मृत्युचिन्ता
-रत्न प्रजापति
लोकन्थली, भक्तपुर
उसले खान नपाएको धेरै दिन भइसकेको छ । भोको पेटमा काम खोज्दै हिँड्दा उसलाई बाटोमै ढल्छु कि जस्तो धेरै पटक भइसकेको छ ।
ऊ सहरमा भारी बोक्ने काम गर्छ । अरू धेरै जनाले ऊसँगै यही सहरमा भारी बोक्ने काम गर्छन् । कमाएर अलिअलि बचाउन सकेकाहरूले ठेलागाडा र रिक्सा किनेर सामान बोक्न थाले । उसले पैसा बचाउन सकेन । ठेलागाडा अथवा रिक्सा पनि किन्न सकेन । त्यसैले दिनहुँ उसको काम घट्दै गयो । उसले पाउने काम ठेलागाडा र रिक्सावालाले पाउन थाले । उसको आम्दानी दिनप्रतिदिन घट्न थाल्यो ।
यस्तो दिन पनि आयो, उसको आम्दानी शून्य नै हुन थाल्यो । एक दिन होइन, दुई दिन होइन, हप्तौँसम्म पनि उसको आम्दानी शून्य हुन थाल्यो । कमाएर अलिअलि बचाएको पैसाले आफ्नो भोक मेट्यो । तर त्यसरी भोक मेट्ने क्रम धेरै दिन चल्न सकेन । उसँग भएको पैसा पनि सकियो । अनि ऊ भोकभोकै सहरमा भारी बोक्ने काम खोज्दै हिँड्न थाल्यो ।
सहरमा ठेलागाडा र रिक्सा चल्न थालेपछि उसले काम पाउन छोडेको यो सहरलाई थाहा छ । ऊ भोकै परेको पनि यो सहरलाई थाहा छ । तर उसलाई दया गरेर एक छाक खुवाउने दयालु भने यो सहरमा कोही पनि छैनन् ।
एकदिन । बाटोमा हिँड्दाहिँड्दै उसलाई आफ्नो मृत्युको बारेमा चिन्ताबोध भयो । म भोकभोकै मरेँ भने त मान्छेहरूले मलाई खानै नपाएर म¥यो भन्छन् । अनि उसले मनमनै सोच्यो, खानै नपाएर मर्नुभन्दा त केही खाएरै मर्छु ।
एकदिन । उसले ठेलागाडा चलाउने साथीहरूसँग अलिकति पैसा सापटी माग्यो । सानोतिनो होटलमा गएर टन्न भात खायो र डेरातिर गयो ।
भोलिपल्ट । सहरको एउटा व्यस्त सडकममा ऊ एकाबिहानै मृत अवस्थामा भेटियो । बिहान सबेरै मर्निङवाकमा हिँडेका र कामले हिँडेका मान्छेहरूले उसलाई देखे । उसको लाशसँगै उसले सेवन गरेको विषको खाली सिसी थियो ।
अब मान्छेहरूले भन्न थाले, ‘एउटा भरिया विष खाएर मरेछ ।’
No comments:
Post a Comment