Showing posts with label कल्पना मरासिनी. Show all posts
Showing posts with label कल्पना मरासिनी. Show all posts

Tuesday, July 14, 2026

लघुकथा (अङ्क ३६ मा प्रकाशित)


"लौन बित्याँसै पर्‍यो नि !’’ ढिकी कुट्दै गरेकी आमाले ओखलमा धान लाउँदै गरेकी छोरी बिमलीतर्फ हेर्दै भनिन् । बिमली अक्कमक्क पर्दै सोधी, “किन के भयो र आमा?’’ के भयो भन्नु नि, तँ पर सरेर मरिस्  नि राँड….!’’ बिमलीले ओछ्याएको चकटी माथिको रातो दाग देखाउँदै आमाले भनिन् ।

बिमली डरले केही सोच्न सकिरहेकी थिइन, मानौँ ऊमाथि सिङ्गो पहाड खसेको थियो ।

“अब घाम देख्नहुन्न…’’ भन्दै आमाले उसलाई पाखुरामा तानेर घरदेखि पर रहेको छाउगोठमा लगिन् ।

अँध्यारो कोठा, नमिठो बास्ना, भत्किनै आँटेको गारो, धुलै धुलोले भरिएको गुन्द्री र बाहिरी संसारबाट निकै भिन्न लाग्ने त्यस झुपडीमा छिर्दा बिमलीलाई आफू एक अँध्यारो खाडलमा खसेजस्तै भान भइरहेको थियो । त्यसमाथि एउटा पुरानो आफ्नै गुन्यूको पातलो डसना र पुरानो बर्को थमाउँदै आमा बोलिन्, “ल अब नचोखिउञ्जेलसम्म यहीँ बस् । तेरा संगीहरूसँग खाना पठाइदिम्ला ।’’ छोरीले केही सोध्न नपाउँदै ढ्याम्म ढोका तानेर आमा बाहिरिन् । फेरि एकैछिनमा फर्केर अलि भारी स्वरमा भनिन्, “राति कसैले ढोका खोल्न लाउला, नखोल्नु नि फेरि…।’’

त्यो कोठा र आफ्नै शरीरबाट निस्केको अनौठो गन्धले वाकवाकी लाग्लाझैँ भएकी बिमली रनभुल्लमा परी । उसको कम्मर वरिपरिको नमिठो दुखाई, तल्लो पेट भत्किएर बगिरहेको रगत अनि आँखाबाट बहँदै गरेको कर्णालीको बहाव उस्तै उस्तै लागिरहेको थियो उसलाई… ।

“बिमली ! ए बिमली !“ झमक्क साँझमा चिरपरिचित आवाजमा हावासरी एकाएक सुन्तली भित्रिंदा लाग्यो, साक्षात देवी भित्रिइन् । सुन्तलीलाई हाम हालेर हिक्क हिक्क गर्दै बिमली धेरैबेर रोइरही ।

रात छिप्पिँदै गइरहेको बेला जब उनीहरू सामान्य बन्दै थिए, अकस्मात बाहिरबाट ढोका ढकढक गरेको आवाज आयो ।

मानौँ त्यो आवाज सिधै उनीहरूको मुटुमा घन बनेर बर्सिरहेको थियो । चुपचाप उनीहरू दुवैजनाले श्वास रोकेर भित्रैबाट ढोका ठेलिरहे । केही बेरपछि बाहिरबाट ढोका ढकढक्याउने काम बन्द भयो । टहटह जुनेली रात …..! बिमलीले ढोकाको चरबाट चियाउने बित्तिकै चिनीहाली, हतारमा बाहिरिँदै गरेको उहि चिरपरिचित छाया….!

- अर्घाखाँची, हाल ललितपुर

--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Friday, April 10, 2026

कल्पना मरासिनीका तीन कविता

 



थकित मान्छे !

​बिहान झिसमिसेमै बिउँझिन्छे ऊ जब सूर्य मस्त निद्रामा हुन्छ ऊ भने आफ्नै छातीभित्र जमेको नुनिलो पानीको ढिस्को फुटाउन खोज्छे तर अहँ ! केही लाग्दैन उसको ​देख्छे छिमेकी र जोरीपारीहरू खित्का छोडेर हाँसेको उसलाई थाहा छैन कुन 'मल' मा पाइन्छ हाँसोको बीउ? अनि कसरी उमार्न सकिन्छ खुसी आँसुको सिँचाइ गरेर ! ​कहिलेकाहीँ लाग्छ घर त बन्दीगृह पो हो आफैँले धुरीखाँबोमा झुण्ड्याएको अक्षताको पोको र त्यही पोकोमा भाकिएका कुलदेवता आज हेरिरहेछन् उसकै रमिता ! थाकेपछि मान्छे घरभित्र आउँछ तर भित्रै पो थाकेपछि कहाँ जान्छ मान्छे ? ​आरामको खोजीमा जब सूर्य ओरालो लाग्छ ओढेर क्षितिजको फराकिलो सिरक ऊ पुनः निसासिन्छे महसुस गर्छे कतै आफ्नैबाट छुट्टिए जस्तो आफैँभित्र लुटिए जस्तो सुरक्षाको तन्ना च्यातिएर असुरक्षित र बेसहारा भए जस्तो बयानका लागि उभ्याइएको कैदी जस्तो भन्नै मुस्किल खै कस्तो-कस्तो !

