मेरो साहित्यिक लेखनयात्रा २०४७ सालदेखि नै सुुरु भए पनि पत्रिकामा प्रकाशित पहिलो रचनाका रुपमा महानगर दैनिकमा २०५० साल चैत्रमा कति साह्रो दुख्छ मुटु शीर्षकको गजल प्रकाशित भएको हो । हालसम्म कथा, कविता, समालोचना र संस्कृति विषयमा दर्जनभन्दा बढी मेरा विभिन्न कृतिहरु प्रकाशित भइसकेका छन् ।
मेरो लेखन कसले के लेख्यो र के लेखेनसँग आधारित छैन । मैले आफ्नो बौद्धिकता, प्राज्ञिकतालाई कलात्मक रूपमा आफ्ना सिर्जनामार्फत् प्रस्तुत गर्ने गरेको छु । साहित्य समाजको दर्पण भएकाले त्यसमा समाजको प्रतिबिम्ब झल्किनु पर्दछ भन्ने मेरो मान्यता छ । सुरुमा आत्मसन्तुष्टिका लागि लेखियो । अहिलेको लेखनमा आत्मसन्तुष्टि भन्दा पनि समाजप्रतिको जिम्मेवारी बोध भएको महसुस भएको छ । मैले मेरो लेखनमार्फत् समाजका विकृति विसङ्गतिप्रति कलम चलाएको छु । समाज रुपान्तरणमा अग्रणी भूमिका निर्वाह गर्नु नै मेरो लेखनको मूल मर्म हो ।
आफूले अनुसन्धान र सिर्जना गरेका कृतिबाट लेखक स्वयम् सन्तुष्ट हुन सक्नुपर्छ भने पनि सिर्जनाको भोक झन बढ्दो रहेछ । फलस्वरुप दिन प्रतिदिन लेखकीय दायित्व बढिरहेको देख्दछु । त्यसैले थप जिम्मेवारी बोध गरेर मैले आफ्नो लेखनयात्रालाई अगाडि बढाएको छु । लेखनकार्यबाट कहिल्यै सन्तुष्टि प्राप्त नहुने हुँदा मेरो लेखन क्रम पनि त्यही क्रममा अगाडि बढिरहेको छ ।
सबै स्रष्टाले पाठकका मन छुने साहित्य रचना सिर्जना गर्ने प्रयास गरेका हुन्छन् नै । त्यस्तै, मैले पनि मन छुने साहित्य सिर्जनामा आफूलाई केन्द्रित गर्ने प्रयास गरेको छु । मानव मनलाई प्रेरित गर्ने सिर्जना लेखिनुपर्दछ भन्ने मलाई लागेको छ । त्यसैले पछाडि परेका, दबाइएका भुइँमान्छेको स्वर मुखरित हुने, सुधारात्मक तथा सकारात्मक सोच बढाउने, सार्थक र सान्दर्भिक लेखनतर्फ मेरो मन आकृष्ट भएको छ ।
मलाई कोरा कल्पनामा भन्दा बढी यथार्थ लेखन उत्कृष्ट लाग्दछ । त्यसैले मैले पछिल्लो समयको लेखनमा काल्पनिकता कम र यथार्थतामा बढी जोड दिन थालेको छु । जब कुनै विषयमा लेखौँलेखौँ लाग्छ, त्यतिबेला आफूलाई नलेखी चित्त बुझ्दैन । समय सन्दर्भमा कति कुरा लेख्न नपाउँदा मलाई पछुताउ पनि लागेको छ । त्यसैले, समयमा नै लेख्नुपर्ने बाध्यताको समेत मैले महसुस गरेको छु । पछिल्लो समय हाम्रो कलासंस्कृतिप्रति बढ्दो उदासीनता र वितृष्णाका कारण मैले कलासंस्कृतिको खोजमा आफूलाई थप जिम्मेवार ठान्दै त्यसतर्फ सक्रियरुपमा लागेको छु । आफ्नो पहिचान र अस्तित्वका लागि लड्नु हामी लेखकको पनि मूलधर्म भएका कारण मैले संस्कृतिको संरक्षण र जगेर्ना गर्ने कार्यतर्फ मेरो कलम अगाडि बढाएको हुँ ।
....साथ सहयोगको खाँचो
No comments:
Post a Comment