लडाइँ
-रमेश सुवेदी
कुसुन्ती–१३, ललितपुर
अहंकार र सु–हृदय बीच द्वन्द्व चलिरहेको थियो । ज्यानको बाजी थापेर एकले शक्तिको तुजुक देखाउँदै लखेट्यो, अर्कोले गिजाउँदै अघि अघि दौड्यो । सु–हृदय अहँकारलाई झुक्याउँदै गाईको शरीरभित्र लुक्यो । अहंकार नि के कम, नजिकैको जङ्गलमा भोकैबसेको बाघको शरीरभित्र प्रवेश ग-यो ।
जङ्गलको अर्को कुनामा चर्दै गरेको गाईलाई मार्छु भन्दै बाघ आयो । बाघले झम्टन खोजेपछि गाई ज्यान बचाउन भाग्दा नजिकैको तलाउमा हाम फाल्यो । बाघ नि के कम, आखिर जङ्गलको राजा जो ठहरियो, झ्याम्म तलाउमा हाम फाल्यो । अगाडि गाई तलाउको हिलोमा गाडियो । बाघ भेट्टाउँछु भन्दै अघि बढे पनि हिलोको कारण खुट्टा धसिएको हुँदा अघि बढन सकेन । मात्र एक मिटरको दुरीमा चारै खुट्टा धसिएर हल्लिन नसक्ने गरी दुवै फसेँ ।
बाघ हुँकार गर्दै फुर्तिले बोल्यो, म जङ्गलको राजा हुँ । आज तँ उम्किन्नस्, मेरो आहारा नबनि सुखै छैन ।
बाघको कुरा सुनेर गाईले भन्यो, मलाई त साँझसम्म खोज्न आउँछन् ।
तिम्रो कोही मालिक छन् ?
बाघले भन्यो, म स्वयम् जङ्गलको मालिक ।
गाईले सोध्यो, त्यसोभए तिम्रो त्यो शक्तिको यहाँ के उपयोग हुन्छ त ?
बाघले भन्यो, तँ पनि त फसेको छस्, केही बेरमा मर्ने वाला होस्, तेरो नि मेरो जस्तै हालत छ ।
गाई मुस्कुराउँदै बोल्यो, एकैछिनमा मेरो मालिकले मलाई यो दलदलबाट निकाल्नु हुन्छ र आफूसँगै घर लैजानु हुन्छ । तिमीलाई कस्ले लैजान्छ ? नभन्दै केही बेरमा एक मान्छेले गाईलाई हिलोबाट निकाल्यो । जाने बेला गाईले फरक्क फर्केर हेर्दै सोच्यो, चाहेर पनि यसलाई हिलोबाट निकाल्न हुँदैन । किनभने यस्को स्वभाव नै झम्टने छ । अहंकारी, घमन्डी विरुद्ध सु–हृदयको मालिक ईश्वरले खटाएका हुन्छन् । त्यसैले यो हिलो रुपी संसारमा शक्ति सङ्घर्ष र अस्तित्वको लडाइँ चलिरहन्छ ।
No comments:
Post a Comment