पश्चाताप
-विष्णु भण्डारी आचार्य
बेलबारी, मोरङ
"तँलाइ भाते कामचोर" उर्दू भाषामा कडा गाली खानुपथ्र्यो ठेकदारको । सहनुको विकल्प के हुनु, विवश थियो ऊ, अर्काको देश, पराया मान्छेसँग, प्रतिकार गर्न सक्ने कुरै थिएन ।
पसिनाको धारो छुटेर जीउका लुगा तातोपानीमा चोबलेर लाए जस्ता हुन्थे, हातमा पटपटी ठेला उठेर पनि मरिसकेका थिए ।
ठाडो पिठ्यूँनलाई कामगर्दा समेत ठेकदारको भद्दा गाली खानु मात्र कहाँ हो र, कहिलेकहीँ त गालीसँगै लात भेट्थ्यो सुमनले ।
६ महिनामै घरबाट जाँदाको ज्यान सुकेर आधा भइसकेको थियो । घरतिर त्यति फोनपनि गर्दैन थियो ऊ । कहिलेकहीँ गरी आल्दापनि एक दुई कुरा बोल्थ्यो ।
गा’को ऋण तिर्न मरितरि पठाउनु बाहेक, घरमा पैसा पठाउन त परैको कुरो फोनमा बोल्नसम्म गाह्रो मान्न थालेकोदेखि बुढेसकालका बाआमा चिन्तित हुनु स्वभाविकै थियो ।
गएको एक वर्ष पनि पुगेको थिएन, खबरै नगरी सुमन घर आइपुग्यो । बाआमा आश्चर्यमा पर्नुभयो –“हन तँ त खबरै नगरी छिट्टै आइस् त, कहिले जानेगरी आइस त सुमन ?”
सुमनका आँखामा टलपल आँसु टिल्पिलाए, मलिन बोली निकाल्यो– “यो कुरा सोधेर मलाई अझ दुःखीतर लज्जित नबनाउनुहोस् बाबुआमा ।"
होण्डा र महङ्गो मोबाइलको माग गर्दै घुक्र्याएको, बिना काम आवारा भएर हिँडेको, पश्चातापले जलाउँदैछ ऐले मलाई । मलाई ति केही चाहिन्न, पुरानै साइकलले काम चलाउँछु, भन्दै खुकुरी हँसिया र कोदालो बोकेर दुई तीन वर्षदेखि बाँझिएको बारीतिर लाग्यो सुमन ।
No comments:
Post a Comment