आदर्श
-लता के.सी.
तिनकुने, काठमाडौँ
"स्वागत छ, लघुकथाकारज्यू !" भन्दै उनले मलाई देख्नासाथ अङ्कमाल गरे । म एकदिन भेटन भनेर उनको कार्यालय पुगेको थिएँ । उनी सहरको प्रसिद्ध विद्यालयका प्रधान अध्यापक थिए । साहित्यमा उनको गहन रुचि थियो । विश्वका महान साहित्यकारहरुको चित्र र महत्वपूर्ण उक्तिहरुले कार्यालयको भित्ता सजाएका थिए । भेटमा हामीले साहित्यिक भलाकुसारी ग-यौ । विगत र आगत सबै ओकल्यौँ । घण्टौँ बितेको पत्तो भएन ।
मैले उनीसँग सोधेँ, “मेरो लघुकथासङ्ग्रह पढ्नु भयो त ? कतै ती सबै मेरा पुस्तकहरु विद्यालयको पुस्तकालयमा सडेर बसेको त छैन नि ?”
उनी मज्जाले हाँसे र भनेँ, ‘‘म पुस्तकको कीरो ! किन पढिँन होला त?’’ मैले प्रतिक्रिया जान्न चाहेँ, ‘‘कुन पक्ष मन प-यो ?’’
उनले अति उच्च कोटिको भनेर व्याख्या गर्न थाले । उसैबेला मेरो नजर भित्तामा कोरिएको उक्तिमाथि प¥यो । मनमनै पढेँ । लेखिएको थियो, ‘‘पुरानो कोट लगाऊ, नयाँ पुस्तक किन“ । पढेर म मुसुमुसु हाँस्न थालेँ । म हाँसेको देखेर उनले अझ तिव्र गतिमा मेरो लेखन र शैलीबारे बोल्न थाले जबकी म हाँस्नुको कारण उनको प्रशंसाका शब्दहरु थिएन तर मेरो कृति किनेर उनले दुई वर्षदेखि रकम दिएका थिएनन् । न त दिने सोच नै देखिन्थ्यो ।
No comments:
Post a Comment