Showing posts with label डा. साधना पन्त 'प्रतीक्षा'. Show all posts
Showing posts with label डा. साधना पन्त 'प्रतीक्षा'. Show all posts

Friday, August 8, 2025

लेख (अङ्क २६ मा प्रकाशित)


लोकजीवनमा रहेको आस्था र निष्ठाको संयोजित रूप पनि लोकविश्वास हो । आस्था भनेको विश्वास हो भने निष्ठा भनेको त्यसको कार्यरूप हो । लोकले कुनै कुराप्रति विश्वास गर्दछ । त्यसलाई व्यावहारिक रूपमा उतारेर निष्ठा पूरा गर्दछ । लोकसाहित्यमा सबैभन्दा बढी स्थान लोकविश्वासले लिएको देखिन्छ । नेपाली समाजमा प्रचलित लोकविश्वासलाई अतिकल्पना/स्वैरकल्पनाप्रतिको विश्वास, जादु, टुनामुना र योगसँग सम्बन्धित विश्वास, धर्म–अनुष्ठानप्रतिको विश्वास, आत्मशीलताप्रतिको विश्वास तथा अन्य विभिन्न विश्वास गरी पाँच प्रकारमा वर्गीकरण गर्न सकिन्छ । प्रज्ञा नेपाली लोककथामा आएका उयर्पुक्त लोकविश्वासहरू यसप्रकार रहेका छन् : 

अतिकल्पना/स्वैरकल्पनाप्रतिका विश्वासहरू 

मानिसले प्राचीन कालदेखि नै सपना र कल्पनाका माध्यमबाट अलौकिक परिवेश, असाधारण शक्तिसम्पन्न देवता तथा अर्धदेवताहरू, राक्षस, यक्ष, किन्नर, असाधारण शक्ति, सामर्थ्य र स्वरूप भएका मानव, वस्तु आदिको कल्पना गर्दै आएको छ । अतिकल्पनाका माध्यमद्वारा निर्मित यी प्राणी र वस्तुहरूले लोकमानसमा स्थायी तथा गहिरो प्रभाव पारेका हुन्छन् । यस्तो कल्पनाप्रतिका विश्वासहरू नेपाली लोककथामा प्रशस्त मात्रामा पाइन्छन् । प्रज्ञा नेपाली लोककथामा रहेका अतिकल्पना/स्वैरकल्पनाप्रतिका विश्वासहरू यसप्रकार रहेका छन् : 

* मरेकी छोरीको पेट फुटेर निस्केको पिँडालुको बोक्रा र उखुको खोस्टाबाट कुर्ले ढुकुरको जोडी उत्पन्न हुनु, ढुकुरलाई बाबुले आफ्नी छोरीको अवतार मानेर त्यो कुर्लदा छोरी पेट दुख्यो भनेर रोएको भन्नु (कुर्ले ढुकुरको उत्पत्ति, पृ.३२), 

* सैताल राक्षसले गाउँका सबैलाई पालैपालो खानु, बलरामले चलाखीका साथ उसलाई पराजित गर्नु (सैतालसँग जम्काभेट, पृ.६७–६९), 

* इन्द्राणीको आग्रहमा इन्द्रदेवले गरिब किसानको सहयोगका लागि हलाको सियोमा सुनका घैला राखिदिनु (दुई ठगको कथा, पृ.८६),

* बेलवन्ती रानी रुखमा बेलको गेडा भएर रहनु, परीहरूले उसको रखबारी गर्नु, बेल फोड्दा बेलवन्ती निस्कनु, राक्षसनीले बेलवन्तीलाई इनारमा खसालेर उसका लुगा आफूले लगाएर बस्नु, राक्षसनीलाई रानी ठानेर घर लैजाँदा भात–तरकारीबाट सचेतताको आवाज आउनु (बेलवन्ती रानी, पृ. १२२), 

