Showing posts with label अम्बिका धिताल. Show all posts
Showing posts with label अम्बिका धिताल. Show all posts

Wednesday, November 26, 2025

लघुकथा (अङ्क २९ मा प्रकाशित)


"ए बाबा ! यो पुरानो झोला किन अझै पनि राख्नु भएको ?” त्यो च्यातिएको र माटोको गन्ध लागेको झोलातिर हेर्दै छोरो मनिषले सोध्यो ।

– बाबुले मुस्कुराउँदै भने, “यो झोलामा मेरो आधा जीवन छ, छोरा ।”

– “जीवन झोलामा ?” मनिष हाँस्यो, “बाबा, अहिले त सबै कुरा मोबाइलमा हुन्छ, कागज, पत्र, फोटो सब डिजिटल ।”

– बाबाको अनुहारमा सम्झनाको बादल मडारियो – “त्यो झोलामा मेरो पहिलो नियुक्ति पत्र छ, तिम्रो जन्मको खबर आएको पत्र छ, आमाको अन्तिम सम्झना छ छोरा ।”

– मनिष फेरि केहीबेर मौन रह्यो – “तर बा, अब त तपाईंलाई यी पुराना कुरा बोक्नु पर्दैन नि ।”

– बाबा हाँसे, “तिमीहरूले भन्ने कुरा यही हो पुराना मान्छे, पुराना मूल्यहरू, पुराना कुरा … सबै फाल्नुपर्छ भनेर । त्यो झोला म फाल्दिन, छोरा ।”

– “किन बाबा ?”

– लामो सास फेर्दै  बाबा बोल्नुभयो, “किनभने म आफैँ पनि अब त्यसैसँग फालिने पुरानो झोला बन्दै छु ।”

– मनिषको नजर झोलाबाट बाबातिर र बाबाबाट झोलातिर गएर रोकियो । मनिषलाई लाग्यो, झोलामा माटोको गन्ध होइन, मनको न्यानोपन पो बाँकी रहेछ ।

– मनिषले भन्यो, ”बाबा ! ‘झोला’ त केवल वस्तु होइन, हजुर स्वयंको जीवन रहेछ है !”

- कमलविनायक, भक्तपुर

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Thursday, June 5, 2025

लघुकथा (अङ्क २४ मा प्रकाशित)


धैरै उकुसमुकुस भएको थियो मन । यही मन मस्तिष्कमा उब्जेका  अनेकौँ भावलाई मूर्तरुप दिन मात्र के टुसुक्क बसेकी थिएँ । उसले झिमिक्क आँखा झिम्क्यायो । 

मैले भनेँ, “म पानीपानी भएको छु । मलाई नसताऊ, एकैछिन बग्न देऊ । त्यसपछि तिमी गएपनि म आराम गर्छु ।”

ऊ बोल्यो, “मेरो पनि कहाँ रहर छ र साथ छोड्ने तर….”

साथ छोड्ने कुराले म रन्थनिँदै बोलेँ, “के तर… हामीलाई त तिम्रो चमकको  हरक्षण खाँचो छ । तिमी बिनाको अबको संसारको म कल्पना नै गर्न सक्दिन ।” 

बिजुली आवेगमा आएर बोल्यो, “ब्रह्माण्ड रहेसम्म सबैलाई उज्यालो दिएर बाँच्न चाहन्छु तर यहाँ भएका स्रोत र साधनको सही सदूपयोग नगरी  आज अकालमा मेरो हत्या गरिँदैछ.. हत्या…”

– नमोबुद्ध हालः कमलविनायक भक्तपुर

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Sunday, March 30, 2025

लघुकथा (अङ्क २२ मा प्रकाशित)


'न छ्याप् है पानी, म त अहिले फेरि ममीलाई भनिदिन्छु नि’ सुमिनाले  सुप्रिमसँग आग्रह गरी ।

‘तैँलेचाहीँ अघि कसरी भिजाएकी थिइस् नि, भन्दे को डराउँछ र ? तँ ठुली होस् भन्दैमा जे गरे पनि हुने हो र । भन्देभन्दे जा ।’  भन्दै सुप्रिमले लखेट्दै सुमिनालाई पानी छ्याप्दै थियो । 

कौसीको अलिपर आमा र ममी बत्ती कातेर बस्नुभएको थियो । यी दुई दिदी भाइको कुरा सुनेर हजुरआमाले भन्नुभयो, ‘बिस्तारै खेल । झगडा गर्ने होइन है तिमीहरू ।’

