क्लिक क्लिक
-रञ्जुश्री पराजुली
बाँसबारी, काठमाडौँ, हालः अमेरिका
सुरक्षाकर्मी र स्वयंसेवकको बिल्ला झुन्ड्याएकाहरु तस्बिर खिच्न व्यस्त देखिन्थे । पुलिस र सैनिक गण आगोको मुस्लोसँग पैठोजोरी खेल्दै उद्वार कार्यमा दत्तचित्त थिए । अनुहारमा मास्क लगाएका केही पानीको फोहरा छुटाउँदै छालाका बुटले बलेको चिलगाडीको अवशेषका टुक्राटाक्री टेक्दै र पन्छाउँदै उद्वार कार्यमा एकजुट थिए । आफ्नो ज्यानको परवाह नगरिकन ती राष्ट्रप्रेमी नागरिक अप्ठेरो परिस्थितिमा सदैव अग्रिम पंक्तिमा उद्वारकार्य गरिरहेका हुन्छन् ।
विदेशमा शिक्षा आर्जन गरेर सो सीपलाई स्वदेशको पवित्रभूमिमा सिंचन गर्ने उद्देश्य लिएर परदेश पुगेका ती अनगिन्ती कलिला भविष्यका कर्णधार बिदामा घर आउँदै गरेका थिए । तर तिनले कसैलाई भेटन पाएनन् किनकी आगो दन्किएको उक्त चिलगाडी आधा जसो डढेर खरानी भइसकेको थियो । एक दुइ चेपुवामा चेपिएकाहरु “बचाउ बचाउ“को चित्कार गर्दै थिए । नेपालीभूमिको प्राकृतिक सुन्दरताको दृश्यावलोकन गर्ने उदेश्यले आउँदै गरेका कैयौं विदेशी पर्यटक पनि त्यो चिलागाडीमा सवार थिए । सिट्टी र साइरनको तेज आवाज छर्दै घाइतेहरुलाई लिएर एम्बुलेन्सहरु अस्पतालतिर गुड्दै थिए ।
रमितेहरु अटेसमटेस र धक्काधक्की गर्दै “यो भएन र त्यो भएन“ भनेर टिकाटिप्पणी गर्दै थिए । हातमा मोबाइल लिएका र घाँटीमा क्यामेरा झुन्ड्याएका पत्रकारहरु आ–आफ्ना यन्त्रमा त्यो दृश्य कैद गर्न “क्लिक क्लिक“ आवाजसँग खेल्न व्यस्त थिए । त्यसै बीच धुवाँले ढाकिएको थुप्रोको चेपुवाबाट “बचाउ बचाउ“ भन्ने आवाज आयो । सो दृश्यको तस्बिर खिच्न ठेलमठेल भयो ।
क्लिक क्लिकको आवाज एकै पटक धेरै सुनियो । त्यो आवाजसँगै चेपुवामा पर्ने व्यक्तिको आँखा भने सधैंको लागि बन्द भइसकेको थियो ।
No comments:
Post a Comment