म सँग भन्नुपर्ने कुरा धेरै छन् । बोलेर म ती कुरा राम्ररी अभिव्यक्त गर्न सक्दिनँ । खासमा, बोलेर म आफ्ना कुरा राम्ररी आर्टिकुलेसन गर्न सक्दिनँ । लेखेर नै आफ्ना कुरा सबैभन्दा राम्ररी अभिव्यक्त गर्न सक्छु । जसरी अभिनयमार्फत अभिनेताले, खेलमार्फत खेलाडीले, नृत्यमार्फत नृत्यकारले, गीतमार्फत संगीतकर्मीले, चित्रमार्फत चित्रकारले आफूलाई अभिव्यक्त गर्छ, त्यसरी नै लेखनमार्फत म आफूलाई अभिव्यक्त गर्छु ।
एक्लिँदै, उपेक्षित हुँदै र दुर्घटनाग्रस्त हुँदै गएको इमान, सत्य र न्यायलाई बचाउन संसारलाई मैले केही भन्नु छ । कुलदेवताझैँ पुजिँदै आएको धूर्ततासँग लड्न पनि संसारलाई मैले आफ्नो कुरा बताउनु छ । यसकारण म लेख्छु ।
कर्णसँग धनुर्विद्या थियो । महाभारत युद्धमा पूरा इमानका साथ उनले एक्लै लडे । अर्जुनसँग धनुर्विद्याका अतिरिक्त कृष्णको पनि साथ थियो । आखिर कृष्णकै छलनीतिले कर्ण मारिए । कर्ण यहाँ एक प्रतीक हुन्, एक उदाहरण हुन् । तपाईं कर्णको ठाउँमा सुदाम, लोहासुुर, शम्बूक, अजित मिजार वा नवराज विकलाई पनि राख्न सक्नुहुन्छ । मलाई धर्मयुद्धको नकाव धारण गरेर छल गर्ने कृष्ण होइन, मृत्युकै मूल्यमा पनि इमान र नैतिकता नत्याग्ने कर्णहरूका पक्षमा आवाज उठाउनु किन महत्त्वपूर्ण छ भनेर संसारलाई सुनाउनु छ । यसकारण म लेख्छु ।
लेख्नु मेरा लागि सास फेर्नुजस्तै हो । यसकारण म लेख्छु ।
शनिबार साहित्य
Saturday, November 25, 2023
म किन लेख्छु ? (अङ्क ६ मा प्रकाशित)
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment