Tuesday, November 28, 2023

लघुकथा (अङ्क ६ मा प्रकाशित)

फरक

-रुद्र अधिकारी
ईटहरी, सुनसरी हालः लन्डन


"अब भुवन र गौरीको विवाह गरिदिनु पर्ला, मिल्न पनि औधी मिल्छन, जात, कुल, घरान, धर्म सबै मिलेकै छ, पारिवारिक चिनजान छ, के भन्छ्यौ बूढी ?” बूढाको कुरोमा ह मा ह मिलाउँदै श्रीमतीले जवाफ दिन “मेरो मनको कुरा भन्नुभयो ।”

चिन्दै नचिनेको, आनी, बानी थाहा नभएको, अन्धविश्वासको भरमा, टाढाको व्यक्तिसँग विवाह गरिदिनुभन्दा, परिचित व्यक्ति र एउटै गाउँमा छोरी दिंदा चाडपर्वमा आउजाउ गर्न पनि सहज हुने तर्कमा जोइपोइको समर्थन थियो । आफ्नो मृत्यु आगाडि छोरीलाई विवाह गरिदिनु बा–आमाको ठूलो जिम्मेवारीबाट मुक्त हुनु हो भन्ने मान्यता राख्ने उनीहरू, तत्पश्चात मात्र स्वर्गको लागि ढोका खुल्नेमा विश्वास गर्थे । उनीहरू जतिसक्दो चाँडो गौरीको विवाह गरिदिन चाहन्थे । श्रीमान् श्रीमतीले भुवन गौरी ठूला भइसकेकाले आफ्नो निर्णय आफै गर्न सक्छन भन्ने सोचेर दुवैलाई बोलाए ।

“के सारो मिलेका ? तिमीहरू मिलेको देखेर हामीलाई ईष्र्या लागि सक्यो” श्रीमानले संवाद सुरु गरे । “गौरी र म आजीवन सबैभन्दा मिल्ने साथी हौ” भुवनले समर्थन जनायो ।

श्रीमतीले “तिमीहरु साथीमात्र भएर के गर्छौ ? अब विवाह गरेर जीवनसाथी बन, हाम्रो आशीर्वाद छ ।” भन्दै दुवैजनाको काँधमा हात राखिन् ।

आमाको कुरा नसकिँदै गौरीले भनिन “हामी ‘आजीवन सबैभन्दा मिल्ने साथी’ मात्र हो, ‘श्रीमान्’ र ‘साथी’ फरक हो, म भुवनसँग विवाह गरेर मेरो साथी गुमाउन चाहन्न ।”

No comments:

Post a Comment