‘हुन्छ आमा झगडा कहाँ गर्‍या हो र ? हामीले होली खेल्या नि ।’  सुप्रिम बोलिहाल्यो । 

‘पानी बन्द गरौँ भाइ, अब रङ खेल्ने ।’  सुमिनाले मुस्कुराउँदै प्रस्ताव गरी ।

दुवैले सातवटै रङ निकाले र एकआपसमा रङ लगाइदिन लागे । सुमिनाले ममीको पछाडि लुकेको भाइलाई रङ लगाइदिन लागेको के थिई । एक पसर रातो रङले ममीको सिउँदो रङ्गियो ।

सुमिनाले भनि ‘आहा ! ममीलाई कति राम्रो सुहाएको । रातो रङ कहिल्यै लगाउनु हुन्न । अबदेखि लगाउनु है ममी ।’

ममीको आँखा रसायो । आमाले कड्किँदै भन्नुभयो ॅम भन्दै थिएँ । यता नआओ भनेर । दाग लागेन त ममीलाई ? जाओ तिमीहरू उता, उत्ताउलाहरू !’

सुमिना बोलिहाली, ‘आमा ! दाग त लुगा र रङ लगाउँदा  कहाँ लाग्छ र ? गलत चरित्रमा पो लाग्ने हो त । ममीले बुबा स्वर्ग जानुभएको यतिको पन्ध्र वर्ष भइसक्दा पनि आफ्ना कति रहर मारेर हजुरको स्याहार गर्दै हामीलाई यत्रो बनाउनुभयो । 

सुप्रिमले थप्यो, ‘अब हामी छौँ ममी साथमा ।  प्रतिकार गर्न सक्छौँ हामी । यहाँ अरबौँ भ्रष्टाचार गर्ने भ्रष्टाचारी, मान्छे र सुन तस्करी, देह बेच्नेलाई नलागेको दाग रातो सिन्दुरको टीका लगाउनेलाई कसरी लाग्दो रहेछ ?’

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Monday, March 17, 2025

लघुकथा समाचार


 

३ चैत्र, आइतबार

स्रष्टा साँझ अमेरिकाको आयोजनामा अम्बिका धितालको लघुकथासङ्ग्रह ‘जूनको जात्रा’को परिचर्चा कार्यक्रम आइतबार सम्पन्न भएको छ । उक्त परिचर्चा कार्यक्रममा डा. शेखर कुमार श्रेष्ठ, डा. कुसुमाकर शर्मा गौतम, इन्दिरा चापागाईं, दीपक लोहनी र मनीषकुमार शर्मा समित  परिचर्चाकार हुनुहुन्थ्यो ।

‘जूनको जात्रा’ को परिचर्चाकारहरूले कृतिभित्र समावेश गरिएका ६५ वटा लघुकथाहरूमा सामाजिक, राजनीतिक, शैक्षिक, सांस्कृतिक पक्षमाथि देखापरेका विकृति माथि व्यङ्ग गर्नुको साथै बालमनोविज्ञान लगायत विविध विषयवस्तुहरू समेटिएको बताउनु भयो ।

परिचर्चाकार इन्दिरा चापागाईंले लघुकथा सङ्ग्रहमा नारी पात्रको उपस्थिति राम्रो रहेको उल्लेख गर्दै लघुकथामा प्राकृतिक रूपले भरिपूर्ण नारीले अन्यायको विरुद्ध आवाज उठाएका थुप्रै लघुकथा रहेको साथै लघुकथामा समाजको प्रतिबिम्ब झल्किएको बताउनुभयो । लघुकथाका शीर्षकहरू आकर्षक र आकस्मिक र कुतूहलपूर्ण  हुनुका साथै समापन झट्कादार रहेकाले लघुकथा उत्कृष्ठ र पठनीय रहेको बताउनुभयो । वरिष्ठ साहित्यकार तथा लघुकथाकार डा. कुसुमाकर शर्माले अम्बिका धितालको जूनको जात्रामा आफूले अनुभव गरेका भोगेका समाज, घरपरिवार शैक्षिक र राजनीतिक क्षेत्रका यावत कुरालाई लघुकथाले समेटेको उल्लेख गर्दै समापन खण्ड एक वाक्यमा राख्दा लघुकथा अझै सशक्त बन्ने कुरा व्यक्त गर्नुभयो । त्यस्तै अर्का परिचर्चाकार दीपक लोहनीले भाव र विचारले युक्त लघुकथा नै कालजयी हुने र जूनको जात्रा लघुकथा सङ्ग्रहका  लघुकथाहरुमा भाव र विचार सँगसँगै आएकाले आजको समयमा लघुकथा लेख्नेहरुको भिडबाट अम्बिकाले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको कुरा बताउनुभयो ।

