Showing posts with label रामकुमार पण्डित. Show all posts
Showing posts with label रामकुमार पण्डित. Show all posts

Saturday, August 9, 2025

लघुकथा (अङ्क २६ मा प्रकाशित)


मेरो कपाल साह्रै फुल्न थाल्यो । आमाले भन्नु भाको, मेरो कपाल बच्चैदेखि फुल्न थालेको अरे । मैले एकजना मेरो साथी देखेको थिएँ, जसको कपाल उमेर पैतीस वर्ष हुँदासम्म फुलेको थिएन । आफ्नो भने फुलेर हैरान भएँ । 

एकदिन एकजना साथीको सल्लाहमा मैले कपालमा कलप हालेर जलप लगाएँ । यसो गर्दा एक–दुई हप्ता कालो त देखियो तर त्यसपछि झन् मेरो कपाल दिन दुई गुणा रात चौ गुणा भै फुल्न थाल्यो । यसपछि म आत्तिएँ । फेरि मैले अर्को साथीको सल्लाहमा तोरीको तेलले दैनिक कपाल मालिस गर्न थालेँ । उसैको सल्लाहमा प्रोटिन बढी भएको खाना धेरै खाएँ । अनि उसैले चिन्ता गर्नु हुँदैन भनेको थियो तर आफ्नो अरू केही चिन्ता थिएन, यही कपाल फुल्न थालेको बाहेक । यस विधिले केही सुधार भएको हो कि जस्तो लागेको थियो तर म सन्तुष्ट हुन सकिनँ । त्यसपछि मेरी केटीसाथीको सल्लाह बमोजिम मैले बैद्यनाथको औषधि प्रयोग गरेँ । तर पनि अँ हँ जाती भएन । तैपनि मैले कपाललाई कालो बनाउने प्रयास गरिरहेको थिएँ । 

मैले देखेँ, उसको कपाल एउटा पनि फुलेको थिएन । न त काला नै थिए । अचम्म मान्नुपर्ने कुरै थिएन, किनकी ऊ तक्लु थियो । उसलाई कपाल फुल्ने चिन्ता पनि थिएन । अनि याद आयो, त्यो सानो भाइ भुटानेको कपाल कसले पो हो जगल्ट्याएर उखेलिदिई हाम्रै त्यहीँ झापाको खुदुनाबारीमा र नजिकै अरू गाउँमा फालेको थियो । हो, त्यसरी जगल्ट्याएर उखेलेदेखि भुटानेको कपाल पनि फुलेकै छैन । आफूलाई भने आफ्नै कपालको स्याहार गर्न नसकेको बेलामा, त्यो भुटानेको कपाल कसरी तह लाउने भन्ने थप तनाब भइरहेको थियो । भाग्यवश पश्चिमेलीहरूले ती जगल्टोहरू मध्येबाट राम्रा–राम्रा रौँहरू आफ्नो देशलाई काम लाग्छ भनेर लिएर गए । दुर्भाग्यवश मेरो नफुलेको केही कपाललाई देशका नेताहरूले भुटानेको कपाल भनेर बेचिदिएछन् ।  

- सिमलटार, काठमाडौंँ

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Wednesday, June 11, 2025

लघुकथा (अङ्क २४ मा प्रकाशित)


कार्की छट्टु भनेर गाउँका मान्छेले भन्दथे । पेशा चाहिँ उसको राजनीति थियो । भ्रष्टाचार गरेर विकासको बजेट खायो भनेर तिनै गाउँले भन्दथे । छट्टु भएकैले उसको विरुद्धद्घअख्तियारले प्रमाण भेट्न सकेको थिएन ।

त्यही गाउँमा इमानदार व्यक्तिको रूपमा चिनिने राम भन्ने व्यक्ति पनि बस्दथ्यो । ऊ राजनीति शास्त्रमा स्नातकोत्तर सकेको अध्येता थियो । 

एउटै गाउँ भएकोले कहिलेकाहीँ साथीभाइको नाताले उसले कार्कीलाई राजनीतिक पाठ पढाउँथ्यो । आफैँले पढाएको मान्छे, त्यसमाथि भ्रष्टाचारी भएकोले ऊ निरास हुँदै अर्को साथीलाई भन्यो । 

“हेर त, मजस्तो मान्छे पछि परेर यो देशले भ्रष्टचारी मान्छे मात्रै नेता पायो । अब आउने चुनावमा म पनि उठ्ने हो ।”  

उसको कुरा सुन्नेले मौन सहमति जनायो । नभन्दै उसले चुनावमा उम्मेदवारी दियो । त्यो देखेर उसलाई चिन्नेजान्नेले भन्न थालेः “रामजस्तोले नि राजनीति गर्छ ? त्यस्तो हरिलठ्ठकेले ! राजनीति गर्न त कार्कीजस्तो धूर्त हुनुपर्छ ।”

– का.म.पा– ६, सिमलटार

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।