Showing posts with label म्यामराज राई. Show all posts
Showing posts with label म्यामराज राई. Show all posts

Monday, June 15, 2026

साभार लघुकथा (अङ्क ३५ मा प्रकाशित)


मझौला उद्योगको प्रबन्धकमा चुनिएपछि फूलमालाले स्वागत गरे । सौहार्दपूर्ण वातावरणमा बधाईसँगै शुभकामना पाएँ । सट्टामा निःशुल्क सबैलाई बराबर धन्यवाद दिएँ । कञ्चनजङ्घा खुलेझैँ सबै खुलेका थिए । खुसी देखिए । कार्यालय सम्हालेको पहिलो मसान्तमा आउने महिनाको समयतालिका बनाउन लागें । त्योभन्दा पहिले कम्पनीको नियमानुसार को ? कुन दिन बिदा बस्न चाहन्छ ? सबैसँग सोधें । त्यो शाखामा जम्मा कामदारी दशजना थिए । त्यसमा आधा सङ्ख्याले मलाई सामूहिक रूपमा उल्टै प्रस्ताव राखे ।

–“कम्पनीको बिदा बारे नियम परिवर्तन गर्न मिल्दैन, सर ?“

– “किन र !“

– “दैनिक आठ घण्टा मात्र काम गर्दा कम्पनीको उद्देश्यमा पुग्न सकिँदैन । सेवाग्राहीको माग पुर्‍याउन नसकिएला कि !”

– “मनासिब विषय उठायो, जस्तै लाग्यो । कम्पनीकै खातिर सोच्दारहेछन् ।”

मनमनै सोचें । अगाडि केही बोल्न खोज्दै थिएँ, बिचमै बाँकी पाँचजनाको अर्को समूहले रोकेर विरोधको आगो ओकल्यो ।

– “हुँदैन, हुँदैन । त्यही समयभित्र मुखभन्दा हात चलाउनुपर्छ, सकिन्छ ।“

बुझ्दै जाँदा भेद खुल्यो । अघिल्लो समूह दैनिक घण्टाको हिसाबमा र पछिल्लो समूह चाहिँ मासिक तलब खाने गरी त्यहाँ दुई थरीका कामदारीहरू रहेछन् ।

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Saturday, June 7, 2025

लघुकथा (अङ्क २४ मा प्रकाशित)


 भृकुटीमण्डपमा राजावादीको आन्दोलन सुरु भयो ।

“बाजे ! राजतन्त्र र गणतन्त्रमा कुन छान्नुहुन्छ ?” रिमोट खेलाउँदै टिभी कोठामा नातिले हर्कबहादुरलाई हठात् सोध्यो ।

“गणतन्त्र ।” आन्दोलनको दृश्यमा एकोहोरिएका हर्कबहादुरले आँखा नघुमाई नातिलाई जवाफ फर्कायो । र, प्रतिप्रश्न पनि तेर्सायो, “तँलाई नि कुन मन पर्छ ?”

“खै ! कुन मन पर्छ, भनुँ ! राजतन्त्र कस्तो थियो ? देखेको भए पो ।”

“एकचोटि दुवै हातले क्रस गरेर दुवैपट्टीको कान समात । थोरै निहुर ।” बाजेले नातिलाई राजतन्त्र व्यवस्थाको महसुस दिलाउने प्रयास गर्‍यो ।

“हैन, हैन । थचक्क तलै बस्ने हैन, हौ ।”

“सिधा उभिन पनि नपाउनु अनि तल थ्याच्च पनि नबस्नु । यो त गाह्रो हुन्छ, बाजे ।”

“यही पोजिशनमा एकछिन उभ न ।”

“ऐय्या ! गाह्रो भो ।”

“लु, अब खटियामा तिम्रो खुसीले बस ।”

खुसी हुँदै नाति खटिया चढ्यो ।

हर्कबहादुरले नातिलाई स्पष्ट पार्‍यो, “सम्झ, अघिको पोजिशन राजतन्त्र र अहिलेको गणतन्त्र ।”

– हतुवागढी –६, होम्ताङ्, भोजपुर हालः जापान

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Thursday, February 27, 2025

लघुकथा (अङ्क २१ मा प्रकाशित)