Sunday, March 2, 2025

साभार लघुकथा (अङ्क २१ मा प्रकाशित)


मुक्तक प्रतियोगितामा उनी प्रथम भए । बधाई दिनेको आइरो नै लाग्यो । लेख्न लागेको करिब दुई वर्ष जति मात्र भएको थियो । उनलाई जितेपछि आफूले संसार जितेकै अनुभव भइरहेको थियो । यसैबिच एउटा पत्रिकाले उनको केही मुक्तकसहित परिचयको विवरण माग्यो । उनले मुहारमा फूल फुलाउँदै मुक्तक पठाए । छोटो समयमा नै साहित्यकारको रुपमा नाम कमाइरहेको कुराले उनको मन मस्तिष्कमा खुशीका रङ्गहरू सल्बलाइरहेका थिए ।

पत्रिकाका सम्पादकले मुक्तक प्राप्त गरेपछि तीन छक परे । प्रतियोगितामा प्रथम भएको व्यक्तिको मुक्तक भन्दै एक पछि अर्को खुब चाख मान्दै पढे । जति जति पढ्दै गयो, उति नै उनी अचम्मित हुँदै गए । मुक्तक पढिसक्ने बित्तिकै उनले फोन लगाए, “प्रथम हुनुभएकोमा पुनः एकपटक बधाई छ तर आज तपाईंले पठाउनु भएको मुक्तकमा तुक र अनुप्रास केही मिलेको देखिएन त सर ?“

उनले हतारिएर जवाफ फर्काए, “तुक र अनुप्रास भनेको के हो र सर ? इन्टरनेटमा त यस्तै यस्तै मात्र छन् त मुक्तक ।”

---------------------------------------

.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Thursday, January 23, 2025

लघुकथा (अङ्क २० मा प्रकाशित)


तिसम्म छ समाजमा जस्तो लागेकै थिएन । यसको भेउ के होला ठान्दै म श्रीमान र छोरी बसेको कोठामा पुगेँ । श्रीमानको आवाज आयो, “आज किन तरकारीमा नुन नपुगेझैँ छ त अनुहार के भयो ?”

“यो लेख पढेर मलाई दिक्क लाग्यो ।” म नबोली बस्न सकिन ।

“के रहेछ र त्यस्तो अनुहार नै बिगार्नु पर्ने सुन्नपाए हुन्थ्यो नि !” बुढा उत्साहित हुँदै बोल्नुभयो ।

“छोरी मान्छेलाई महिनावारी हुँदा चुलोचौको र मन्दिर जान रोक लगाइएको, प्रसङ्गसहित एउटी नारीलाई छाउपडी गोठमा राखेको समयमा जङ्गली हात्तीको आक्रमणमा परेर ज्यान गुमाएको कुरा छ । अहिलेको यस्तो शिक्षित समाजमा पनि कस्तो विडम्बना क्या !” मैले यथार्थ ओकेलेँ ।

“यस्ता घटना हुन्छन् कतैकतै । छोड्देऊ बरू एककप तातो चिया खुवाउन ।” उहाँले प्रसङ्ग बदल्नुभएकाले म झर्किएरै बोलेँ, “दिमाख नै तातेको बेलामा के चिया पिलाउनु ? साक्षर घोषणा भएको जिल्लाको हालत यो छ ।”

उहाँ मुख बिगार्दै बोल्नुभयो, ”छोड्देऊ क्या ! स्थानीय सरकार छ । गरिहाल्छ नि केही ।”

“त्यही स्थानीय सरकारको कुरा पढेर त  मनमा आँधीबेहेरी चलेर म यहाँ आएकी ।” म बोलेँ ।

उहाँले अनुमान लगाउनुभयो, “के गरेछ स्थानीय सरकारले ? घर घरमा गई जनचेतना जगाउने र अनुगमन गर्ने अनि कसैले छाउपडी गोठमा महिलालाई राखेमा कानुनबमोजिम कारबाही गर्ने कुरा त होला नि । राम्रो गरेछ । अब चाँडै अन्त्य हुन्छ यो प्रथा ।

