उमङ्गभित्र नियाल्दा
लघुकथाकार सत्या अधिकारीको उमङ्ग लघुकथासङ्ग्रह अक्षरधामले प्रकाशन गरेको हो । यस कृतिभित्र विभिन्न शीर्षकका ५५ वटा लघुकथाहरु राखिएका छन् । यसमा सङ्गृहीत लघुकथा पाठकलाई प्रभावकारी रुपमा आकर्षित गर्न सक्षम रहेका छन् । यस सङ्ग्रहभित्रको विभेद शीर्षकको पहिलो लघुकथामा विभेद त हाम्रो घरैबाट सुरु भएको थियो किनभने बुबा सधैँ भन्नुहुन्थ्यो, हेर ! तिमी दुई जुम्ल्याहा दिदीभाइमा भाइलाई चाहिँ जसरी पनि म डाक्टर पढाउँछु भनिएको छ । मुसा शीर्षकको लघुकथामा मैले मन सम्हाल्दै सोचे, देशका लागि लेखिएका यत्रा बहुमूल्य ठेली त मुसाहरुले च्याते भने मेरा पुस्तक काट्दैमा के आत्तिनु ? भनिएको छ ।
लघुकथामा यो उनको पहिलो प्रयास हो । उनले मनमा उर्लिएका भावलाई लघुकथाको रुप दिन सकेकी छिन् । हाम्रो समाजमा आफ्नै सन्तान भए पनि छोराछोरीलाई हेर्ने दृष्टिकोण फरक भएको दृष्टान्त बडो रोचक ढङ्गले लघुकथामा दर्शाइएका छन् । यस सङ्ग्रहमा परिवार र समाजमा नारीहरुले भोग्नु परेका अनेक थरिका दुःख र पीडाका बोझहरुलाई लघुकथामा उताएिको छ । योग्य लडाकु शीर्षकको घर र परिवारको सम्झनाले मेरो मनलाई बेला बेलामा कमजोर बनाउँथ्यो तर पनि बुबाआमाको आशीर्वाद बोकेर अघि बढेको थिएँ सत्याले भनेकी छिन् ।
भाषिक सरलता सत्याका कथाहरुको महत्वपूर्ण विशेषता हो । विषय र विचारगत विविधता उनको कथाहरुको मूल उद्देश्य हो । देशप्रेम शीर्षकको लघुकथामा विदेशमा उनले साधना र लगनलाई साथी बनाइन् । त्यहाँका राष्ट्रिय पुरस्कारहरु पनि उनले हात पारिन् । उनको पढाइ सकियो । विषय र अनुभवका प्रमाणपत्रहरुको
खात लिएर उनी नेपाल फर्किइन् कथाकार सत्याले भनेकी छिन् । डिभी शीर्षकको लघुकथामा मान्छेको जातै असन्तोषी उनीहरुलाई पनि डलरको मोह भयो । डिभी भरे । डिभी पनि प¥यो । दुवैले खाँदाखाँदैको जागिर छाडे । गाउँको गैह्री खेत बेचेर अमेरिका उडे । सत्याले जीवनमा जुन उतार चढाव भोगिन् सायद तिनै भोगाइ अनुभव र सामाजिक घटना परिघटनाले अङ्कुराएको मनको भाव नै उमङ्ग लघुकथा सङ्ग्रहको रुपमा जन्माएकी छिन् ।
सत्याको पहिलो लघुकथासङ्ग्रह भएपनि यसभित्र लेखिएका लघुकथा खारिएका, माझिएका र टलक्क टल्किएका छन् । थोरै लेखेर पनि गुणस्तरमा ध्यान दिन सके कृतिको महत्व बढ्नेछ । यस तथ्यलाई लघुकथाकार सत्याले मनन गरेकी छिन् । सङ्ग्रहभित्रका पात्र, परिवेश र घटना हाम्रै समाजमा देखिएका सुनिएका र भोगिएका छन् । मान्छेका प्रवृत्ति र उसले बिर्सदै गएको आफ्नो धरातल तथा हराइरहेको मानवीय संवेदनालाई पनि यस कृतिले आफ्नो विषय बनाएको छ । आशावादी भएर समाजका विकृतिलाई निर्मूल पारेर एउटा सुन्दर समाज निर्माण गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नका लागि यस सङ्ग्रहभित्रका कथा सक्षम छन् । स्रष्टा एउटा समाजको द्रष्टा पनि भएकाले ऊ यो समाजबाट अलग हुन कति पनि सक्दैन । यही समाजमा रहेका सङ्गत, विसङ्गत सबै कुरासँग पौँठाजोरी खेल्नुनै पर्छ ।
भत्ता शीर्षकभित्र उमेरले असी कटेकी सानिमा आँखा धमिलो भएपनि कान सुन्छु भन्छिन् । एकदिन बेलुकी उनी समाचार सुन्दै थिइन् टिभीले फुकेको सुनिन् अब वृद्धाहरुलाई उपचार खर्च वापत थप मासिक पाँचहजार दिने । सुन्दर बस्ती आघात, पाउन्ड, गुनासो, विभेद, होली, खिर, पुकार, छोराहरु, धाक, समानता, मुसा आदि लघुकथाहरु प्रभावकारी र प्रतिनिधिमूलक छन् । हाम्रो वर्तमान समाजको सामयिकीलाई प्रस्तुत गर्ने जीवन्त चित्रका रुपमा उनका यी रचनाहरुलाई लिन सकिन्छ । सुन्दर बस्ती शीर्षकको लघुकथामा वैदेशिक रोजगारीको विकृत पक्ष छ भने त्यसको सकारात्मक पाटो पनि छ ।
कथा आफैमा पूर्ण भएजस्तै लघुकथा पनि स्वयम्मा पूर्ण हुन्छ । अर्थात् लघुकथा कथाको संक्षेपीकरण होइन । लघुकथा आख्यानको लघुतम वा सूक्ष्मम विधा हो । लघुकथा छोटो हुन्छ तर पूर्ण हुन्छ । छोटो आयाममा जीवन र जगत्लाई समेट्नु लघुकथाको विशेषता हो । लघुकथा लोकप्रिय भएकै कारण यसप्रति लेखनको आकर्षण बढ्दै गइरहेको छ ।
No comments:
Post a Comment