अवकाश
-दुर्गा वनवासी
झापा
पैँसट्ठी वर्षको उमेरमा विद्यालयले अवकाश दियो मास्टर शिवलाललाई । धेरैपल्टका सेवा आयोगहरुका लिखित परीक्षामा पास भएपनि मौखिकमा हरेकपटक बल्ड्याङ खाएका उनले अन्ततः निजी स्कुललाई नै कर्मथलो बनाएर जीवनका अमूल्य तीस वर्ष सुम्पिए । त्यही जागिरबाट परिवारको लालनपालन गर्दै कान्छो छोरालाई अमेरिका पठाए । छोरीको बिहे गर्दा विद्यालयबाट लिएको ऋण प्रत्येक महिनाको तलबबाट कट्टा गर्दै अब दुई महिना बाँकी थियो । दीर्घकालसम्म सेवा गरेकोले स्कुलले त्यो रकम मिनाहा गरिदियो र एक महिनाको तलब पनि थपिदियो ।
साँझ जेठो छोरालाई उनले आफू सेवा निवृत्त भएको अवगत गराए । तयारी अवस्थामा रहेको जेठोले भन्यो– "हजुरले कान्छोलाई निजी स्कुलमा पढाउनु भयो, त्यत्रो खर्च गरेर अमेरिका पठाउनु भयो । राम्रो घरानामा बहिनीको बिहे गर्ने हुँदा लागेको ऋण तिर्दा आधा तलब लिएर आउनु भयो । अब मलाई चाहिँ के दिनुहुन्छ बा ?"
"सम्पत्तिको नाममा रहेको यही एउटा घर छ । तेरो भाइ उतैको नागरिक भइगयो । अब यो घर तेरै त हो नि छोरा !" मास्टरले नरम स्वरमा भने । "अनि, हजुर र आमा चाहिँ कता बस्ने नि ? कतै कान्छोले भिसा त लाएन उताको ?" जेठोको सहज प्रश्नले आमाबा दुवै नराम्ररी झस्के ।
"के भनेको बाबु यस्तो ? यो बुढेसकालमा आफ्नो देश, घरगाउँ छोडेर त्यो बिरानो मुलुकमा कसरी बस्न सकिन्छ ? कान्छाले लग्यो भने केही समय घुम्न जान सकिन्छ । तँलाई थाहै छ, कान्छाले बुहारी पनि उतैकी बिहे गर्यो, ऊसँग हाम्रो भाषा, संस्कार पनि त मिल्दैन ।"
"त्यसो भए हजुरले दुइटा काम गर्नुप-यो बा ! पहिलो काम– यो घर आजै मेरो नाममा गर्नुप-यो । दोस्रो काम– बढी लाडप्यार दिएर अङ्ग्रेजी स्कुल पढाएको कान्छो छोरोसँग हरेक महिनाको खर्च माग्नुप-यो । अब त हजुरको जागिर पनि छैन । सरकारी स्कुल भए पो पेन्सन पनि आउला कि भन्नु ! मलाई पनि त गाह्रो छ, आफ्नो परिवार हेर्नु कि हजुरहरुलाई पाल्नु ?"
स्वाभिमानी मास्टरलाई जेठो छोराका कुराले असैह्य पीडा भयो । उसले भनेको अन्तिम वाक्यले त झन उनको मर्ममै प्रहार ग-यो । आफ्नै छोराको परिवारभित्र आफू पर्न नसक्नुको चोट सहन नसकेर त्यहीँ ढले र जिन्दगीबाटै अवकाश लिए । अघिदेखि छाती निचोरिएर बोल्न नसकी आँसुमात्र बगाइरहेकी मास्टरनी बुढाको निर्जीव शरीरमाथि गल्र्याम्म ढलिन् ।
No comments:
Post a Comment