Showing posts with label डा. घनश्याम न्यौपाने 'परिश्रमी'. Show all posts
Showing posts with label डा. घनश्याम न्यौपाने 'परिश्रमी'. Show all posts

Monday, April 28, 2025

लघुकथा (अङ्क २३ मा प्रकाशित)


चुनावमा उमेदवार भएपछि उहाँलाई निकै सकस भएको छ । उहाँको पृष्ठभूमि राजनीतिक होइन । उहाँ विश्वविख्यात उद्योगपति हुनुहुन्छ । उहाँका देशभित्र र बाहिर समेत ठुलाठुला उद्योग सञ्चालनमा छन् । ती सबैको सञ्चालन र रेखदेख कर्मचारी, मजदुर र नोकरचाकरले गरेका छन् । उहाँको सम्पत्ति अथाह छ । पार्टीले प्रशस्त आर्थिक सहयोग लिएर उहाँलाई यसपालिको संघीय निर्वाचनमा उमेदवार बनाएको हो ।

विलासी जीवन बाँचिरहेका उहाँमा शारीरिक श्रम र व्यस्तता सहने खुबी छैन । अहिले भने उहाँले सहनै पर्ने बाध्यता छ । मतदाताका अगाडि  बोलेरो हाँकेर यात्रा गर्न मिलेको छैन उहाँलाई । कहिले अर्काले हाँकेको बाइकको पछाडि बसेर त कहिले आफैंले साइकिल चलाएर बस्तीका चोकचोकमा र जनताका घर घरमा पुग्नुपरेको छ । यत्ति मात्रै कहाँ हो ? जनताका घरमा जेजस्तो पाकेको छ त्यही मिठो भन्दै खानु पनि परेको छ उहाँले । मिनरल वाटर कहाँ पाउनु जतासुकै ! त्यहीँका खोला, धारा र नल्काको पानी खान बाध्य हुनुभएको छ उहाँ । त्यसैले त उहाँको पेट पटकपटक गडबड भएको छ । शरीर थाकेर लखतरान  भएको छ भने बोल्दा बोल्दा घाँटी बस्न थालेको छ । उहाँ घरीघरी ब्यागबाट क्याप्सुल/ट्याबलेटहरू निकाल्दै खानुहुन्छ । 

दस– बाह्रदिनपछि एकदिन साँझ घरमा पुग्नुभयो उहाँ । निकै दुब्लाइस्सेछ नि, अचानक उहाँकी पत्नीले भन्नुभयो । हो, दुब्लाएँ त । कम सकस हुँदो रहेछ चुनावमा उम्मेदवार भएर मतदाताका घर घर पुग्न ! तर जितियो भने यस्तो सकस केही होइन राधा ! नेताले पत्नीलाई मायाले स्पर्श गर्दै भन्नुभयो । यतिखेर राधामा भने  केही खुसी र केही दुःखको अनुभूति भयो ।

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।