"श्री मान् ! यति भएपछि पनि केही थप प्रमाण चाहिन्छ र ?” वादी पक्षका न्यायाधीशले स्वास्थ्य परीक्षणका रिपोर्टहरू देखाउँदै पढ्ने अनुमति माग्यो ।

“त्यो पर्दैन ।” प्रधान न्यायाधीशले बीचमै रोक्यो ।

पुगअपुग सत्र वर्षकी रसमति कठघरामा उभेकी थिइन् । बरु ढुङ्गा बोल्ला । उनी बोलिनन् । चाहेर पनि बोल्न सकिनन् । एकोहोरो रोइरहिन् मात्र । समाजमा मुख कसरी देखाउने भन्ने चिन्ताले हो या अन्यायमा परिने डरले । त्यो चाहिँ उनै जानून् ।

प्रतिवादीका न्यायाधीश बम्कियो – “नेम र फेममाथिको सरासर आक्रमण हो यो । यसरी गलत आरोप लगाएर अर्काको करियरमाथि धावा बोल्न पाइन्छ ? पीडित भनिएको व्यक्ति आफू झुटो भएको भएर नै हो, नबोलेकी हुन् । नत्र किन बोल्दिनन्, श्रीमान् ?”

बलियो प्रमाणको रूपमा सिसिटिभी क्यामेरामा कैद भएका दृश्यहरू सबै सामु देखाउने अनुमति माग्यो ।

“आरोपित कामदेव खेलाडी हो । त्यो दिन यहाँ थियो । विश्वासनगरको फुटेज देखायो । श्रीमान् ! लु हेर्नुहोस् । कसरी जित्ने भनेर रणनीति बनाउँदैछ । दिमाग खाली बनाउन एक घण्टा अगाडिसम्म योगामा व्यस्त थियो । त्यसैले आनन्दपुरको घट्ना बारे अनभिज्ञ भएको न्यायाधीशले स्पष्ट पार्‍यो ।

कामदेव कठघरामा उभेर बोल्न थाल्यो, “श्रीमान् ! म निर्दोष छु । थप प्रमाण हेर्न सक्नुहुन्छ । हेयर स्टाइल र जिउडाल मिल्यो भन्दैमा ममाथि कसरी शङ्काको सुई घुमाउनुहुन्छ? तपाईंले कस्तो न्याय दिलाउन खोज्दै हुनुहुन्छ?” 

लगत्तै उसले प्रधान न्यायाधीशतिर फर्केर दाहिने आँखा झिम्कायो ।

- हतुवागढी –६, होम्ताङ्, भोजपुर हालः जापान

--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Thursday, January 23, 2025

म किन लेख्छु ? (अङ्क २० मा प्रकाशित)


झण्डै दुई दशकदेखि लेखिरहेको छु । समाज र देशमा हरेक दृश्यहरू देखिन्छन् । शिक्षित नागरिकको नजरमा अवश्य राम्रा र नराम्रा कुरा हुन् भनेर छुटिन्छन् । स्वभावैले एउटा छाप बसाउँछन् तर कस्तो प्रभाव छोड्छन् भन्ने अर्थले पक्कै फरक पर्दछ । मेरो मनमा बसेका तिनीहरूलाई कलम र कपीको सहारामा बाहिर ओकल्छु – कवितामार्फत्, कथा र लघुकथामार्फत् त कुनै अरू नै विधामार्फत् । मैले लेख्ने साहित्य विशेषतः आत्मसन्तुष्टिको लागि भए पनि त्यसमा भोगिरहेको तत्कालीन समयलाई अवश्य प्रतिनिधित्व गरेको हुन्छु । समाज र देशमा हुने विकृति र विसङ्गतिलाई व्यङ्ग्य गर्दै सचेतकको भूमिकामा उभिन चाहन्छु । मेरो समाज र देश यस्तो भइदिओस् या उस्तो भए हुन्थ्यो भनेर मार्गचित्र कोरिरहेको हुन्छु । लेखक भनेको समाज र देशको पथप्रदर्शक हो । त्यसैले म प्रायः सकारात्मक नतिजोन्मुख सिर्जनामा कलम चलाउँछु । मेरो बुझाइमा सम्भवतः लेखकको धर्म पनि यही नै हो ।