हत्तनपत्त म बोलेँ, “त्यसो भएको भए त घाम लागिहाल्थ्यो नि मुहारमा । स्थानीय सरकारले छाउपडी गोठमा राखेको समयमा महिलाको मृत्यु भएमा दस लाख दिने घोषणा गरेछ ।”

-कमलविनायक, भक्तपुर


--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Friday, December 27, 2024

अम्बिका धितालका तीन लघुकथा


 

फूल



कुसुम विद्यालयबाट घरमा आइपुग्दा आमाको अवस्था देखेर छक्क परिन् । किन आमाले औँसीको रातझैँ चेहरा बनाएर बस्नुभएको होला । “अरूदिन म आइपुग्ने बित्तिकै उज्यालो मुहारमा मेरो पोसाक परिवर्तन गरिदिने, हातगोडा धोइदिने र खाजा खानदिने गर्नुहुन्थ्यो” सोच्दै आमाको अनुहार पुन: नियालिन् ।

आज आमाले कुसुमलाई "लुगा फेरेर टेबुलको खाजा खाऊ" मात्र भन्नुभयो । न आमा हँसिलो हुनुहुन्थ्यो न बोलीमा मिठास नै ।

आमा यस्तो परिवर्तन हुनुभएको देखेर कुसुमलाई कौतूहलता जाग्यो। उनले निकै मिठास बोलीमा सोधिन्, "आमा, हजुरलाई के भयो आज? मलाई त हजुरको हातले हाँस्दै दिएको खाजा मात्र मिठो लाग्छ । हजुर आज किन रिसाउनुको भन्नुहोस् न ।”

आमा कड्किदै बोल्नुभयो , "अब तिमी ठुली भइसक्यौ आफैं झिकेर खाऊ । म सक्दिन तिमीहरू बाउछोरीको नोकर हुन ।जति काम गरेपनि यस्तै हो, म दिक्क भइसकेँ । कति बस्नु यो जेलमा काम गरेर मात्र ।"

कुसुम हत्त न पत्त बोलिन्, "ल ल आमा आज म हजुरलाई घुमाउन लान्छु । म अब सात वर्षकी ठुली भइसकेँ ।” भन्दै लुगा फेरिन् र आमाको हात तानेर घर नजिकैको बगैंचामा पुगिन्। आमाको मुखमा भने अझै घाम लागेको थिएन ।

कुसुमले बगैंचामा हाँस्दै फुलिरहेका रङ्गीचङ्गी फूल देखाउँदै भनिन्, "आमा यी फूलहरू कति राम्रा है?"

"अँ राम्रा छन्।" आमा मलिन स्वरमा बोल्नुभयो । कुसुमले पुन: थपिन्, "यी फूल सधैँ आफ्नै ठाउँमा बस्छन्, फूलेर छिट्टै झर्छन् । फेरि यिनीहरूले घाम, पानी, हावाहुरी, असिना सबै सहन्छन् तर पनि कत्ति राम्रा है, यी फूलहरू‌। किन कहिल्यैँ पनि नरिसाएका भन्नुहोस् न आमा ?"

Wednesday, December 4, 2024

लघुकथा (अङ्क १८ मा प्रकाशित)

 कस्तुरी

- अम्बिका धिताल
कमलविनायक भक्तपुर 


"के भयो आजभोलि बुबा ? तपाईंको मुहार धपक्कै बलेको देख्छु । यसको भेउ पाउन पाए म पनि खुसी हुन्थेँ ।” 

“तैँले थाहा पाइहाल्छस् नि ।” बुबा हाँस्नुभयो ।

मैले भनेँ “मानिसको मन पनि अचम्मको छ है बुबा ?”

“हो, मनमिटर घुमिरहन्छ, बुझ्नै गाह्रो ।” भन्दै टार्न खोज्नुभयो ।

यतिकैमा साइला काका आएर भन्नुभयो, “तँ यतिको पढेर पनि देशमै सीमित हुने भइस् है ?  अन्याय, अत्याचार, भ्रष्ट, दलाली भएको यस्तो ठाउँमा तिमीहरूको भविष्य कहाँ छ भन् त ?”

