Showing posts with label प्रभा आचार्य. Show all posts
Showing posts with label प्रभा आचार्य. Show all posts

Wednesday, March 4, 2026

पुस्तक समीक्षा (अङ्क ३२ मा प्रकाशित)


लघुकथाकार आचार्य प्रभाको विधुर पुरुष नामक लघुकथासङ्ग्रह २०७९ मा प्रकाशित भएको छ । यस कृतिभित्र उनले लेखेका एकल वृद्ध, स्पर्म डोनर, गुलाबसँगै ओइलिएको माया, आफ्नैको प्रहार, पाठ लगायत विभिन्न शीर्षकका १०० वटा लघुकथाहरू राखिएका छन् । यसमा सङ्गृहीत १०० वटै लघुकथा पाठकलाई प्रभावकारी रुपमा आकर्षित गर्न सक्षम रहेका छन्‌ । यस सङ्ग्रहभित्रको एकल वृद्ध शीर्षकको पहिलो लघुकथामा बुबाको कुरा सुनेर रविनलाई नमिठो लाग्छ । बुबाको कोठाबाट रविन निस्केर कोठामा गएर सुष्मालाई भन्दछ सुष्मा बुबाले बोलाउँदा तिमीले किन नसुनेकी ? बुबालाई अप्रेसन गरेको ठाउँ दुखेको रहेछ अरु केही गर्न गएर सोध्न त सक्थ्यौ भनिएको छ । प्रेमको परिभाषा शीर्षकको लघुकथामा विवाह प्रेमको परिभाषित रुप हुनुपर्छ जो सम्झौता र लिनुुदिनुमा गरिनुहुन्न । म विवाह गर्छु तर सम्झौतामा होइन भनिएको छ ।

लघुकथा भन्ने शब्दले छोटो कथा भन्ने अर्थ दिन्छ तर अङ्ग्रेजी साहित्यमा भने जति लामो कथालाई पनि सर्ट स्टोरी भन्ने चलन छ । चिहानमाथिको घर शीर्षकको लघुकथामा आमाको चिहानमाथि बनाइएको घरमा रङ लगाउन भनी दुई छोराछोरी र बाउ आएका थिएँ । भोलि स्व. आमाको वर्षदिनको काम थियो । बाउ धमाधम रङ लगाइरहेका थिएँ भनिएको छ । यसभित्र लेखिएका लघुकथा खारिएका, माझिएका र टलक्क टल्किएका छन् । थोरै लेखेर पनि गुणस्तरमा ध्यान दिन सके कृतिको महत्त्व बढ्नेछ । यस तथ्यलाई लघुकथाकारे प्रभाले मनन गरेकी छिन् । अखबारे साहिँलो शीर्षकको लघुकथामा सूरबीरबा पत्रिका हातमा लिएर टोलाइरहेका थिए । छोरीले बा खाना खान आउनु भन्दा झसङ्ग भए । उसका आँखा वरिपरि अखबारे साहिँलोकै छाया सल्बलाइरह्यो दिनभरि भनिएको छ । 

उनले लेखेका लघुकथामा सकारात्मक विचारभावको प्रस्तुति पाइन्छ । उनका प्रेमको परिभाषा, ज्यानमारा रोग, मदस्या आदि लघुकथामा सकारात्मक भाव पाइन्छ । यसभित्र १०० वटा लघुकथा गाँसिएका छन् । विषयवस्तुका हिसाबले बहुमुखी छन् । भाषा सरल छ । कसिएको छ । प्रस्तुुति मिठो छ । सुुरम्य छ । लघुत्व छ । सङ्क्षिप्त छ । पढ्दा निकै आनन्द आउँछ । सङ्ग्रहभित्रका पात्र, परिवेश र घटना हाम्रै समाजमा देखिएका सुनिएका र भोगिएका छन् । मान्छेका प्रवृत्ति र उसले बिर्सदै गएको आफ्नो धरातल तथा हराइरहेको मानविय संवेदनालाई पनि यस कृतिले आफ्नो विषय बनाएको छ । 

