जुट्नु र छुट्नु
चढ्दो जवानीसँगै
बढेका नातासम्बन्धहरू
ढल्दो जवानीसँगै
एक एक गर्दै
टुट्दै जान्छन् ।
मासका कोसाझैँ
प्वाट्ट फुटेपछि
टाँसिएका गेडाहरू
आ-आफ्नै बाटो लाग्छन् ।
मक्ख पर्छौ किन जुटेकामा ?
बिलौना गर्छौ किन छुटेकामा ?
जुट्नु र छुट्नु त
हो एउटा
संयोग मात्रै ... !
विषमता
सुकुमारी चुचुराहरू
उषाको उठानमा
भर्खरै नुहाएर
प्रज्ज्वलित कान्तियुक्त
अद्वितीय मुस्कान छाड्छन् !
कुप्रा खोँचहरू
अभिशप्त वर्तमानबिच
वर्तमानमै तुहाउँछन
भविष्यको गर्भ
र
सुक्सुकाउँछन्
सेतो पछ्यौरीभित्र !
रविरश्मिको पहिलो केन्द्र
शिखरमै छ युगौँदेखि
माथिकाहरूले
खोँचमा हेरेको इतिहास छैन् !
शङ्कालु सरिता
आफ्नो सतह आफै मिलाउँदै
सिन्धु निसाना बनाएर
पत्थरका बाबजुद
अनवरत
भुमरी र भेलका बुलन्द आवाज घन्काउँदै
उर्लिरहेकी सरिता
सिन्धु पुग्ने प्रेरणाले बहन्छिन् ।
कहिलेकाहीँ
दूषित तत्वहरूसँग हार खान्छिन्
टुकुचा, बागमती, विष्णुमती
ढलमती हुन्छिन्
र शङ्कालु मनोभाव राख्छिन्
के म गन्तव्यमा त पुग्छु ?
शङ्कालु वातावरणमा
हुस्सु र कुहिरोबिच
खोँचमा
पथ हराएको यात्री जस्तै
अनवरत
बगिरहेकी छन्
सरिता
सिन्धु निसाना बनाएर
शङ्कालु गतिमा ... ।
(प्रस्तुत कविताहरू कवि स्वयंको कविता सङ्ग्रह निर्मुक्त बाट साभार गरिएको हो ।)
No comments:
Post a Comment