“कस्तो कुरा गर्नुहुन्छ काका । सबै परदेश गएका छन् । गाउँमा लास उठाउने समेत मान्छे छैन । म त अब युवाहरूलाई आफ्नै ठाउँमा राख्ने अभियानमा छु ।” यथार्थ ओकलेँ ।

काकाले सम्झाउनुभयो, “हेर लाटा ! यहाँ रातदिन कमाई गरेर रुपैयाँ कमाइन्छ । त्यहाँ डलरको खेती अर्कै हुन्छ। त्यसैले हेर, बरु पैसा छैन भने म हालिदिउँला तर नेपाल भने पटक्कै नबस् दुःख पाउँछस् ।”

म उत्साहका साथ बोलेँ “म त काका आफ्नो ठाउँ आफै बनाऊँ भन्ने अभियान बोकेर हिँडेको छु । रगत र पसिना आफ्नै माटोमा खन्याउँछु ।” 

“मलाई त छोराले अमेरिका बोलाएको छ अर्को हप्ता जाँदै छु । तँ गए तेरा आमाबा पनि पछि जान पाउँछन् ।” लालचाजन्य कुरा काकाले बोलेपछि मैले भनेँ ।

“हेर्नुहोस् काका !  मलाई तँ बराबरको सुन दिन्छु भनेपनि म जाँदिन । पैसा नै सबैकुरा होइन । म मेरो देशमा आत्मसन्तुष्ट छु र मेरा बाआमालाई पनि विदेशको मोह छैन ।”

आउँदै गर्दा भतिजोका विदेश नजाने कुरा सुनेका जेठाबाले बुबातिर हेरेर मुख खोल्नुभयो, “आहा ! कति राम्रो विचार। हेर कान्छा तेरो छोरो देशकै कस्तूरी हो । बिस्तारै सबैले चिन्छन् । 


....साथ सहयोगको खाँचो

Saturday, November 9, 2024

लघुकथा (अङ्क १७ मा प्रकाशित)

 सङ्कट

- अम्बिका धिताल
कमलविनायक भक्तपुर    


फो्नको घण्टी बज्यो, अन्जनाले “हजुर’’ भनिन् ।
बुढाले भने, “बैङ्कको किस्ता तिर्‍यौ ?”
अन्जनाको भनिन्, “तिरेँ । अब १२ किस्ता बाँकी छ रे !”

बुढाले भने, ”अब अर्को महिना नभई तलब आउँदैन । दशैँ आइपुग्यो । बाबुनानीले नयाँ नाना, चिची भन्नाल यसो कतै ऋण गरेर खुसी बनाऊ है ?”

अन्जनाले भनिन्, “तपाईंले चिन्ता नै नगर्नू । दुई ओटा खसी दशैँलाई बेच्न ठिक्क हुन्छ, भैँसीको पनि दिन पुग्न आँट्यो । बरु तपाईं पनि घरै आउनुस् । सबैजनासँगै बसेर दशैं मनाऔँ ।”

“अब म घरको किस्ता नतिरी आउँदिन । यो ऋण तिरेपछिको संसारै छुट्टै हुन्छ । पक्की घर हो । चारपाँच पुस्ताको लागि आनन्द भयो ।” बुढाले खुसी व्यक्त गरे । 

लामो सास फेर्दै अन्जनाले भनिन्, “हुन त हो तर घरघर भनेर नै जीवन बित्ने भयो । कहिले आउँला खै मुक्तिको दिन पनि ।”

“म अहिले काममा नै छु । तीन दिनदेखि नेपालमा अविरल पानी परेकाले धेरै ठाउँ डुबानमा परेको देखे सुनेँको छु । ख्याल गर है?” भन्दै बुढाले फोन राखे ।

त्यति किस्ता तिर्न अब कति महिना लाग्छ ।  औँला भाँच्दैथिइन् । “ए अन्जना के गर्दैछेस् ? छोराछोरी लिएर निस्किहाल् । पहिरो आउन लाग्यो ।” भन्दै पल्लाघरे काकी कराइन् ।

अन्जनाले हत्तनपत्त छोरीलाई पिठ्युमा बोकिन् र छोरोलाई हातमा डोर्‍याउँदै घरबाहिर गाउँले भागाभाग गरेको ठाउँतिर दौडिन थालिन् । त्यसको पाँचै मिनेटमा अन्जनाको घरगोठसहित आठ घर एकै सासमा बग्यो । खसी र भैँसीसहित अन्जनाको सयौँ सपना बगायो ।

दश वर्षदेखि यही घर बनाउन परदेश गएका बुढाको दुःख आँखा अगाडि नाच्न थाल्यो । छोरीले हठात् सोधिन्, ”आमा दशैँको नाना किन्न जानलाई दौडिएको हो ?”


..‍.साथ सहयोगको खाँचो