* राजकुमारको परीसँग सङ्गत भएपछि उनी दुब्लाउँदै जानु र त्यो रहस्य खोलेपछि उनको मृत्यु हुनु, उनैले भनेअनुसार उनको मृत शरीर फूलबारीमा बनाएको कोठामा राखेर ढोका बन्द गरिनु र त्यसपछि चारजना परीहरू आएर सुनको लौरोले छोएर उनलाई ब्युँताउनु अनि उनीसँग जुवा खेल्नु, बालकका लागि भनेर परीसँग उसको नाकको फुली माग्नु, परीले त्यो दिएपछि राजकुमार सधैँका लागि जिवित हुनु (नाकको फुली, पृ.२३६–१४०), 

* कनिके टुहुरो र मसानहरू बीच संवाद हुनु, उनीहरू आपसमा बाजी राखेर जुवा खेल्नु, कनिके टुहुराले मसानलाई हराएर पाएको कालो र सेतो चमरद्वारा मरेको मान्छेलाई जीवित बनाएर उठाउनु (कनिके टुहुरो, पृ.२८०–२८१) 

* भूतेढुङ्गामुनि तीनओटा भूत बस्नु र वीरेले तिनीहरूसँग कुरा गर्नु (तीनओटा भूत पृ ३०३–३०४), 

* टुहुरीलाई बाख्रीले खिर खान दिनु, बाख्रीको हाड गाडेको ठाउँमा सुनको मौलो पलाउनु, त्यसलाई टुहुरीले मात्र उखेल्न सक्नु र राजासँग उसको बिहे हुनु, सौताने आमाले छल गरी मारेर इनारमा फालेकी टुहुरी रानीले कमलको फूल बनी छोरा र राजाको स्याहार गर्नु (टुहुरीको कथा, पृ.३१२–३१६), 

* कोढी राजा पोखरीमा डुबुल्की लगाएर निस्केपछि कोढ निको भई सुन्दर र जवान हुनु (नुनजस्तै मिठो, पृ.३४०), 

* अँध्यारो रातमा बिजुली काजीको भूतसँग जम्काभेट हुनु, दुवैको रातभरि कुस्ती चल्नु, हारेको भूतले काजीको मित्रताको प्रस्ताव स्वीकार गर्नु, भूतले काजीको धान रोपिदिने लगायत उनको घरमा परेको बेला सघाउनु र जे चाहिएको छ त्यो पुर्‍याइदिनु (भूतसँग मितेरी, पृ.४११–४१२) । 

Sunday, July 6, 2025

लेख (अङ्क २५ मा प्रकाशित)


 लेखसार

प्रस्तुत अनुसन्धानात्मक लेखमा ‘प्रज्ञा नेपाली लोककथा’ सङ्ग्रहमा रहेका लोककथाहरूलाई लोकविश्वाससम्बन्धी सैद्धान्तिक मान्यताका आधारमा अध्ययन गरिएको छ । ती लोककथाहरूमा प्रयुक्त लोकविश्वासको सङ्कलन, वर्गीकरण र विश्लेषण गरिएको यस लेखमा लोकसाहित्य अन्तर्गतको लोकविश्वासको सैद्धान्तिक मान्यता प्रस्तुत गर्दै अध्ययनका लागि निर्धारित कृतिका लोककथाहरूको विश्लेषण गरिएको छ । यसका लागि लोकविश्वासलाई अतिकल्पना/ स्वैरकल्पनाप्रतिको विश्वास, जादु, टुनामुना र योगसँग सम्बन्धित विश्वास, धर्म–अनुष्ठानप्रतिको विश्वास, आत्मशीलताप्रतिको विश्वास, अन्य विभिन्न लोकविश्वासहरू गरी वर्गीकरण गरिएको छ । यसरी गरिएको सङ्कलन, वर्गीकरण र विश्लेषणबाट नेपाली लोककथामा लोकविश्वासको प्रयोग भएको निष्कर्ष निकालिएको छ । नेपाली लोककथामा प्रयुक्त लोकविश्वास केवल लोकसाहित्यका दृष्टिले मात्र नभएर लोकजीवनसँग तिनको आबद्धताका आधारमा पनि महत्वपूर्ण भएको निष्कर्ष पनि यसमा निकालिएको छ ।्‌

