बकुल्लो र कौवा
-दिव्य गिरी
बकुल्लो दिनभर खोला किनारमा बसिरह्यो । साँझसम्म पनि उसले खोलामा एउटा माछा पनि देखेन । ऊ भोकले रन्थनिएको थियो । कालो र दुर्गन्धित खोला एकनास बगिरहेको थियो । बकुल्लो उडेर जान लाग्दा त्यही बेला एउटा कौवा मुसालाई चुच्चोमा च्यापेर बकुल्लोभन्दा अलि कति नजिक टाढा बसेर मुसालाई चुच्चोले ठुँगीठुँगी खान थाल्यो । बकुल्लो कौवातिर फर्केर कौवाले मुसो खाएको हेरिरह्यो ।
‘आज तिमीले माछा खान पाएको छैनकि के हो ?’ कौवाले सोध्यो ।
‘छैन, यो खोलामा माछा छ कि भनेर ढुकेर बसेको रातै पर्न लागिसक्यो ।’ बकुल्लोले निरास भएर भन्यो ।
‘त्यस्तै हो भने यही मुसो खाऊ ।’ कौवाले सहानुभूति दर्शायो ।
‘भैगो नखाउँ, अहिलेसम्म मरेको जन्तु खाएकै छैन ।’
‘यी सहरका मान्छेहरूले खोलामा ढल मिसाएर जलजन्तु सबै मारिसके । यो दुर्गन्धित खोलामा माछा कुर्दाकुर्दै अब तिमी भोकै मर्छौ ।’ यतिभन्दै कौवा आधा मुसो त्यहीँ छोडेर भुर्र उडेर गयो ।
No comments:
Post a Comment