प्रश्न
-कमला भण्डारी ढकाल
बुटवल, रुपन्देही, हालः इजरायल
लगभग दुई घण्टाभन्दा लामो छ यात्रा दिक्क लाग्छ लामो यात्रा गर्न सधैँ काम गर्न पनि त सकिंदैन डिप्रेशनमा पुगिएला भन्ने डर !
घरदेखि चार पाँच मिनेट हिँडेर तखाना आइपुगे तखानामा देखाइएको समयभन्दा पाँच मिनेट अघि नै पुगेछु, ठिक पाँच मिनेटपछि अटोबुस आयो समयको खुब कदर गर्छन्, सिस्टममा चल्छन् यहाँका मान्छेहरु कस्तो राम्रो ।
अटोबुस चढें कार्ड दिएँ, ड्राइभरले सोध्यो कहाँ जाने ? तेलअभिव जाने, पैसा काट्यो र कार्ड फिर्ता दियो ।
डिसेम्बर पन्ध्र कटिसक्यो बाहिर चिसो छ र यो पानी पर्ने समय पनि हो इजरायलमा !
बसको सिट नेपालको इन्टरनेसनल प्लेनको भन्दा राम्रो छ सफा छ एसी छ, बीचबीचमा फोहोर फाल्ने भाँडाहरु छन् ! बाटोमा फाल्दैनन् फोहोर कोही पनि ! बसमा ड्राइभरभन्दा अरु कोही छैन न खलासी न कन्डक्टर न साहु न भाडामा कनकन ।
तखाना पिच्छे म्याइक्रोफोन बोल्छ यो तखानामा झर्ने मान्छेको गन्तव्य स्थल आइपुग्यो भनेर ।
मान्छे बस चढ्न र झर्न नजानेर हराउँदैनन् ।
यतिबेला रातिको दश बजेको छ सफा सुन्दर बाटोमा हुँइकिरहेको अटोबुसको झ्यालबाट म नियालिरहेछु गगनचुम्बी महल उज्यालो बत्तीले चम्किरहेका छन् लाग्दैन यो रात हो !
.....तर मन हुत्तिएर मातृभूमि पुगेको छ र खुब प्रेमले नियालिरहेको छ अस्तव्यस्त लाग्ने जिन्दगी, धुलाम्मे बाटो, कोचाकोच भएर हिड्ने गाडी, सानो झुपडीमा बाबुआमाको अगाडि धिपधिप बोलिरहेको पुरानो टुकी ।
अनायसै तप्प दुई थोपा खस्छन् र प्रश्न गर्छन् ।
"आखिर खुसी छ कहाँ?"
No comments:
Post a Comment