हो, मलाई साहित्य मन पर्छ । सबैभन्दा पहिले पाठक हुँ । यो पुस्तामा पठन संस्कार हराउँदै गइरहेको यथार्थ हो । लेखक मर्नु हुँदैन भन्ने मान्यता राख्छु । नेपाली साहित्यमा अग्रज, समकालीन र अनुज सबै खाले लेखकहरूका साहित्यिक कृतिहरू सम्भव भएसम्म किनेरै पढ्छु । हुन त यो समय भनेको प्रविधिले वर्चश्व कायम गरेको समय हो । इच्छाशक्ति भएमा निमेषभरमा विश्व बारे जानकारी लिन सकिन्छ । म चाहिँ आजको समयलाई सदुपयोग गर्दै किताबी ज्ञान समेत लिनैपर्छ भन्ने पक्षमा छु । अध्ययनको दायरालाई फराकिलो बनाउँदै लेखन कार्य जारी राखेको छु । विकासले चरमचुली छोएको देश जापानमा कर्मथलो बनाएकोले होला, यसकै विकास गर्ने शैली मेरो देशले अंगाले कस्तो हुन्थ्यो होला भनेर कहिलेकाहीँ सोचमग्न हुन्छु । सिस्टमलाई चलाउने नभई सिस्टममा चल्ने नेतृत्व पङ्क्ति भए, विकासले गति लिन समय नलाग्ला । यी र यस्तै विषयवस्तु मेरो लेखनको खुराकहरू हुन् । ती मेरा चाहनाहरूलाई हरपल पोखिरहेको हुन्छु । 

तब लेख्न थालेँ, जब ममा साहित्यिक चेतना खुल्यो । कक्षा दशमा नेपाली विषयको अतिरिक्त क्रियाकलापमा मेरो समुदाय भन्ने शीर्षकमा एउटा कविता लेखेको थिएँ  । त्यस कवितालाई हेरेर शिक्षकले भविष्यमा कवि बन्ने छनक देखायौ है भनेर ढाडस दिनुभएको सम्झना ताजा छ । त्यही बेला मेरो दिमागमा साहित्यको बीजारोपण भएको हो । तत्पश्चात् समय मिलेसम्म कविता लेखिरहेँ । समानान्तर समयमा छोटो छोटो कथाहरू लेख्न थालेँ । तिनै छोटो कथाहरूलाई लघुकथाको फ्रेममा हालेर सबै लघुकथा बनाएँ । हाल आएर तुलनात्मक लघुकथा विधामा बढी मेरो कलम दौडिन्छ ।

– हतुवागढी –६, होम्ताङ्, भोजपुर हाल : जापान


--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Friday, December 13, 2024

म्यामराज राईका दुई लघुकथा

 

विदेश यात्रा

करिब एक महिनाको दशैँ-तिहार बिदा भयो । सिमरान सर सात वर्ष विद्यालयमा पढाएर त्यही बिदा अवधिमा एकाएक हराउनुभयो ।

स्वदेशमा मिहेनत गरे के चाहिँ हुँदैन ? खाडी जानु राम्रो हैन । उनीहरूको गुलामी बनेपछि हामीलाई हेप्छन् । हाम्रो देशलाई हेप्छन् । भाषा, संस्कार, संस्कृति, खानपान, भेषभूषा केही मिल्दैन । विचार नमिलेपछि जानाजान आगोको भुङ्ग्रोमा हाम फाल्नु जस्तै हो अर्काको देश जानु भनेको । भूतपूर्व विद्यार्थीहरू मध्ये पहिलोले सिमरान सरको बारेमा आफूहरूलाई पढाउने क्रममा होस् या चिया गफमा सम्झाउने कुराहरू सम्झ्यो ।

नेपाली पढाउनुहुन्थ्यो । मिजासिला हुनुहुन्थ्यो । साहित्य भनेपछि हुरुक्कै । यतिसम्म कि नेपाली साहित्यको रस हामीमा समेत भरिदिनुभो । र, नै अहिले मेरो फुर्सद साहित्य पठन, लेखनमा सदुपयोग गर्न सकेँ । दोस्रो विद्यार्थीले पनि सिमरान सरसँग जोडिएका सम्झानाहरू मनभित्र असरल्ल पार्यो ।

