स्वाभिमान
-रञ्जुश्री पराजुली
बाँसबारी, काठमाडौँ हालः अमेरिका
एउटी करिब बीस एक्काइस वर्ष जतिकी युवती सधैँजसो सफा टेम्पोको अगाडि बसेर सायद कुनै प्राईभेट अफिसतिर होला जाँदै गरेको मैले देख्थें। उनी सुन्दरी थिइन् । आकर्षक परिधानमा सजिएकी हुन्थिन् । अनुहारमा पनि हलुका प्रसाधन पोतेकी हुन्थिन् । त्यस्तै कान घाँटीमा पनि हलुका आभूषण पहिरेकी हुन्थिन् । उनको व्यक्तित्वले म प्रभावित भएको थिएँ । म पनि प्रायः त्यही टेम्पोमा सफर गर्द थिएँ । उनी सधैँ अगाडि चालकको सिटसँगै बसेकी हुन्थिन् ।
त्यसैले बाहिरबाट उनको मुहार मात्र देखिन्थ्यो । सत्य कुरा भन्नुपर्दा म उनको सुन्दरताले लठ्ठिएको थिएँ । उनीसँग बोल्न मन लाग्दथ्यो । मौका नै परेको थिएन । उनी मभन्दा पहिले टेम्पो चडेकी हुन्थिन् । म चढ्दा पनि पहिले ओर्लदा पनि पहिले । त्यसो भएकोले हाम्रो भेटघाट र बोलचाल हुन पाएको थिएन । एकदिन अकस्मात् उनी पछाडिको सिटमा बसेर आएकी देखें। टाढैबाट त्यो देख्दा मरो खुसीको सिमा नै रहेन । "आहा.... आज आफूले मन पराएकी मात्र नभई भित्रभित्रै अपनाएकी युवतीसँग बोलचाल गर्न पाइयो" तर उनले मतिर हेर्दै हेरिनन् । जाडो महिना भएकोले उनले खुट्टासम्म गम्लङ्ग पश्मिनाको सल ओढेकी थिइन् । त्यो दिन उनी मभन्दा अगाडि नै ओर्लन पर्ने रहेछ । उनले खुट्टा उचालेर ट्याकट्याक आवाज दिइन् । अनि खुट्टाले नै काँधमा अड्याएको ब्यागको फास्नर खोलेर पैसा झिकेर भाडा भित्रबाट नै दिइन् । त्यो दृश्य देखेर म अवाक भएँ । स्तब्ध भएँ । मैले मद्दत गर्न खोजे तर उनले त्यो आवश्यक नभएको जनाएको जनाइन् । मलाई धन्यवाद दिँदै आफ्नै सुर र तालमा टेम्पुबाट झरिन् ।
No comments:
Post a Comment