शब्दकुञ्जी 

अतिकल्पना, जादु–टुना, धर्म–अनुष्ठान, लोकरीतिरिवाज, आत्मशीलता । विषयपरिचय लोककथा लोकसाहित्यको आख्यानयुक्त विधा हो । मानव सभ्यताको आरम्भसँगसँगै विकसित हुँदै आएको लोकसाहित्यको एउटा महत्वपूर्ण शाखा लोककथा हो । प्राचीन समयको ढुङ्गेयुगका मानिसहरूमा जब चेतनाको विकास हुन थाल्यो तब उनीहरूले सामूहिक जीवनयापनको आवश्यकताबोध गर्न थाले । त्यसपछि उनीहरू समाजमा बस्न थाले सामाजिक जीवनको आरम्भसँगसँगै मानिसहरूले आफ्ना अनुभव–अनुभूति साटासाट पनि गर्न थाले । यसरी समाजमा मानिसले आफ्ना अनुभव, भोगाइ, घटनाक्रम आदि एक अर्कालाई सुनाउने–सुन्ने क्रमबाट लोककथाको आरम्भ भएको मानिन्छ । नेपाली लोककथा भन्नाले नेपाली लोकजीवनमा प्रचलित दन्त्यकथा, आहान, कथाकुथुङ्ग्री, किस्सा आदिलाई बुझाउँछ । लोकमा परम्परादेखि चल्दै आएको आएको र मौखिक परम्पराबाट अगि बढिरहेको आख्यानात्मक साहित्यिक विधा लोककथा हो । मौखिक परम्पराबाट नै यो एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै जाने गर्दछ । 

लोकजीवनमा प्रचलित परम्परागत आस्था तथा विश्वासलाई लोकविश्वास भनिन्छ जसमा मानिसको सामूहिक अवचेतना पनि समेटिएको हुन्छ । लोकविश्वासअन्तर्गत पनि अतिकल्पना/स्वैरकल्पनाप्रतिको विश्वास, जादु, टुनामुना र योगसँग सम्बन्धित विश्वास, धर्म–अनुष्ठानप्रतिको विश्वास र आत्मशीलताप्रतिको विश्वास पर्दछन् । यिनलाई लोकतात्विक पद्धतिका आधारमा अध्ययन–विश्लेषण गर्न सकिन्छ । प्रज्ञा नेपाली लोककथा डा. देवी नेपालद्वारा सम्पादित नेपाली लोककथाहरूको सङ्ग्रह हो । नेपाल प्रज्ञा–प्रतिष्ठानबाट २०७७ सालमा प्रकाशित यस सङ्ग्रहमा देशका सातै प्रदेश लगायत सीमापारिका नेपाली लोककथाहरू पनि समाविष्ट छन् । 

यसमा विभिन्न शीर्षकका १८४ ओटा लोककथाहरू सङ्ग्रहित छन् । प्रस्तुत अनुसन्धानात्मक लेखमा यसै सङ्ग्रहका कथाहरूमा भएका केही लोकविश्वासको सङ्कलन, वर्गीकरण तथा विश्लेषण गरिएको छ । नेपाली लोककथाहरूमा प्रयुक्त लोकविश्वासहरूसँग सम्बन्धित जिज्ञासाका आधारमा तयार पारिएको यो अनुसन्धानात्मक लेख नेपाली लोककथाहरूमा केकस्ता लोकविश्वासहरूको प्रयोग गरिएको छ र लोकजीवनसँग तिनको कस्तो सम्बन्ध रहेको छ भन्ने समस्याको प्राज्ञिक समाधान खोज्ने उद्देश्यमा केन्द्रित रहेको छ ।