श्रीमतीको गहना बेचेर किताप त छापें । अब विमोचन कसरी गर्ने होला ? अक्षर प्रसाद “दुखीले” साथी शब्दप्रसाद “पीडित’’सँग गुनासो गरे ।
“पीडित”— चिन्ता नगर प्रविधिको जमानामा जुमको माध्यमबाट गर्दा भै हाल्छ । हलको पैसा तिर्न नपर्ने, निम्तालुहरूलाई खाजा ख्वाउन नि नपर्ने ।
“दुखी”— तिम्रो सुझाव एकदमै ठिक लाग्यो उत्साहित हुँदै उनले भने बरु लिंक पो कसरी लिने होला ?
“पीडित”— त्यो त मेरो सालोको श्रीमतीको मितिनीको स्कूल छ । त्यहाँ जुमबाट पढाउने गर्छन् । मैले भने पछि नाइ भन्दैनन्
“दुखी”— त्यसो भए कुन समय उपयुक्त होला ? दिउँसो अफिस, घरको कामले फुर्सद हुँदैन । साँझ विशेषगरि नारी श्रष्टालाई खाना पकाउने खाने गर्दा नौ बजिहाल्छ ।
“पीडित”— राती १० बजे राख्दा ठिक्क हुन्छ । त्यस पछि साहित्यकारहरू फुर्सदमा हुन्छन् ।
“दुखी”—तिमीले ठिक भन्यौ । कार्यक्रम त भब्य गर्नुपर्छ । म सय जनालाई निम्ता गर्छु तिमीले सय जना बोलाउ । दुईसय जना भएपछि भन्या जस्तो कार्यक्रम भै हाल्छ । बरु कहिले गर्ने होला ?
