Saturday, November 25, 2023

लघुकथा (अङ्क २ मा प्रकाशित)

भ्रष्टाचार

-दुर्गाप्रसाद घिमिरे
र.न.पा. १४, लक्ष्मी निवास, चितवन 


"भ्रष्टाचारीलाई कारवाही गर"
"इनक्लाब जिन्दावाद"
"नेपाली एकता जिन्दावाद"
"अघि बढ......नेपाली तिम्रो साथमा छ"


आदि नाराले शहर रन्कियो, शहरको विभिन्न स्थानको परिक्रमा पश्चात सो भिड सभामा रुपान्तर भयो । आफूलाई मानवअधिकार अभियन्ता ठान्नेहरु कुर्ली– कुर्ली भाषण गर्थें । कुनै महत्वपूर्ण वाणी ठानेर, भाषणको बीच बीचमा तालीको वर्षा हुन्थ्यो ।

त्यसैक्रममा शहरकै अर्को अभियन्ताको पालो आयो उनी भन्दै थिए "भ्रष्टाचारी धमिरा हुन् यिनीहरुलाई हदैसम्मको कारवाही हुनुपर्छ ।" त्यो भिडको बीचबाट एक जड्याहाको आवाज उठ्यो "सर तपाईंले स्कुलको रडको पैसा कहिले तिर्ने?" ती अभियन्ताको भाषण सुन्नुभन्दा जड्याहाको कुरामा सबैको ध्यान केन्द्रित थियो । सो अभियन्ता पाँच वर्ष अघि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुँदा लाखौं रकम कुम्ल्याएका थिए । भ्रष्टाचार गरेको मुद्दा किनारा अझैसम्म लागिसकेको थिएन ।

No comments:

Post a Comment