Friday, November 24, 2023

लघुकथा (अङ्क २ मा प्रकाशित)

बधाई न सधाई

-रुद्र अधिकारी
ईटहरी, सुनसरी, हालः लण्डन 


आज धेरै खुसी छु । मेरो जीवन कै ठुलो सपना साकार भएको छ । मेरो अष्ट्रेलियाको भिसा लाग्यो ।” शरदले भिसाको फोटोसहित आफ्नो स्टाट्स सामाजिक सञ्जालमा प्रेसित मात्र के गरेको थियो, बधाईको ओईरो लाग्यो ।

उसलाई मात्र होइन आमाबुबा, दाजुभाइ, दिदीबहिनी लगायत परिवारका सबैलाई कसैले प्रत्यक्ष भेटेर, कसैले फोन÷म्यासेज मार्फत्, त कसैले सामाजिक सञ्जालको माध्यमबाट बधाई दिनेक्रम चलिरह्यो ।

यहाँ सम्मकी भर्खरै प्रेम सम्बन्ध तोडेकी पूर्व प्रेमिकाले समेत “मलाई माफ गरिदेउ ! जे भयो बिर्सिदेउ । म गलत थिएँ । तिमी सँग छुटेपछि मैले मेरो
गल्ति महसुस गरेँ । म अहिले पनि तिमीलाई पहिलेजति नै माया गर्छु ।” भनेर म्यासेज पठाएकी थिइन ।

सारा संसारबाट बधाई आउँदा पनि छिमेकी काकी न भेट्न आइन न बधाई नै दिइन । शरदको आमालाई सारै खुल्दुली लागेछ, आफै सोध्न गइन । “शरद तपाईंको पनि प्यारो थियो । अष्ट्रेलिया जान लागेको त थाहा पाइहाल्नु भयो होला? के तपाई खुसी हुनुहुँदैन ? बधाई पनि दिनु भएन !” काकीले जवाफ दिइन “बधाई न सधाई ! तिम्रो छोरोले अब उतै घरजम गरेर बस्छ । भोलि तिमी बिरामी हुँदा तातो पानीसम्म दिने कोही हुँदैन । दागबत्ती दिन पनि आउँदैन । तिमी पनि मख्ख नपर । उसलाई बिर्सने आदत बनाउ !”

No comments:

Post a Comment