दुलहाजी
-राजबाबु श्रेष्ठ सागर
राममाया छोरीकी विवाहको कारण निकै चिन्तित् थिइन् । उनी साठ्ठी कटिसकेकी थिइन् । केटा खोज्दाखोज्दा हैरान् भएकी थिइन् । छोरी पनि पैँतिस वर्ष पुगिसेकेकी थिई । तर जति केटाहरू आए पनि उनकी छोरीलाई कसैले विवाह गर्न मान्दैनन् थिए । कारणः राममायाकी छोरीलाई विवाह गर्नुभनेको राममायालाई पाल्नुसँगै दुलहाजी बस्नुपथ्र्यो ।
एक दिन लमीबाजेले एउटा केटा लिएर आए राममायाको घर । छोरीले भान्साबाट चिया लिएर आइन् । सबैजनाले एकैसाथ चिया लिए ।
“बाबु, यिनै हुन् मेरी छोरी फूलमाया । यी घर वरिपरिका आँखाले भ्याउनेजति बारीखेत गरी सय रोपनी सबै मेरै हुन् ।’’ उनले चियाको सुर्को लगाउँदै भनिन् ।
“मेरो बारेमा त सबै भन्नुभएकै होला बाजेले, हैन र, बाजे ?’’
“हजुर ! मैले सबै भनेकै छु । केटा देखिहाल्नु भो ।’’
“अनि ! बाबुको उमेर कति नि ?’’ राममायाले केटालाई सोधिन् ।
“चालीस ।’’
’’ए !’’
राममाया खुसी भइन् । फूलमाया पनि खुसी भई ।
“लौ ! छोरी, बाबुलाई तेरो कोठाँ लिएर जा र कुराकानी गर ।’’ राममायाले छोरीलाई भनिन् ।
फूलमाया उठी र केटालाई “आउनूस्’’ भन्दै कोठातिर छिरी ।
केटा पनि फूलमायापछि लाग्यो ।
एकछिनपछि कोठाबाट दुवैजना मुस्कुराउँदै निस्के ।
“केटी मनप-यो त बाबु ?’’ लमीबाजेले सोधे ।
“मन प-यो ।’’ भन्दै केटाले थप कुरा राख्यो । “मेरा पनि कोही छैनन् । म टुहुरो हुँ । जसले मलाई पढाए लेखाए उनीहरू नि मरेर गए । म दुलहाजी बन्न तयार छु ।’’
“बाबु, हामी छौँ । म नि आमा नै हुँ । बाबुलाई छोरो नै स्वीकार्छु ।’’
राममायाले यति भन्दै केटा र छोरीलाई अँगालिन् र आँसुका ढिका झार्दै रुँदै भनिन्, “तिमी दुलहाजी हैनौं, मेरो भाग्यमा छोरो भएर आएका रै’छौ । नत्र त मलाई पाल्नुपर्छ भनेर कसैले मेरी छोरीलाई ब्या नै गरेनन् ।’’
No comments:
Post a Comment