Tuesday, March 3, 2026

लघुकथा (अङ्क ३२ मा प्रकाशित)



"रोप्यो कसले हुर्कायो जसले, उसैले उपभोग नगरेपछि हामी त बेकारका वस्तु भयौँ ।’’ भोटे ताल्चा लागेको घरतिर उदासी नजर लगाउँदै र भुईंभरी पाकेर झरेका बेलाउती, कटहर, लिची, नासपाती, कागती आदि तर्फ इङ्गित गर्दै मेवा बोल्यो । सबैले मलिन अनुहार लगाउँदै एकैपटक सहमति सूचक टाउको हल्लाए ।

“साँच्चै मिठो डाले घाँसले चिनिएका हामी अब त बेमूल्यका भयौँ है !’’ घरमुनि बारीको डिलमा रहेको ठूलो कुट्मीरोको रुखले मन अमिलो पार्दै भन्यो । उसका छिमेकी साथीहरू चिप्ले फोर्सो, गिनेरी, साल, बाँस, सल्ला, मसुरे कटुस आदिले ध्यान दिएर सुन्दै थिए । “हो नि ! पहिले त मिठो डाले घाँस भनेर तपाईंलाई कति माया गरेर साँचेर राख्थे । भैसी र गाई ब्याउँदा मात्र तपाईंको घाँस काट्थे । अलि परको चिलाउनेको बोटले भन्यो । “उ बेलामा मेरा हाँगाहरू काटेर बाख्राको टाट्नामा झुण्ड्याइदिँदा कम्ता मिठो मानेर खान्थे र बाख्रा पाठाहरुले !’’ चिप्ले फोर्सोले विगत सम्झियो ।

सबै कुरा सुनिरहेको हरियो बाँसको घनाले सिर निहुराउँदै भन्यो, “हो त ! गाउँमा बस्ती हुँदा बच्चा जन्मदा कोक्रो बुन्नेदेखि लिएर मान्छे मर्दासम्म मेरा घनाहरू कति प्रिय हुन्थे अनि मेरा बच्चा तामाका मुनाहरू त कति भाँचिए कति… । आफ्नै अगाडि त्यो दृश्य देख्दा मलाई कस्तो भयो होला ! अहिले पनि सम्झँदा मुटु चिरिन्छ ।’’

सल्लाहरूमध्येको अग्लो रानी सल्लाले सम्झाउँदै भन्यो, “के गर्नु ! आज गाउँ शून्य भएपछि हामी सबै प्रयोगविहीन भएका छौँ । हाम्रा पातहरू पलाउँछन् र पहेँलिएर झर्छन् एवम् रितले …..। हर्रो र बर्रो पनि सँगै थिए । बर्रोले भन्यो, “अब त जडीबुटी मानिने हाम्रा फलहरू पनि बेकामे भए । अरू त अरू बस्तीभित्र रमाउने चराहरू पनि खै कता हराए । उहिले हाम्रा हाँगाहरूमा लगाएका गुणहरूका अब त सिन्काहरू मात्र शेष छन् ।’’

कटुसले एउटा घटना झल्यास्स सम्झेछ क्यारे ! बिस्तार गरिहाल्यो,

“थाहा छ ! मेरो लागि माझाघरे जेठा र माइला बीच कम्ता झगडा परेको थियो । उ बेला दुवैले मलाई आफ्नो साँध सीमाभित्र पर्छ भनेर दाबी गर्दा झण्डै एक वर्ष नै पानी बाराबार भएको थियो नि !’’ यो सुनेर अम्लिसो र बकैनाको बोटले एकै स्वरमा सुसेले, “जीवन बाँचेर पनि कसैको प्रयोगमा आउन नसक्नु साँच्चिकै जिउँदै मर्नु बराबर रहेछ …….।’’

-भूमिकास्थान अर्घाखाँची, हालः ललितपुर

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Wednesday, November 26, 2025

लघुकथा (अङ्क २९ मा प्रकाशित)


"अहो ! आज त तिम्रो अनुहार चन्द्रमाझैँ चम्केको देख्छु नि । फेरि दिनभरि घरमा पनि त थिईनौ । कहाँ गएकी थियौ ? नढाँटी भन त मलाई ।’’ उमाले सोधिन् । प्रश्न सुनेर कला केही नबोली मुसुमुसु हाँसिरहिन् । "आज शनिबार छुट्टीको दिन पनि घरमा नबसेर कहाँ सवारी चलेको थियो कुन्नि, रानी साबको !’’ ठट्टा मिश्रित स्वरमा उमाले प्रश्न तेर्स्याइन् ।

“आज म माइती गएर आएकी !’’ कलाको उत्तर रह्यो । “भो भो ! हामीलाई मूर्ख बनाउन नखोज । तिम्रो माइती कहाँ हो भन्ने हामीलाई थाहा नभएको हो र !’’ उमाले थपिन् । कलाले विश्वास दिलाउँदै प्रष्ट्याइन्, “साँच्चिकै हो के, पत्याउन भन्या !’’ 

