र विधाको रूपमा स्थापित हुन पुग्यो । यो काल लघुकथाको उत्थानकाल हुनुका साथै लघुकथाको यात्राले अनेक चरण पार गर्दै सार्थक रचनाहरू पाएको चरण पनि हो । यसरी लघुकथाले परिपूणर्ताका साथै आफ्नो आधुनिक स्वरूप र रचनागत तथा नवपरम्परा पनि प्राप्त गर्‍यो । यसै चरणमा नेपाली साहित्य विशेषतः कथासाहित्यका सिद्धहस्त हस्ताक्षरहरूको कलमले लघुकथाको महत्वपूणर् रचना सिर्जन गरेर अर्थपूर्ण योगदान दिएको पाइन्छ ।


‍‍.....साथ सहयोगको खाँचो


No comments:

Post a Comment