कथाकार ध्रुव मधिकर्मीद्धारा सम्पादित अभियान लघुकथा नामक लघुकथासङ्ग्रह भक्तपुरमा सार्वजनिक गरिएको छ । ६२ जना स्रष्टाहरुका लघुकथा संग्रहित सो कृति सिर्जना अभियान समाजको आयोजनामा भएको एक समारोहमा प्रमुख अतिथि वरिष्ठ साहित्यकार मोहनबहादुर कायस्थ, समाजका अध्यक्ष धनमान श्रेष्ठ र हाम्रो लघुकथा केन्द्रका अध्यक्ष लता केसीले संयुक्तरुपमा सार्वजनिक गर्नुभयो ।
सो अवसरमा प्रमुख अतिथि एवं वरिष्ठ साहित्यकार कायस्थले जीवनमा आफूले देखेभोगेका विषय ने कथामा आउने भएकाले त्यसलाई उचित भाषा दिएर सुधार्ने जिम्मा लेखककै हुन्छ भन्नुभयो । साथै उहाँले यो शहर आफ्नो पुख्यौली थलो भएकोले म बन्दीपुरे भक्तपुरको नामक कृति यसै ठाउँमा सार्वजनिक गर्ने पनि बताउनुभयो ।
सम्पादक तथा कथाकार मधिकर्मीले यता आएर लघुकथा लेखनमा सबैको चासो र सक्रियता बढेकोमा प्रसन्नता व्यक्त गर्दै लघुकथालाई उठाउन स्रष्टाहरुले ध्यान दिनुपर्ने बताउनुभयो । साथै उहाँले लघुकथामा लघुकथाको स्तरीयताको लागि समयको आयाम र दृष्टिकोणतर्फ विशेष सचेतता अपनाउनुपर्छ भन्नुभयो ।
लघुकथा केन्द्रका अध्यक्ष लता केसीले नयाँ स्रष्टाहरुलाई प्रोत्साहन र हौसला चाहिने बेलामा यसप्रकारको कार्यले अझ उर्जा मिल्नेछ भन्दै शुभकामना व्यक्त गर्नुभयो । भक्तपुरको सिर्जना अभियान समाजले यसको प्रकाशन गरेको हो ।
No comments:
Post a Comment