उज्यालो खेती
-नन्दलाल आचार्य
सिर्जनाकुटी, सिरहा
'आमा, आमा ! अब हाम्रो सबै चिन्ता भाग्ने प¥यो ।’ नौ वर्षमा हिँड्दै गर्दा एक दिन मैले आमालाई भनेँ ।
उहाँ खुसी हुनुभयो । उहाँको अनुहारको मन्द मुस्कानले मलाई अझ उत्साहित बनायो । आफूले संसारमै अद्भूत काम गरेको अनुभूत भयो । म भित्रभित्रै पुलकित भएँ ।
‘दुःख भगाएर चिन्तामुक्त पार्लास् भनी देवीदेवता पुकाएर तँलाई जन्माएको !’ उहाँले तीन दिदीहरूपछि मलाई जन्माएको स्मरण गर्दै भन्नुभयो । मैले जतनले काखीमुनि च्यापिरहेको गिलेन माग्नुभयो । नदिएपछि खोस्न तत्पर हुनुभयो ।
तत्कालै रोउँलाझैँ गरी मैले भनेँ; ‘दुःख हटाउने त्यो चीज यसैभित्र छ ।’
‘मट्टितेल सकिएको हप्ता दिन भयो । किन्ने पैसा छैन । जोरजाम गरे पनि बजार जाने फुर्सद छैन । तँ भने रित्तो गिलेनलाई खेलौना ठान्छस् ?’ उहाँ रिसाउनसम्म रिसाउनुभयो ।
‘त्यही समस्याको समाधान त यहाँ छ नि आमा ।’ मैले निर्दोष बोली निकालेँ ।
खै, कहाँ छ भन्दै उहाँले जान्न चाहनुभयो । मैले उहाँलाई घरको अँध्यारो कुनामा लगेर भनेँ; ‘अब तपाईंले अगुल्टाको उज्यालोमा भात पस्किनुपर्दैन । हामीले पनि चुलोमा बलेको आगोको धिमा उज्यालोमा थालको भात खोज्दा भुईं लोटाउनुपर्दैन ।’
उहाँ झन् छक्क पर्नुभयो । मैले झ्याल र ढोका बन्द गर्न लगाएँ । उहाँले आज्ञाकारी सेवकको भूमिका निर्वाहमा कन्जुस्याइँ गर्नुभएन ।
‘लु, कत्ति दुःख हटाउनुछ, मनलाग्दी हटाउनुस् । मैले बिहानभरि सूर्यको पौरख यही गिलेनमा कैद गरेको छु ।’ मेरो यस्तो कुरा सुनेर उहाँले ठूल्ठूला आँखा पार्नुभयो ।
मैले गिलेनको बिक्रो खोलेँ । भित्र र बाहिर अँध्याराकै एकछत्र राज देखेर मेरा कलिला आँखा आँसुले भरिए ।
No comments:
Post a Comment