शनिबार साहित्य
Saturday, November 25, 2023
म किन लेख्छु ? (अङ्क ६ मा प्रकाशित)
म किन लेख्छु आफैँमा एक जटिल प्रश्न हो । यसको जवाफ उमेरसँगै फरक पर्दै जान पनि सक्छ किनभने मानिस समयसँगै परिपक्व, उदार, व्यवहारिक र अनुभवी पनि हुँदै जान्छ । मेरो हकमा पनि यही मान्यता लागु हुन्छ । मैले कक्षा ५ मा पढ्दादेखि १२ वर्षको उमेरबाट लेख्न थालेको हुँ । त्यो बेला रहर लागेर लेख्न कोसिस गर्थें । मेरा गुरुहरूले मेरो मगजमा लेख्ने मान्छे असल हुन् भन्ने छाप पार्नु भएको थियो । मलाई पनि असल मानिसमा पर्नु थियो । अलि पछि लेख्नका लागि धेरैभन्दा धेरै पढ्नु पर्छ भन्ने बुझियो । त्यसपछि विस्तारै लेखन र पठनमा आनन्द आउन थाल्यो । अनि यो एउटा लतजस्तो बन्दै गयो । आदत जसरी बस्न थाल्यो ।
विद्यालय शिक्षापछि पत्रकारिता विषय पढेँ । यो पनि लेखन क्षेत्रलाई व्यापक बनाउने लक्ष्यले पढिएको थियो । पत्रकारिता पढेपछि आम्दानीका लागि पनि लेख्न थालियो । जागिर पनि लेख्ने, सम्पादन गर्ने, पढ्ने क्षेत्रसँग तालमेल मिल्ने भएकाले लेखन क्षेत्रलाई छाड्नु परेन । बरू पैसा कमाउनु पर्छ, राम्रो जागिर खानु पर्छ भन्नेजस्ता सोचभन्दा राम्रो लेख्नुपर्छ, पढ्नु पर्छ, मानिसहरूसँग सम्पर्क बढाउनु पर्छ भन्ने हिसाबले जीवनलाई अघि बढाइयो ।
बुझ्दै गएपछि लेखन आफ्नो खुसीका लागि मात्र हुनुहुन्न, यो आत्मरतिको विषय होइन भन्ने भयो । यो स्वान्त सुखायमात्र होइन, यो त सामाजिक दायित्वको विषय हो भन्ने बोध भयो । लेखनले सामाजिक रूपान्तरणमा सघाउँछ, यसैले लेखन समाजको उन्नति र प्रगतिको लागि हो भन्ने लाग्यो ।
खासमा हामीले जे जे, जुनजुन काम गरे पनि त्यसले आफ्नो जीविकाका साथै समाज र राष्ट्रका लागि, अझ सम्पूर्ण मानवताका लागि, प्रकृति र पर्यावरणका लागि पनि केही गर्नुपर्छ । नयाँ पुस्ताका लागि केही गर्नुपर्छ । लेखन यसका लागि एक शक्तिशाली क्षेत्र हो । त्यसैले म समाजको पिँधमा रहेका मानिसको सशक्तिकरणका लागि लेख्छु । आवाजविहीनको आवाज सुनाउन लेख्छु ।
समयक्रमसँगै मान, सम्मान र प्रतिष्ठाका लागि लेख्नु, पैसाका लागि लेख्नु लेखनको लक्ष्य होइन रहेछ भन्नेमा म प्रष्ट हुँदै गएको छु । समतामूलक समाज स्थापनाका लागि लेख्नु पर्छ । प्रकृति संरक्षण र मानवताको लागि लेख्नु पर्छ । सबै मानिस, जीवजन्तु र पर्यावरणसमेत स्वस्थ, समृद्ध होउन् भन्ने हेतुले लेख्नु पर्छ । अझ सिंगो मानव जगतको मुक्ति र मोक्षको लागि लेख्न सक्नुपर्छ । पुर्खाका गैरवगाथा, वर्तमानका तस्बिर र भविष्यका आशाका लागि लेख्नु पर्छ । मेरो लेखन यसैको प्रयासका लागि हो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment