पीडा
-सुरेशकुमार पाण्डे
दाङ घोराही १८
लक्ष्य केही काम विशेषले पहाड गएको बेला एकजना खिमराज नामक जानकारका घरमा बास बस्नुप-यो । उसको घर पनि बल्लतल्ल खोज्दै–खोज्दै पुगेको थियो । बाहिर बूढीआमाले भाँडा माझ्दै थिइन् । खिमराज कतै गएकोले लक्ष्य घरको पेटीमा बस्यो र उसको प्रतीक्षा ग-यो । एकजना महिला कतैबाट फुत्त आइन् र बतास पानीले झारेको आरु बटुल्न थालिन् ।
कैयौं दिनदेखि ननुहाएकी, काटिएको कपाल पनि लटा परेको थियो । फाटेका कपडा नाङ्गा खुट्टा, उनी झरेका आरु बटुल्दै थिइन् । एकछिनपछि सिमसिम पानी प-यो । त्यो महिला कता गई थाहा भएन ।
घरमा असी वर्षकी वृद्धआमाको अलावा कोही थिएन । कुप्रो परेकी हजुरआमाले लक्ष्यलाई चिया पकाएर टकारिन् । ऊ लजाउँदै चियाको गिलास छोप्यो । झमक्कै रातपरेपछि खिमराज टुप्लुक आइपुगे ।
"असजिलो त भएन एक्लै बस्दा ?" उनले खिसिक्क हाँस्दै सोधे ।
"भएन हजुरआमाले चियापानी दिनुभयो । बोलीमा कति मिठास रहेछ । यो उमेरमा पनि सबै काम गर्नु हुँदोरहेछ ।" लक्ष्यले आमाको प्रशंसा गर्दै भन्यो ।
"नगरेर के गरुन् । अरु कोही पनि छैनन्, घरमा ।' खिमराजले भने ।
"अनि एउटी महिला बारीमा आरु बटुल्दै थिइन्, उनी को हुन् ?" लक्ष्यले बुझ्न खोज्यो ।
"उनी मेरी दिदी हुन् । मानसिक सन्तुलन अलि ठिक छैन ।" खिमराजले मलिन अनुहार बनाए ।
यस्तो लाग्थ्यो कि उनीभित्र धेरै घाउहरु छन् । बेलाबेलामा असहनीय पीडा झेलेका हुन्छन् । उनका मोटामोटी कथा सुन्दा त्यो पूरा परिवार नै द्वन्द्वपीडित रहेछ । लक्ष्यले आफ्ना सबै दुःख भुल्यो किनभने उनीहरुलाई परेको दुःखको तुलनामा लक्ष्यका सबै दुःख दर्द मौन थिए ।
No comments:
Post a Comment