सिमरान सरले पढाएका ती दुवै विद्यार्थीहरू छ महिनाको अन्तर भए पनि एकै वर्षमा जापान प्रवेश गरेका रहेछन् । संयोगवश अहिले दुवैजना एकै कम्पनीमा काम गर्छन् । साप्ताहिक बिदा आइतबारको दिन व्यस्त शहर टोक्योको एउटा पार्कतिर टहलिन गए । त्यो पार्कमा अचानक सिमरान सरसित ती दुईको भेट भयो । हराएको बुवा पराई भूमीमा भेटेको भान भयो दुवैलाई । हत्तपत्त पहिलोले जिज्ञासा राख्यो, “सर, पनि यहाँ ? तपाईले विद्यालय अचानक छोडेदेखि तपाईको अभाव महसुस गरिरह्यौँ ।”

दोस्रोले पनि कौतुहलता पोखिहाल्यो, “विदेश जानु हुँदैन भन्दै यसको विपक्षमा उभ्नुहुन्थ्यो त, सर !”
“जापान, कोरिया लगायत विकसित देशमा जानु हुँदैन त भनेको जस्तो लाग्दैन ।”

Wednesday, December 4, 2024

लघुकथा (अङ्क १८ मा प्रकाशित)

आमाको मन

-म्यामराज राई
हतुवागढी-६, होम्ताङ्, भोजपुर हालः जापान 


"ढोग गरेँ, आमा !" नरेश दम्पत्ति दुवैले एकसाथ आमा शुभमायालाई ढोगे । तर, आमाले बेवास्ता गरिन् । एक शब्द बोलिनन् । ढाड फर्काएर उभिरहिन् ।

नरेश आफ्नी नवदुलहीका साथ आमालाई लिन वृद्धाश्रम पुगेको थियो । सूर्यको किरणले धरतीमा उजेलिए जस्तो छोरो र बुहारीको आगमनमा आमाको मुहार उजेलिएन । बरु करिब आधा दशक पहिले भोगेको पीडाले उनलाई नराम्ररी झस्कायो । ’बिनसित्ति गाली गर्ने, कुट्ने छोरोसित को बस्छ ? बालबाल बचेर यहाँसम्म आएँ । तँसँग जान्छु होला जस्तो लाग्छ ? यत्रोको नि जान्नँ ।’ मनमनै छोरोमाथि आक्रोश पोखिन् ।

नरेशले माफी माग्यो । रोइकराइ गर्‍यो ।

“आइन्दा कहिल्यै दुःख दिन्नँ, आमा ! उबेलाको मेरो गलत आदतहरू सबै त्यागेको छु । हेर्नुहोस्, त ! फूल जस्ती बुहारी ल्याइदिएको छु ।

“अब त म आएँ । मलाई जन्म दिने मेरी आमा सरह हजुर हुनुहुन्छ । घर जाऔं, आमा !’’ बुहारीले फकाइन् ।

“त्यस्ले कुट्छ ।“ शुभमायाले डाँको छोडिन् ।
“कान समातें । अहिले त सुध्रेको छु नि ।"
“मैले नै अबदेखि त्यसो हुन दिन्न आमा !"

वृद्धाश्रम सञ्चालकको रोहबरमा नरेशले मायाले आमालाई सँगसँगै राख्ने वाचा गर्‍यो । वरिपरिका सबैजना शुभमायालाई फकाउनेतिर लागे । छोरोले फेरि पनि दुःख दियो भने अब त तपाईं एक्लो हुनुहुन्न, भने । झिटीगुन्टा समेत तयार पारिदिए ।

“ऐय्या ! जुत्ताभित्र यी मुर्दार ढुङ्गाहरू कसरी छिरेका ?’’ नरेशले ढोकाबाहिर चिच्याउँदै आफ्नो दाहिने पट्टिको जुत्ता टकटकायो ।

“छोरो ! पैताला घोच्ने मसिना ढुङ्गाहरू एकछिन पनि सहन सकिनस् है । तैंले पीडा दिन थालेको दिनदेखि मेरो दैनिकीमा ती ढुङ्गाहरूजस्ता पीडाहरू मैले कसरी सहिरहेको हूँला ?’’

....साथ सहयोगको खाँचो