महान् कविज्यूलाई बुझेर हेर्दा ...
वर्तमान यति छिटो घटित र सङ्कुचित हुँदैछ कि मान्छेहरूलाई जीवन यापन गर्न सहज छैन । दैनन्दिन्य जीवनकालागि लामो दौड गर्नुपर्ने अवस्था छ । अतः लामा कथा या उपन्यासहरू पढेर बस्ने समयाभावलाई लक्षित गरी केही दशकयता केही छोटा कथाहरू लेखिने गरिएको पाइन्छ आख्यान प्रेमीहरुकालागि । सम्भवतः यस नयाँ उपविधालाई लघुकथा भनिन्छ हिजोआज ।
साहित्यले समाज, गाउँ सहर र सिङ्गो भूगोलको प्रतिनिधित्व गर्ने कुरामा दुईमत छैन । यसैगरी हाल लोकप्रिय रहेको साहित्यिक उपविधा लघुकथाले समाज- जनजीवन र समयलाई दर्शाउने गरेको पाइन्छ । यसै सन्दर्भमा लघुकथा लेखनमा स्थापित नाम ललिता 'दोषी’को लघुकथा महान् कविज्यू र स्वयम् कथाकारको चर्चा यहाँ गर्ने कोशिस गइरहेकोछु ।
मानवीय कुण्ठा, पीडा, विसंंगति र जर्जर मानसिकता बोकेर बाँचेका पात्रहरू उनका लघुकथाका प्रतिनिधि पात्र हुन्भन्दा फरक नपर्ला । लघुकथाभित्र काव्यात्मक प्रस्तुति गरेर साहित्यिक अन्तर्विधालाई समेट्ने थोरै व्यक्तित्वहरूमध्ये ललिता 'दोषी’ पनि एक पर्नु भएको छ । लघुकथा सिद्धान्त वा दर्शनमा भनूँ बिम्ब, प्रतीकात्मकता, नयाँ शैलीको प्रयोग पनि वाञ्छनीय हुने गरेकोछ । यसै सन्दर्भमा लेखनमा शिल्पगत कलात्मकताको पनि आवश्यकता छ भन्नुमा अतिशयोक्ति नहोला ।
लघुकथाकार ललिता 'दोषी’का लघुकथाहरुमा आफ्नै परिवारप्रतिको विरोधाभास पाईंदैन । अन्यथा नारी अधिकार र समानताका नारा घन्काउने नारीहरूका पारिवारिक विखण्डन, अशान्ति र विसङ्गतिहरू भने जरmर झल्किने थिए । यो चुरोलाई उनले कृतिको नाम पनि पुरुष पक्षधरको रूपमा महान् कविज्यू राखेर प्रष्ट पार्नु भएको छ । समग्रमा उनका कथाहरूमा पलायन, जीवनप्रतिको निराशा, पीडाबोध, बाँच्ने चाहनाको सङ्कट, अभाव र यी यावत तथ्यहरूले सिर्जना गर्ने निराशामय वातावरणको उल्लेख गर्नुले उनी स्वयंमा कतै यस्तै मानसिकताको विकास त भएको छैन भन्ने आशङ्का गर्ने ठाउँ पाइन्छ ।
उनको लघुकथा सङ्ग्रहमा भाषाशैली यति सरल सहज छ कि जुनसुकै तह र तप्काका पाठकहरूले सजिलै बुझ्न सक्छन् । आफ्ना लघुकथाहरूमा व्यङ्ग्यात्मक चेतसमेत पस्कन उहाँ सफल हुनुभएको छ । समय घर्केपछि अर्थात् मान्छे मरेपछि गोहीको आँसु झार्ने परम्परा, सामाजिक वा साहित्यिक विषमता एवं विकृतिलाई प्रशस्त व्यङ्ग्य प्रहार गरिएको छ ।
उनका केही लघुकथाहरूमा उखान टुक्काहरूको पनि सामयिक प्रयोग भएका देखिन्छन् । जस्तैः कोपिलाले घुँक्कघुँक्क रुँदै जवाफ दिइन् - “बाह्र वर्षमा खोलो पनि फर्किन्छ भन्ने उखान सम्झेर पर्खेकीछु । एक्कासी कसरी सम्झिनुभयो त ?” त्यसैमा क्रमशः “कौवाले कान लग्यो भन्दैमा कानै नछामी कौवाको पछाडि दौडिएँ” भन्दै पुरुष पात्रको स्वीकारोक्ति एवँ उखानको प्रयोग रहेको छ । (निणर्य लघुकथा पृष्ठ ५३) अर्को लघुकथा नानी ! अङ्कितेमा छिमेकी महिला माधवी कथापात्रले “दूधको गुनाको बुद्धि, कुल गुनाको जात भन्छन्, जस्तो आमा त्यस्तै छोरी ....।” तथा अङ्किताकी आमा अञ्जुले - “हामी पो कालो अक्षर भैंसी बराबरका भयौं ।” (पृष्ठ ५५) जस्तो उखानको प्रयोग गरेकी छिन् । यसरी जनजनमा मनमनमा भिजेका उखान टुक्काहरूको प्रयोगले रचनालाई सरल, सरस मिठासपूर्ण बनाउने गरेको छ ।