उमाले आश्चर्य मान्दै सोधिन्, “तर कसरी ?’’

कलाले जवाफमा प्रष्टाइन्, “म आज प्रज्ञा प्रतिष्ठानको एक साहित्यिक कार्यक्रममा गएकी थिएँ जहाँ मैले थुप्रै साहित्य अनुरागीहरूलाई भेटेँ र मेरा खुसीहरू साटेँ । अब तिमी नै भन, जुन ठाउँमा जाँदा र जसलाई भेट्दा मन प्रसन्न हुन्छ त्यहीँ नै होइन त माइती ?’’

- भूमिकास्थान अर्घाखाँची, हाल ललितपुर

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Sunday, September 14, 2025

लघुकथा (अङ्क २७ मा प्रकाशित)


"बहिनीलाई राम्ररी हेर्नू नि, उसलाई छोडेर अन्त कतै खेल्न नजानू ।" पाँच वर्षकी जेठी छोरी उजेलीलाई अह्राउँदै बाटुली ठूलाघरे कान्छाबाको आरू खोला रोपाईं तर्फ लागिन् ।

मेलामा गाउँका डल्ली, फुर्सी, डुकी, बसन्ती र झुम्कीसँगै थिए । आरु खोलाको आज ठूलो रोपाईं भएकोले सहनाईं बाजाको तालमा रोपाहारहरू धान रोप्दै थिए । उता सेते, काले, किस्ने, मादे आदि ठट्टा गर्दै हली, बाउसे र ठींगेको काम गर्दै थिए । कान्छाबा चाहिँ खेतको आलीमा छाता ओढेर रोपाहारहरूको निगरानी गर्दै थिए । 

उता सुन्तलीको छाती बेलाबेला चरक्क भइरहेको थियो । उसको मन घरमा पाँच महिनाकी छोरीमा पुगिरहेको थियो ।

छाती गानिएर चोली भिजिसकेको थियो । 

झमक्क साँझ परेपछि घरभित्र पस्दा उसकी सानी छोरी धुलाम्मे अवस्थामा अगेनाको डिलमा निदाइरहेकी थिई । उतिखेरै जुनेली बाहिरबाट भित्र पस्नासाथ सुन्तलीले एक झापड लगाउँदै भनी, “बहिनीलाई एक्लै छोडेर कहाँ गएकी थिइस् ?’’ डराउँदै हातको बटुको देखाउँदै उसले भनी, “बहिनीको लागि पल्ला घरमा यो दालभात लिन गएकी थिएँ ।’’

अर्घाखाँची, हाल ललितपुर

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Monday, June 9, 2025

लघुकथा (अङ्क २४ मा प्रकाशित)


सुमन सर आफ्नो कक्षामा विद्यार्थीहरूको गृहकार्य हेर्दै हुनुहुन्थ्यो । अघिल्लो दिन दिएको गृहकार्यमा उहाँले शरीरका विभिन्न अङ्गहरूका कामका बारेमा लेख्न भन्नुभएको थियो । कापी हेर्दै जाने क्रममा एउटा कापीको उत्तरमा उहाँका आँखा टक्क अडिए । लेखिएको थियो, “रुन बनेका आँखा, दुख्न बनेको मन ।’’ यो देख्ने बित्तिकै उहाँलाई अचानक भित्रभित्रै सयौं सियोहरुले एकैपटक रोपे जस्तो महसुस भयो । 

उहाँ कताकता हराएर एकोहोरो बन्न पुग्नुभयो । यो देखेर सहारा बोलिन्, “सर मेरो कापी दिनुहोस् ।’’ यो सुन्नासाथ सुमन सर झसङ्ग हुनुभयो र सोध्नुभयो, “यो उत्तर तिमीले आफै लेखेको हो ?’’ डराउँदै सहारा बोलिन्, “होइन आमाले सिकाइ दिनुभएको हो ।’’ उनको उत्तर भुइँमा खस्न नपाउँदै उहाँले सोध्नुभयो, “तिम्रो आमाको नाम के हो?’’ “रमा’’ सहारा डराउँदै बोलिन् । 

यो उत्तरले सुमन सरको हृदयभित्र भुइँचालो गए झैँ भयो । थाहा नपाई सहाराको टाउकोमाथि मायालु स्पर्शले हात राख्दै गर्दा उहाँ निकै भावुक बन्न पुग्नुभयो । जब घन्टी बज्यो र उहाँ बाहिरिनु भयो, उहाँका आँसु उहाँभन्दा पहिले नै बाहिरिसकेका थिए ।

– अर्घाखाँची हालः गोदावरी– १३, ललितपुर

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।