Showing posts with label तुलसी पण्डित. Show all posts
Showing posts with label तुलसी पण्डित. Show all posts

Monday, June 9, 2025

लघुकथा (अङ्क २४ मा प्रकाशित)


"ठूलै परियोजनाको काम सम्पन्न गर्यो नोर्बुले ।’’
साथीहरूमा टीकाटिप्पणी हुँदै थियो । 

“यो परियोजनामा यति धेरै लागत कसरी लाग्यो ? नोर्बुले रकम झ्वाम्म पारेको हुन सक्छ ।’’ विवादका कुराहरू बढ्दै गएपछि आखिर छानबिन समिति नै बन्यो । समितिको अध्यक्ष पनि नोर्बु नै भयो । 

विरोध हुन थाल्यो ।
“यो छानबिन समितिको अर्थ छैन । जुन व्यक्तिले परियोजना सम्पन्न गर्यो उहीँ छानबिन समितिको अध्यक्ष । यो त संसारको आठौं आश्चर्य भयो । यसमा विश्वास गर्न सकिँदैन ।’’ नोर्बुलाई समितिको अध्यक्षबाट राजीनामा गर्न व्यापक दबाब आयो । जनगुनासो अति बढेकोले नोर्बुले समितिको अध्यक्षबाट राजीनामा दिनुपर्यो । 

केही समयपछि पार्टीको व्यक्तिलाई समितिको अध्यक्ष बनाइएको जानकारी आयो । सबै जिल्लाराम परे । फेरि गएको चुनावमा नोर्बुको सहयोगलाई पार्टीले राम्ररी मूल्याङ्कन गरेकै थियो । आउँदो चुनाव खेर फाल्न कसले चाहन्थ्यो र ? छलफल चल्दै थियो । 

“यसरी झन् कसरी निष्पक्ष हुन्छ ? यो त झन् हुँदै भएन ।’’ विरोधका आवाज पनि घनिभूत हुँदै थिए ।

त्यसै बेला सरकारको तर्फबाट घोषणा गरियो ।
“अब त समितिमा परिवर्तन हुँदैन ।’’
विपक्षीहरूले अझ आवाज उठाउन थाले ।
“त्यसो भए हामी आन्दोलनको आँधीबेहरी ल्याउने छौं ?’’

सत्तापक्ष कत्ति दबिन चाहँदैनथ्यो ।
“हामी पनि आन्दोलनबाटै आएका हौ । अहिले सबैको विश्वासिलो व्यक्ति नै समितिको अध्यक्ष छ । अब निष्पक्ष छानबिन हुन्छ । सबैलाई विश्वास गरी धैर्यधारण गर्न अनुरोध गरिन्छ ।’’ तर विरोध थामिएन ।

विपक्षीहरूले आवाज बुलन्द गरे । गाइँगुइँ सुनियो, “यसले झन् निष्पक्ष छानबिन गर्छ भनेर कसरी विश्वास गर्ने दुधको साक्षी बिरालो ।’’

– भरतपुर –१३, चम्पानगर, चितवन

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।