'देशको खोजी' गर्दा
नेपाली साहित्यका कथा, लघुकथा, गीत र कविता विधाहरुमा कलम चलाउँदै आएका रामकुमार पण्डित क्षेत्रीको पहिलो कृतिको रुपमा देशको खोजी नामक लघुकथासङ्ग्रह २०७१ सालमा प्रकाशित भएको छ । वि.सं. २०३२ साउन १ गते सिमलटार काठमाडौंमा जन्मिनु भएका रामकुमार पण्डित उनीद्वारा लेखिएका यस लघुकथासङ्ग्रहभित्र आँखाको हेराइ, बलवान, कागजी अनुमती पत्र, फूर्ति, पनपक्ष, सिकारु साहित्यकार लगायत विभिन्न शीर्षकका ७२ वटा लघुकथाहरु छन् । २०५२ फागुन महिनामा हिमशिखर साहियिक पत्रिकामा अभिमन्युको नामबाट कथा छपाई नेपाली साहित्यमा उदाएका साहित्यकार पण्डितका विभिन्न साहित्यिक पत्रपत्रिकाहरुमा प्रशस्त फुटकर सिर्जनाहरु छापिएका छन् । साहित्य जगतको वहुविधामा कलम चलाउदै आएका पण्डित निकै सक्रियताका साथ अगाडि बढिरहेका छन् । हाल सुलेख साहित्यिक पत्रिकामा कार्यकारी सम्पादकको रुपमा कार्यरत यिनी पछिल्लो समयमा लघुकथा लेखनमा समेत निकै सक्रिय देखिन्छन् । यसैगरी पहिलो साहित्यिक कृतिको रुपमा देशको खोजी नामक लघुकथासङ्ग्रह लिएर पाठक समक्ष प्रस्तुत भएका छन् ।
नेपाली समाजमा देखापरेका सामाजिक बेथिति, कुसंस्कार, राजनीति, धर्म, प्रेम, बालमनोविज्ञान सबैलाई टपक्कै टिपेर देशको खोजीमा गाँसन सफल भएका छन् पण्डित । सङ्ग्रहभित्र समावेश भएका ७२ लघुकथामध्ये १३ वटा विविध साहित्यिक पत्रपत्रिकामा पहिल्यै प्रकाशित भइसकेका छन् । यसै सङ्ग्रहभित्र समेटिएको देशको खोजी लघुकथाबाट पुस्तकको नामकरण भएको छ । शीर्षकमा देशको खोजीले राजधानीलाई मात्रै देश ठान्ने र राजधानीबाट टाढा दशगजा, सुस्ता, कालापानी आदि ठाउँहरुलाई देशको आँखाले देख्न नसकेको वास्तविकता पण्डितले पोखेका छन् । सीमान्तकृत वर्ग जोसँग आफ्नै सीप छ, आफ्नो सीप पस्केर बाँच्न चाहन्छ उनीहरुलाई राज्यले खासै उत्प्रेरणा नदिएको गुनासो कथाले गरेको छ । यसभित्र लेखकको कलमले बालमनोविज्ञानलाई र बालकका पीडा, रहर आदि खोतल्न सक्नु पनि लेखकको कलमभित्रको अद्भूत क्षमता हो । नगरपालिका बन्नलाई पूर्वाधारको राम्रो विकास नभई कर उठाउनको लागि साना गाउँहरु नगरपालिका घोषणा हुने गरेको यथार्थ कथा हो सिमलटार । यो कथा वर्तमान समयमा निकै सान्दर्भिक लाग्दछ ।
एउटा बगैँचामा ठूलो मान्छे आएर गढेर हेर्यो ढल्की ढल्की कुनाकाप्चामा आँखा पुर्यायो । सबै देखेजस्तो गरे पनि त्यहाँका हरेक चिज एकै छिनमा भुल्यो भनिएको छ । फूर्ति शीर्षकको लघुकथामा साहुको एक्लो छोरोले मोटरसाइकल जानेर भन्दा पनि मोटरसाइकललाई बुझेर बाटोको अवस्था हेरी गुडाउन कहिल्यै जानेन भनिएको छ । सिकारु साहित्यकार शीर्षकको लघुकथामा आफैले सिकाएर साहित्यकार बनाइदिएको मान्छे प्राज्ञ भइ । जे जस्तो भए पनि बेलैमा मैले पनि सङ्ग्रह निकालेको भए महिले मेरी चेली मभन्दा ठूलो ठाउँमा त पुग्ने थिइन भनिएको छ । यस सङ्ग्रहको पहिलो कथा सबैभन्दा छोटो कथा आँखाको हेराइले बालमस्तिष्कमा उच्च स्मरण क्षमता हुन्छ भने स्वाभाविक रुपमा बुढ्यौलीमा सम्झने शक्ति ह्रास हुने सत्यतालाई प्रस्तुत गरिएको छ ।
नेपाली आकाशमा बढ्दै गइरहेको विमान असुरक्षाको घटनालाई सम्झाएर आङैै सिरिङ्ग पार्ने कथा विमान सुटर हो । जसले विमान दुर्घटनाको पीडा र त्यसभित्र लुकेको मान्छेको स्वार्थी प्रवृत्तिलाई चित्रण गर्दछ । सम्पत्तिलाई सुखको स्रोत ठान्नेहरुले वास्तविक सुख पाउनको लागि दान गर्नुपर्ने वा सामाजिक सेवामा लाउन सके वास्तविक सुख मिल्ने कुरा आशावादी धारको कथा सुखले अभिव्यक्त गर्दछ । यसमा समाविष्ट ७२ लघुकथाहरु जनजीवनका विविध पाटो अवस्था र परिवेशका यथार्थ रङ्ग रेखामा आएका छन् । सबै लघुकथाहरु सहज र स्वाभाविक देखिन्छन् । विश्वास शीर्षकको लघुकथामा पाँचसय वर्षपछि कथाका हरफहरु पढेर जुम्लाको एउटा बाह्रवर्षे बालक खिस्स हाँस्दै पैलापैला त कविभन्दा झाँक्रीको भाउपो महङ्गो रैछ गाइज (गाँठे) भनिएको छ । पुरस्कारले ल्याएको तिरस्कार शीर्षकको लघुकथाभित्र फलानो इमानदार भनेर चिनिएको मान्छे पनि बेइमान भएछ । त्यस्तो मान्छेले नि चाकडी गरेर पुरस्कार लिएछ थुक्क भनिएको छ । सत्ता कब्जा गर्ने उपाय शीर्षकको लघुकथाभित्र सत्ताको लागि जे पनि गर्न तयार ब्वाँसोको कुरो सुनेर स्याललाई फनन्न रिँगटा लागेर त्यही ढल्यो भनिएको छ । १२६ पृष्ठको यस लघुकथा सङ्ग्रहको मूल्य रु. २५०।- राखिएको छ । प्रकाशक सुरभि साहित्य प्रतिष्ठान हो ।
....साथ सहयोगको खाँचो
No comments:
Post a Comment