आशावादी भएर समाजका विकृतिलाई निर्मूल पारेर एउटा सुन्दर समाज निर्माण गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नका लागि यस सङ्ग्रहभित्रका कथा सक्षम छन्‌् । स्रष्टा एउटा समाजको द्रष्टा पनि भएकाले ऊ यो समाजबाट अलग हुन कत्ति पनि सक्दैन । यही समाजमा रहेका सङ्गत, बिसङ्गत सबै कुरासँग पौँठाजोरी खेल्नुनै पर्छ । लघुकथाकार आचार्य प्रभाका लघुकथामा नरनारी समबन्धका लघुकथाको प्रधानता पाइन्छ । उनका एकल बृद्ध, ऊ आगो भए तिमी पानी बन्नु, चिहानमाथिको घर, मौकाको पर्खाइ, विधुर पुरुष, गुलाबसँग ओइलाएको प्रेमलगायतका लघुकथामा नरनारी सम्बन्धलाई प्रस्तुत गरिएको छ ।

Thursday, June 5, 2025

लघुकथा (अङ्क २४ मा प्रकाशित)


"मेरा तीनवटी छोरीहरू छन् ।” मैले उस्को प्रश्नको उत्तर दिएँ ।

– “ए… छोरीहरू भएकै राम्रो । छोरा काम लाग्दैनन् दिदी । तपाईं त भाग्यमानी ।” उस्ले मेरो जवाफ पाएपछि यसै भनी ।

म वल्लो बेडमा ऊ पल्लो बेडमा आ–आफ्नै रोगको कारणले थेरापी गर्दै थियौं ।

घरी घरी फोनमा बाहिर भएका छोरासँग उसको कुरा पनि हुँदै थियो । मानौं बिरामी आमाको परदेशी छोराले खुब चासो लिइरहेको थियो । पैसा हाली दिने कुरो पनि चल्दै थियो ।

भोलिपल्ट फेरि उसरी नै हामी आ–आफ्नै बेडमा लडेका थियौं । छेउमा उस्को कान्छो छोरो पनि आमालाई रुँग्न बसेको थियो । आमालाई ल्याउने, लैजाने ड्युटी सायद उसैको थियो ।

भोलिपल्ट फेरि उसैले कुराको सिलसिला शुरू गरी । –“दिदी छोरीहरू कता कता छन् ?” मैले सटिकमा जवाफ दिएँ । फेरि मेरो जवाफ सकिन नपाउँदै उस्ले भनी । –“दिदी तपाईं त भाग्यमानी । छोरीहरू मात्र रहेछन् ।”

फेरि पनि यस्तै जवाफ सुन्दा अब चाहीँ मलाई पनि अत्ति भो र भनें । –“बहिनी तपाईं छोरा काम लाग्दैनन् भनेर भन्नु हुन्छ । तपाईंलाई स्याहार्ने छोरा नै देख्दैछु त ! के तपाईं चाहीँ अभागी?” (छेउमा उभिएको उस्को छोरालाई) ईंगित गर्दै मैले भनें ।  îîî

मेरो जवाफले उसले अन्कनाउँदै भनी । –“हैन नि ! दिदी, छोरीले आमाको सबै कुरा बुझ्छन् । आमाको लाउने के छ? छैन बुझेर ल्याई दिन्छन् तर छोराले त !” भन्दै ओंठ लेर्प्याई ।

मैले भनें–“ त्यो त छोरा र छोरीको प्राकृतिक गुण हो । छोरीले जस्तै आमाको पेण्टी, ब्रा छ, छैन? भनेर छोराले कहाँ सोध्छ त? उनीहरूले झनै ठुलो जिन्मेवारी वहन गर्दैछन् त ! योभन्दा के चाहियो ? तपाईं पनि  भाग्यमानी ।”

मेरो वाक्यले उसँगै उभिएको उस्को छोरा पनि नतमस्तक भयो । फेरि अन्त्यमा मैले भनें । –“छोरा र छोरीको धेरै, थोरै माया भन्ने हुन्न । प्रकृतिले नै उनीहरूको व्यवहारमा फरक देखाएको मात्र हो । उनीहरूको आ–आफ्नै जिम्मेवारी हुन्छन् । हाम्रो बुझाईमा मात्र छोरा र छोरीको मायामा भिन्नता देखिएको हो बहिनी ।”

यति भनेर म आफ्नो थेरापी सकिएर बाटो लागें । ऊ पनि छोराको काँधको भर लिएर बाहिर निस्किंदै थिई ।

– अमेरिका हालः काठमाडौँ

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।