अकमक
- रासा
गौरीघाट, कामनपा-७
वर्षौंपछि एक स्कुले साथीलाई भेटें । चिन्न त्यति गाह्रो भएन । हामीले एसएलसी दिएर स्कुल छोडेको पनि तीस वर्ष नाघिसकेको छ ।
उसले नजिकै रहेको आफ्नो घरमा लग्यो ।
हामी घरभित्र पस्यौं । बैठक कोठामा बस्यौं ।
कुराकानी थाल्यौं । औपचारिकतावश घर-परिवारका विषयमा सोधपुछ भए । उसले चिया मगायो । केहीबेरमै चिया लिएर उसकी श्रीमती आइन् । चिनाजानी भयो ।
चिया पिएर गफ गर्दागर्दै उसकी आमा पनि आइपुग्नुभयो त्यहाँ । उठेर अभिवादन गरें । उहाँ मुसुक्क हाँसेर सँगै बस्नु भयो । पछि उहाँले मलाई सोध्नुभयो - बाबुको घर कहाँ हो ?
जवाफमा मैले सुस्तरी भनें - देवपत्तन ।
उहाँ पुनः वाचाल हुनुभयो - छोराछोरी कति छन् ?
एउटी छोरी मात्र - मेरो जवाफ सुन्नासाथ उहाँले खुसी व्यक्त गर्दै भन्नुभयो - छोरी नै ठीक । छोराहरूले हेर्दैनन् । उनीहरू स्वास्नीका पुच्छर हुन्छन् ।
छेउमा बसेको छोरा चाहिँले आमालाई आँखा तरेर हेर्छ । तत्क्षण आमाले अलि अन्कनाएर कुरा जोड्नुहुन्छ - मैले भन्न खोजेकी, छोरा र छोरी बराबर हुन् क्या !
हामी सबै मौन रहन्छौं ।
...साथ सहयोगको खाँचो
No comments:
Post a Comment