यसैगरी अर्को राम्रो पक्ष भनेको रचनाहरूमा कविताको प्रयोग । छोटा मीठा र कथासार पक्षीय कविताहरूले मर्मस्पर्शी अभिव्यक्ति दिएका छन् । जस्तैः
“साले त्यो शिखर चढ्यो
मेरै साहित्य चोरेर
म सडकमा सुत्ने भए
थोत्रा बोरा ओढेर” (महान कवि, पृष्ठ १८)
“सबैको पीडा बुझिदिने
यही साहित्य क्षेत्र
यो क्षेत्र समाएको भए
जीवन हुने थियो व्यर्थ ।” (मूल्याङकन, पृष्ठ २७)
“लाग्दैन काटिए पङ्ख
सगर छुन उड्दैछु, उड्दैछु म
नठान मलाई हिलो
कमल बनी फुल्नेछु, फुल्नेछु म” (महान आमा, पृष्ठ ३७)
“थाहा छ मलाई
पर्छ साँझ आशमा बिहानीको
सक्छु तर्न भड्खालोहरू
यही त जीवनको नियति हो” (अठोट, पृष्ठ ४१)
उपर्युल्लिखत विभिन्न भङ्गिमा बोकेर लेखिएका भावुक कविताहरूले पाठकको मनमुटुलाई तरङ्गित बनाएको पाइन्छ । यस अर्थमा कथाहरुलाई केही पक्ष/ मानेमा सशक्त बनाएको मान्न सकिने प्रशस्त आधार पाइन्छन् ।
यसै सिलसिलामा साहित्यसाधक ललिता 'दोषी’को यस कृतिमा रहेका ३९ कथाहरूको अध्ययनको क्रममा भेटिएका केही कमीकमजोरीहरू जस्तै सौता लघुकथामा पहिला ज्वाईं शेखर नामधारी हुन्छन् भने उत्तरार्धमा उनी त्रिलोचनमा परिणत हुनु । त्यस्तै चीत्कार लघुकथाको अन्तिम वाक्यमा “नारीहरूले चीत्कार र आफ्नो पीडा सम्झेर साँची जुरुक्क उठिन् र अदालततिर लागिन्” यहाँ “नारीहरूको चित्कार” हुनुपर्ने भन्ने यस पंक्तिकारलाई लागेकोछ । यसरी झण्डै हरेक शीर्षकजसो रचनाहरूमा व्याकरणगत शुद्धाशुद्धिको सन्दर्भमा सामान्य सम्पादकीय वा भाषिक त्रुटिहरू भेटिएता पनि त्यस्तो उल्लेख्य कमीकमजोरी भने पाईंएन । तथापि ललिता 'दोषी’को लघुकथाहरूको स्तरको मूल्याङ्कन पाठकहरूको जिम्मा दिन सकिन्छ ।
जीवन र जगत कति सुन्दर छ, तर यथार्थमा मानिसहरुले भोग्नुपर्ने अभाव, महङ्गी, द्वेष, भोकमरी, कष्ट तथा अशान्ति आदि - जीवन भोगाईको क्रममा अनुभव गरिने तथ्य हुन् । जो जसले संघर्ष गर्दै अघि बढ्यो ऊ बाँच्यो । हैनभने जो निराश हुन्छन्, उनीहरूले नै जीवनलाई निराशाको आधारमा समाप्त पार्न उद्यत पनि हुन्छन् । ललिता 'दोषी’का सङ्ग्रहका सबै लघुकथाहरू कोमल शैलीका, परिष्कृत एवं सुललित सम्प्रेषणले मानवीय भावनाहरूलाई अभिव्यक्त गर्न सक्षम छन् । अतः जिउने क्रममा सङ्घर्षको चेतना लिएर अघि बढ्ने पात्रहरुका अभिव्यक्ति लिएर नयाँ कृतिकासाथ ललिता 'दोषी’ पुनः उदाउनु नै हुनेछ भन्ने कामना गर्दै बिट मार्दछु ।
...साथ सहयोगको खाँचो
No comments:
Post a Comment